काठमाडौं । गोठाटार चौरको एक छेउमा जस्तापाताले छाएको गोठ छ । गोठभरि गाईबाच्छा छन् । झट्ट हेर्दा जो कोहीलाई लाग्छ, यो कसैको गाई फार्म हो ।
तर, यर्थाथमा यो नाफा कमाउन खोलिएको गाई फार्म होइन । यो त गाई फार्मवालाहरूले छाडा छोडेका बाच्छाबाच्छीहरूको आश्रयस्थल हो । जसलाई बौद्ध नयाँबस्तीका उत्तम पुडासैनी लगायतको टोलीले बनाएको हो ।
कृषकले सडकमा छोडेको दुई महिनाको बाच्छी उद्धार गरेर ल्याए । उपचार गरे । पालनपोषण गरे । अहिले बाच्छी गाई बनेर ब्याउने भएको छ ।
पुडासैनी बिहानै उठेर गाईबाच्छालाई घाँसपात हाल्छन् । जब गाईबाच्छाहरू चौरतिर लाग्छन् अनि उनी गोठमा भकारो सोर्न थाल्छन् । उनको हरबिहान यसरी नै बित्छ ।
उनीहरूले सबै गाईबाच्छाहरू काठमाडौंका खोला किनारा, सडकबाट बेवारिसे अवस्थामा भेटाएर ल्याएका हुन् । यिनीहरूमध्ये अधिकांश घाइते थिए । कोही सडक दुर्घटनाबाट त कोही कुकुरको टोकाइबाट घाइते भएका । “अहिले उपचार पाएपछि गाईबाच्छाहरू बल्लबल्ल सप्रिँदैछन् । यिनीहरूको जीवन दिइरहेका छौँ । बाच्छी ठूलो भएर दुध दिन्छ । बाच्छाले मल,” पुडासैनीले सुनाए ।
अहिले कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषको जग्गामा बनाइएको गोठमा २५० भन्दा बढी गाईबाच्छाहरूले नयाँ जीवन पाइरहेका छन् । केही घाइते गाईबाच्छाहरूको उपचार भइरहेको छ । गोठमा प्रायः प्रत्येक दिनजसो नयाँ सदस्यको आगमन भइरहेको हुन्छ । बुधबारमात्रै उपत्यकाका विभिन्न ठाउँबाट २५ गाईबाच्छाहरूको उद्धार गरिएको पुडासैनी बताउँछन् ।
कसरी सुरु भयो गाईबाच्छा संरक्षण अभियान ?
पुडासैनीका अनुसार असहाय गाईबाच्छा संरक्षण अभियान वाग्मती सफाइ अभियानको ‘बाईप्रोडक्ट’ हो । ‘‘वाग्मती सफाइअभियानको क्रममा खोला नदी किनारा क्षेत्रमा अत्याधिक गाईबाच्छाहरू मरेका भेटिए । वाग्मती सफाइ अभियानको छैटौँ वर्षमा आइपुग्दा यो क्रम झनै बढ्दै गयो । वाग्मती सफाइसँगै ६ वर्षको समयावधिमा १४ सयभन्दा बढी गाईबाच्छाहरू वाग्मती किनारामा पुर्यौं,” पुडासैनीले भने ।
ठूलो संख्यामा गाईबाच्छा मरेको भेटिएपछि छाडा छोडिएका गाईबाच्छालाई नयाँ जीवन दिने उद्धेश्यले वाग्मती सफाइ अभियानसँगै गाईबाच्छा संरक्षण अभियान जन्मिएको हो । यो अभियान दुई वर्ष पहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछाडि गोठाटारस्थित धावनमार्गको खाली जग्गाबाट सुरु भएको थियो ।
दैनिक वाग्मती सफाइका क्रममा मरेको अवस्थामा भेटिएका १८ ओटासम्म गाईबाच्छा पुरेको वाग्मती सफाइ तथा गाईबाच्छा संरक्षण अभियन्ता भगवान पुडासैनी बताउँछन् । कृषकले आफ्नो जिम्मेवारी बिर्सेर गैरजिम्मेवार तरिकाले आफूले पालेको गाईबाच्छा सडकमा छोड्ने प्रवृत्तिले गर्दा यस्तो अवस्था आएको उनले बताए ।
‘‘सडक दुर्घटनामा परेका, जिउँदै कुकुरले लुछेकालाई उद्धार गरेर गोठमा पालिरहेका छौँ । सडकका गाईबाच्छा उद्धार गर्दै ल्याउने गर्दागर्दै गाईबाच्छाको संख्या बढ्दै गयो,” भगवानले भने, ‘‘व्यवस्थापनमा चुनौती थपिँदै गयो । त्यसपछि वाग्मती सफाइ अभियन्ता, गाईबाच्छा संरक्षण अभियन्तालगायत विभिन्न क्षेत्रमा काम गर्ने सामाजिक दाताहरू मिलेर गोठ बनायौँ र गाईबाच्छा संरक्षण गर्दै आयौँ । एक महिनाअघिदेखि मल उत्पादन गरेर कृषकलाई बेच्न थालेका छौँ ।” सडकमा छाडा छोड्ने गरिएका गाईबाच्छाहरूमध्ये अधिकांश स–साना बाच्छाहरू हुने गरेको उनीहरूको भनाइ छ ।
गाई नेपालको राष्ट्रिय जनावर हो । नेपालको धर्म, संस्कृतिले पनि गौपूजालाई उच्चस्थानमा राखेको पाइन्छ । तर, किसानहरूले आफैँले पालेका गाईबाच्छा पाल्न झन्झट मान्दा र सरकार गाईबाच्छा व्यवस्थापनमा उदासिन देखिँदा यस्तो समस्या बढ्दै गएको अभियानको निष्कर्ष छ ।
अभियन्ता भगवानका अनुसार औपचारिक रूपमा गाईबाच्छा संरक्षण अभियान नामको संस्था नै दर्ता गरिएको छ । संरक्षणसँग जोडिएका अधिकांश दाताहरूले गोठमै आएर आफ्नो जन्मदिन मनाउने गरेका छन् । उनीहरूले आफूले चाहेजति आर्थिक सहयोग, घाँसपराल तथा दानपानी सहयोग गर्छन् । अहिले यो अभियानसँग जोडिने दाताहरूको संख्या ठूलो छ ।
मल उत्पादनबाट गाईबाच्छाको आहारा आपूर्ति गर्ने योजना
गाईबाच्छाको आहारामा कमी आउन नदिन एक महिनादेखि मल उत्पादन गर्न थालिएको छ । छाडा चौपाया गाईबाच्छा अभियानसँगै ‘गाईबाच्छा स्वावलम्बी अभियान’ सञ्चालन गरिएको छ । ‘‘हामीले मल उत्पादन गर्छौँ । बिक्री गर्छौँ । छाडा छोडेका गाईबाच्छाहरूलाई उद्धार गरेर ल्याइन्छ । घाइतेलाई उपचार गरिन्छ । पालिन्छ । आफैँ मल उत्पादन हुन्छ,” भगवानले भने ।
अभियानका अनुसार बजारकोभन्दा आधा मूल्यमा कम्पोस्ट मल उपलब्ध गराइन्छ । मलको माग बढी भएकाले धेरै मल उत्पादन गरेर सेल्फ सस्टेन गर्ने योजना अभियानको छ । मल बनाउँन सुरु गरेदेखि अत्याधिक मात्रामा माग आइरहेको छ । तर, अनुभव नभएकाले अभियानले भनेजति मल आपूर्ति गर्न सकिरहेको छैन ।
पुडासैनीका अनुसार दैनिक ५०० केजी बराबरको मलको माग भइरहेको छ । अभियानले २–३ सयको हाराहारीमा मात्रै आपूर्ति गर्न सकिरहेको छ । मल ‘होमडेलिभरी’ गर्दा प्रतिकेजी १७ रुपैयाँ र गोठमै मल लिन आउँनेलाई प्रतिकेजी १२ रुपैयाँमा बिक्री भइरहेको छ ।
‘‘कृषकहरूसम्म राम्रो किसिमको मल पुगोस् भनेर परिश्रम गरिरहेका छौँ,” पुडासैनीले भने ।
पहिले कृषकहरूमा गाईबाच्छा छाडा छोड्ने चलन थिएन । कृषकले घरमै गाईबाच्छा पालेर मल उत्पादन गर्थे । आफैँ आयआर्जन गर्थे । अहिले सरकारले यस्तो खालको ‘स्कुलिङ’ दिन नसकेको उनीहरूको भनाइ छ । कृषि क्षेत्रलाई प्रमोट गर्ने तर कृषि क्षेत्र भित्रका विकृति विसंगतिहरूलाई नहाटाउँदा यस्तो प्रवृति बढ्दै आएको अभियन्ताहरू बताउँछन् ।
सबैभन्दा धेरै कागेश्वरी मनोहरामा छाडा गाईबाच्छा
अभियानले दैनिक करिब २५ गाईबाच्छाको उद्धार गर्दै आएको छ । अभियानको तथ्यांकअनुसार सबैभन्दा धेरै कागेश्वरी नगरपालिकामा छाडा गाईबाच्छा भेटिने गरेका छन् । अधिकांश गाईबाच्छाहरू उपत्यका छेउछाउका गाउँहरूबाट आउने गरेको उनीहरूको अनुभव छ ।
गाईबाच्छा संरक्षण अभियन्ता विकास थापा भन्छन, ‘‘एक दुई वटा गाई पाल्ने कृषकले गाईबाच्छा छाडा छोड्दैनन् । ठूला–ठूला फाम खोलेका कृषकहरूले पाल्न नसकेर छाडा छोड्ने गरेका छन् । दैनिक करिब २५ गाईबाच्छाको उद्धार गर्दै आएका छौँ । ठूला कृषकलाई सरकारले सचेत गराउने हो भने यो क्रम घट्दै जान्छ ।”
कृषकले आफ्नो जिम्मेवारी बिर्सेर गाईबाच्छा छाडा छोडिरहँदा सरकार भने मौन देखिएको उनीहरूको गुनासो छ । ‘‘यो समस्या हाम्रो होइन सरकारको हो । हामीले गाईबाच्छा संरक्षणको आधार तयार पारिदिएका छौँ । अब सरकारले चासो देखाएर जिम्मा लिनुपर्ने हो । दिगो समाधान खोजिनुपर्ने हो,” उनले भने ।
अभियानले कागेश्वरी नगरपालिकास्थित पशुपति क्षेत्र विकास कोषको जग्गामा गोठ बनाएर गाईबाच्छा संरक्षण गर्दै आएको छ । उक्त जग्गाबारे अभियानले कोषसँग मौखिक सम्झौता गरेको छ । अभियानले पटक–पटक स्थानीय सरकारसँग छाडा गाईबाच्छा संरक्षण र व्यवस्थापन गर्न माग गर्दै आएको छ । तर, उनीहरू अभियानसँग सहकार्य गर्न तयार हुँदैनन् ।
सबैभन्दा बढी छाडा गाईबाच्छा भेटिने क्षेत्र कागेश्वरी मनोहरा नगरपालिका भए पनि उसले व्यवस्थापनबारे कुनै योजना बनाएको छैन । काठमाडौं महानगरपालिकाले पनि गाईबाच्छा संरक्षणबारे कुनै योजना बनाएको छैन ।
कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा आफूहरूलेमात्र छाडा गाईबाच्छाको व्यवस्थापन गर्न नसक्ने बताउँछन् । ‘‘प्रदेश सरकारबाट गाईबाच्छा संरक्षणका लागि २५ लाख रुपैयाँ परेको छ । यो रुपैयाँ नगरपालिकाले चलाएर संरक्षणको काममा लगाउनेछ । सामुदायिक रूपमा फार्म सञ्चालन गरिरहेका फार्महरू नगरपालिकाकै नियन्त्रणमा छन् । बाच्छाहरू छोड्ने प्रवृत्ति बढेको छ । कृषकहरूलाई सचेत गराउन सबै ठाउँका स्थानीय निकायले योजना बनाएमात्रै सम्भव छ,” उनले भने ।
नगरपालिकाले संघसंस्थाहरूलाई सकेजति सहकार्य र सहयोग गरेको दाबी गरेको छ ।
यस्तै, गोकर्णेश्वर नगरपालिकाले पछिल्लो समय गाईबाच्छा संरक्षण गर्न वार्षिक १० लाख रुपैयाँ छुट्याएको छ । यो रकम अभियानले गाईबाच्छाको संरक्षणमा खर्च गर्ने प्रक्रियामा रहेको नगरपालिकाले जनाएको छ ।
काठमाडौं महानगरपालिका भन्छ– खाली जग्गा खोजिरहेका छौँ
महानगरले छाडा गाईबाच्छा व्यवस्थापनका लागि खाली जग्गा खोजिरहेको जनाएको छ । महानगरका प्रवक्ता ईश्वरमान डंगोल महानगर क्षेत्रभित्रका सबै चौपाया अट्ने खाली जग्गा खोजिरहेको बताउँछन् ।
‘‘महानगर नजिकको नगरपालिका, चितवनलगायत जिल्लामा जग्गा खोजिरहेका छौँ । गाईबाच्छा पालन गर्ने कृषकहरूलाई दर्ता गराएर मात्रै पालन गर्ने सिस्टम लागु गर्ने योजना छ । त्यसो गर्दा सडकमा भेटिएका गाईबाच्छा कसका हुन भनेर पत्ता लगाउन सकिन्छ,” प्रवक्ता डंगोलले भने ।