site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रानीपोखरीमा किन मनाउन दिइएन छठ ? 
फाइल तस्बिर ।

काठमाडौं । यो वर्ष पनि काठमाडौंको रानीपोखरीमा छठ पर्व मनाउन दिइएको छैन । लामो समयदेखि रानीपोखरीमा छठ मनाउँदै आएका व्रतालुले काठमाडौं महानगरपालिकाप्रति असन्तुष्टि जनाएका छन् ।

०७२ सालको विनाशकारी भूकम्पपछि क्षति पुगेको रानीपोखरी झन्डै पाँच वर्षपछि पुनर्निर्माण गरिएको थियो । पुनर्निर्माण सम्पन्न भई ०७६ कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी थिइन् ।

निर्माण सम्पन्न भएको दुई वर्षसम्म पनि रानीपोखरी नखुल्दा महानगरपालिकाप्रति स्थानीय असन्तुष्ट छन् । महानगरपालिकाले यो वर्ष पनि रानीपोखरीमा छठ मनाउन नदिएको स्थानीय सुशान वैद्यले बताए ।

‘‘महानगरपालिकाले जनताको भावना नबुझेको हो । जनताको सांस्कृतिक सम्बन्धलाई नबुझेर आज छठ मनाउन दिइएन । पूर्वाग्रही भएर छठ मनाउन नदिइएको अवस्था हो,” वैद्यले भने ।

उनका अनुसार अहिले रानीपोखरीमा छठ मनाउन नसकिने खालको कुनै पनि पुनर्निर्माणको काम भएको छैन । ‘‘रानीपोखरीमा सजिलैसँग छठ मनाउन सकिने अवस्था हुँदैहुँदै पनि छठ मनाउन दिइएन । महानगरवासीको सांस्कृतिक आस्था महानगरका नेतृत्व वर्गले बुझेनन्,” उनले भने ।

वैद्यका अनुसार स्थानीय जनप्रतिनिधि आउनुभन्दा करिब सात–आठ वर्षअघिदेखि रानीपोखरीमा छठ मनाइएको थियो । ‘‘रानीपोखरीमा छठ सुरु भएपछि मात्रै कमलपोखरीमा पनि छठ मनाउन सकिन्छ भनेर सुरु गरिएको हो । उक्त छठ मनाउन भूकम्पपछि बन्द रहेको थियो । अहिले पुनर्निर्माण भइसक्दा पनि रानीपोखरीको ढोका बन्द छ,” वैद्यले भने ।

काठमाडौं महानगरपालिकाले भूकम्पपछि रानीपोखरी पुनर्निर्माण गर्न लाग्दा रानीपोखरीको मौलिकता मास्न खोजेको भन्दै चौतर्फी विरोध भएको थियो । रानीपोखरीको ऐतिहासिकता झल्काउनुपर्ने भन्दै भएको विरोधपछि ०७४ पुस १३ गते काठमाडौं महानगरपालिका, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागको संयुक्त बैठकले अध्ययन समिति बनाएको थियो । सोही समितिको प्रतिवेदनका आधारमा पुनर्निर्माण प्राधिकरणले ०७५ फागुनदेखि रानीपोखरी पुनर्निर्माणको काम गरेको थियो ।

पुनर्निर्माण प्राधिकरणले झन्डै दुई वर्षको समयावधिमा रानीपोखरी पुनर्निर्माणको काम सकाएको थियो । पोखरी पुनर्निर्माणका लागि नौ करोड ५४ लाख र मन्दिर तथा वरिपरिको सौन्दर्यकरणका लागि करिब १५ करोड गरी झन्डै २५ करोड रुपैयाँ खर्च भएको छ ।

तत्कालीन राजा प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तिन्द्र मल्लका नाममा वि.सं. १७२५ सालमा रानीपोखरी बनाउन लगएका थिए ।

कमलपोखरीमा पनि महानगरको असहयोग
कमलपोखरी छठ पूजा समितिका अध्यक्ष राजेन्द्र सिंहका अनुसार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यो वर्ष कमलपोखरी र रानीपोखरीमा छठ मनाउन नदिने निर्णय गरेका हुन् । ‘‘समितिले कमलपोखरी सरसफाइ गरी दीपावली अगाडि छठको ब्यानर राखेर तयारी गरिरहेको थियो । तयारीपछि महानगरपालिकाका डीएसपी आएर यसपालिको छठ हुँदैन भनेर ब्यानर च्यातेर फाले । महानगरले समितिलाई असहयोग गर्‍यो,” उनले भने ।

त्यसपछि समितिले राष्ट्रपति कार्यालय गुहार्नुपरेको अध्यक्ष सिंहको भनाइ छ । ‘‘राष्ट्रपतिकहाँ गएर हामीले अनुरोध गर्‍यौँ । त्यसपछि राष्ट्रपति कार्यालयका उपसचिवद्वारा कमलपोखरी निरीक्षण भयो । कमलपोखरी निरीक्षणपछि छठ मनाउने राष्ट्रपति कार्यालयको निर्देशन आयो । आज कमपोखरीमा छठ मनाइरहेका छौँ,” सिंहले भने ।

समितिले जिल्ला प्रशासन कार्यालयबाट छठ मनाउने स्वीकृति ल्याउँदा पनि मेयर शाक्यले मानेका थिएनन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गरेपछि मात्रै मेयर शाक्यले कमलपोखरीमा छठ मनाउन दिने निर्णय गरेको उनले बताए ।

समितिले हरेक वर्ष छठमा राष्ट्रपतिलाई निम्तो दिँदै आएको छ । यसपालि पनि आज अपराह्न ४ बजे राष्ट्रपति भण्डारी कमलपोखरी जानेछिन् ।

महानगर के भन्छ ?
महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणकै चरणमा रहेकाले छठ मनाउन नदिएको दाबी गरेको छ । महानगरका प्रवक्ता ईश्वरमान डंगोलले महानगरलाई हस्तान्तरण नभएकाले रानीपोखरीमा छठ मनाउन नदिएको बताए ।

‘‘कमपोखरीमा मनाउन दिएका छौँ । रानीपोखरीमा छठ मनाउँदा त्यहाँ बनाइएका संरचना टुटफुट हुनसक्छन् । त्यसको जवाफदेही को हुने ? महानगरलाई हस्तान्तरण भइसकेपछि मात्रै त्यहाँ चाडपर्व मनाउने गरी खुला गर्न सकिनेछ,” प्रवक्ता डंगोलले भने ।

कमपोखरी पनि पुनर्निर्माणकै चरणमा छ ।  २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमलपोखरी पुनर्निर्माणका लागि महानगरपालिकाले ६ करोड ३६ लाख रुपैयाँ बजेट छुट्ट्याएको छ । महानगरले आउँदो चैतसम्म कमलपोखरी पुनर्निर्माण सम्पन्न गर्ने जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro