site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गत वर्षभन्दा यसकारण हुँदै छ बढी जाडो महसुस

काठमाडौं । नेपालमा केही दिनयता जाडो बढेको छ । यो वर्ष विगतका वर्षहरूभन्दा तापक्रम घट्ने अनुमान गरिएको छ ।

ऋतु परिवर्तनसँगै जाडोयाम सुरु भएको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । ऋतु परिवर्तनका कारणले जाडो बढेको उनले प्रस्ट पारिन् ।

गत वर्षभन्दा किन बढी चिसो महसुस ?
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार प्रशान्त महासागरमा हरेक वर्ष बन्ने एल्निङ्ग्या र लानिङ्ग्या गरी दुईवटा प्रणाली (चक्र) हुन्छ । ‘‘यो मौसम र तापक्रममा असर गर्ने प्रणाली हो । यसको अप्रत्यक्ष असर दक्षिण एसियाको मौसममा पर्छ । एल्निङ्ग्या र लानिङ्ग्या प्रणाली एकपछि अर्को हुँदै दोहोरिँदै जान्छ । हरेक वर्ष यो चक्र परिवर्तन हुँदै जान्छ । अहिले हामी लानिङ्ग्या चक्रमा छौँ । त्यसैले गत वर्षभन्दा यस वर्षको जाडोयाममा चिसो महसुस हुने सम्भावना रहेको छ । एल्निङ्ग्या चक्र आयो भने चिसो महसुस कम हुने हुन्छ,” पौडेलले भने ।

मौसमविद् मानन्धरका अनुसार यसबाहेक अहिलेसम्म आकस्मिक रूपमा चिसो बढाउने खालको अरू कुनै प्रणाली देखिएको छैन । विस्तारै जाडोयाममा प्रवेश गरिरहेकाले चिसो बढ्दै जानु स्वाभाविक मानिएको छ । हरेक वर्ष दसैँ, तिहारपछि क्रमिक रूपमा जाडो बढ्दै जान्छ ।

“नेपालको परिपेक्ष्यमा ऋतुलाई चार भागमा बाँडिएको छ । सोही ऋतुका अनुसार मानिसहरूले जाडो र गर्मी महसुस गर्ने हुन् । ऋतु परिवर्तनसँगै तापक्रम घट्ने/बढ्ने भइरहन्छ,” मौसमविद् मानन्धरले भनिन् ।

यही कात्तिक १ गतेदेखि लगातार चार दिनसम्म वर्षा भएको थियो । तर, जाडो बढ्नुमा त्यसले कुनै प्रभाव नपारेको विभागले जनाएको छ । ‘‘वसन्त ऋतु, ग्रीष्म ऋतु समाप्त भई अहिले हामी शरद ऋतुको अन्ततिर छौँ । यी चार ऋतुअनुसार फरक–फरक तापक्रम र फरक महसुस हुनु स्वाभाविक हो । मानिसहरूले ऋतु परिवर्तनसँगै जाडो महसुस गर्दै जाने हुन्,” उनले भनिन् ।

विभागका अनुसार ‘पोस्ट मनसुन’ सकिन अझै एक महिना बाँकी छ । पोस्ट मनसुन सकिएपछि ‘प्रि विन्टर’ सिजन सुरु हुन्छ । तापक्रम घट्ने क्रम बढ्दै जान्छ र मानिसले जाडो महसुस गर्दै जान्छन् ।

विभागले आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियस मापन गरिएको जनाएको छ । यस्तै, जुम्लामा माइनस १ डिग्री तापक्रम मापन गरिएको छ । पछिल्ला दिन क्रमिक रूपमा तापक्रम घट्दै आएको छ ।

विगतका वर्षहरूमा के हुन्थ्यो ? 
गत वर्ष विन्टर सिजनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीसम्म झरेको थियो । यस्तै, हुम्ला, जुल्लालगायत हिमाली जिल्लाहरूमा माइनस ९ डिग्रीसम्म झरेको थियो ।

गत वर्ष आजको दिन काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री थियो । यो वर्ष ९.६ डिग्री छ । गत वर्षसँग तुलना गर्दा आजको तापक्रम बढी भए पनि लानिङ्ग्या प्रणालीकै कारण गत वर्षभन्दा यो वर्ष छिट्टै जाडो महसुस गर्न थालिएको विभागले जनाएको छ ।

उपत्यकाको तापक्रम माइनस १ डिग्रीसम्म पुग्ने अनुमान 
विभागले यो वर्ष काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम माइनस १ डिग्रीसम्म झर्ने अनुमान गरेको छ । ‘‘गत वर्ष उपत्यकाको तापक्रम १ डिग्रीसम्म झरेको थियो । मानिसहरूले त्यहीअनुसारको जाडो महसुस गरेका थिए । यस वर्ष माइनस १ डिग्रीसम्म झर्न सक्छ,” मानन्धरले भनिन् ।

विभागले मंगलबार जारी गरेको तीनदिने मौसम पूर्वानुमान बुलेटिनमा वर्षा हुने सम्भावना न्यून रहेको उल्लेख छ । पूर्ण बदलीको सम्भावना पनि एकदमै कम छ । तत्काल जाडो बढ्ने खालको कुनै प्रणाली नदेखिएको जनाइएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro