site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
दुई शंकास्पद मृत्युमा न्यायको खोजी : नेपालगन्जदेखि काठमाडौंसम्म २० दिन पैदलयात्रा
SkywellSkywell

काठमाडौं । दुई महिलाको शंकास्पद मृत्युको अनुसन्धान नगरेको भन्दै पीडित र १४ अधिकारकर्मी काठमाडौं आइपुगेका छन् ।

न्यायका लागि नेपालगन्जदेखि काठमाडौंसम्म २० दिनको पैदल मार्च गरेर उनीहरू गएको बुधबार बिहान कलंकी आइपुगेका हुन् । ज्ञापनपत्र बुझाउन बुधबार साँझ सिंहदरबार गए पनि उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पाएनन् ।

यही असोज १ गते पैदल मार्च सुरु गर्नुअघि जिल्ला प्रशासन कार्यालय बाँकेको गेटमा १९ दिन (भदौ १३ देखि ३१) सम्म धर्ना दिँदा सुनुवाइ नभएपछि उनीहरू पैदलै काठमाडौं आएका हुन् । आजदेखि उनीहरू माइतीघरमा रिले अनशनमा बसेका छन् । पीडितले न्याय पाउने सुनिश्चितता नभएसम्म बाँके नफर्कने अडानमा छन् । प्रधानमन्त्री, गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने उनीहरूको तयारी छ ।

Dabur Nepal
NIC Asia

दुई शंकास्पद हत्याका बारेमा प्रशासन मौन रहेपछि बाध्य भएर पैदल मार्च गर्नुपरेको महिला अधिकार मञ्चकी सदस्य रुबी खानले बताइन् ।

बाँके, नेवाजी गाउँकी नन्कुनीदेवी धोबीले श्रीमान् रामकुमार र जेठाजुसहित घरका पाँचजनाले दुःख दिइरहेको भन्दै गएको असार ७ गते महिला अधिकार मञ्चमा निवेदन दिइन् । श्रीमान्ले यातना दिन थालेपछि उनले बाँकेमा रहेको मञ्चमा निवेदन दिएकी थिइन् । मञ्चका पदाधिकारीले प्रहरीलाई खबर गरे । सोही दिन नन्कुनीदेवी र उनका श्रीमान् राखेर छलफल गरियो । प्रहरीले घरमै गएर मिलापत्र गरायो ।

त्यसको करिब २५ दिनपछि उनी पुनः मञ्चमा आइन् । श्रीमान्ले फेरि मार्ने धम्की दिएको उनले बताइन् । खान सम्झिछिन्, “त्यस दिन साँझ परिसकेको थियो, हामीले अहिले जानुस् दिदी भोलि आउनुस्, जिल्ला प्रहरी कार्यालय जाउँला, के–के गर्न सकिन्छ गरौँला भनेर पठायौँ । उहाँ हुन्छ भोलि आउँछु भनेर जानुभयो ।”

सोही राति कुटपिटपछि नन्कुनीदेवीलाई घरबाट निकालिएको र उनी भागेर बहिनीको घरमा पुगेको अधिकारकर्मी खानको भनाइ छ । त्यसको करिब ६ दिनपछि उनले मञ्चमा फोन गरेर आफू बहिनीको घरमा भएको र श्रीमान्ले कुटपिट गरेको बताइन् । खानले नन्कुनीदेवीलाई मञ्चमा आई जिल्ला प्रशासन कार्यालय जान आग्रह गरिन् । नन्कुनीदेवीले चार–पाँच दिनमा आउने बताइन् ।

त्यहीबीच उनले फेरि खानलाई फोन गरिन् । खानका अनुसार श्रीमान्ले फोन गरेर घर बोलाएको खुसी हुँदै जानकारी गराइन् । ‘सुध्रिएजस्तो छ म घर फर्किन्छु,’ भनिन् । खान अझै सम्झिछिन्, “त्यो तपाईंको इच्छा दिदी, तर केही पर्‍यो भने मलाई खबर गर्नुस् है, नआत्तिनुहोला भनेँ ।” घर फर्किंदा नक्कुनीदेवी मञ्चको कार्यालय पसेर खानलगायत सबै कर्मचारीलाई भेटेर गइन् ।

साउन ५ गते नन्कुनीदेवी पुनः मञ्च आइन् । खानका अनुसार उनले भनेकी थिइन्, ‘मेरो श्रीमान्ले माया गरेर बोलाएको भनेको रोपाइँको लागि रहेछ । अहिले रोपाइँ सकेपछि कुटपिट गर्‍यो । डोरी दिँदै फाँसी लगाएर मरिहाल या विष खाएर मरिहाल, नत्र मारिदिन्छु भन्छ । यो सबै जेठाजुको कारण भइरहेको छ ।’

नन्कुनीदेवीको आफ्नै सन्तान छैन । उनी रामकुमारकी तेस्रो पत्नीका रूपमा भित्रिएकी थिइन् । पहिलो श्रीमतीको मृत्यु भइसकेको र दोस्रोले यातना सहन नसकेर भागेको खान बताउँछिन् । पहिलो पत्नीबाट छोरी छ ।

खानका अनुसार जेठाजुले आफ्नो छोरालाई धर्मपुत्र बनाएर सम्पत्ति दिन दबाब दिएको नन्कुनीदेवीले बताएकी थिइन् । उसैले रेखदेख गर्छ भन्दै अनेक आश्वासन दिइएको थियो । श्रीमान् र उनीबीच यही कुरालाई लिएर ठाकठुक परिरहन्थ्यो । प्रतिवादमा उत्रिएपछि यातना दिन थालियो ।

साउन ६ गते बिहान नन्कुनीदेवी घरमै झुन्डिएको अवस्थामा मृत फेला परिन् । ससुरालीले माइती पक्षलाई खबर गरेन । प्रहरीले खोजेपछि माइतीपट्टिका आफन्तले जानकारी पाए । साउन ५ गते राति उनको हत्या गरिएको आफन्तको आरोप छ ।

“उनको शव भेटिएको कोठामा न त कुुनै खाट छ न उनी त्यति माथि चढ्न सक्छिन् । पति बरन्डामा सुतेको प्रहरी रिपोर्टमा उल्लेख छ,” खानले भनिन्, “प्रहरीले ढोका नतोडी ढोका खोलेको देखिन्छ । घाटीमा घाउ छ । नाक र मुखबाट रगत निस्केको छ । पिठ्युँमा नीलडाम । यो हत्या होइन भनेर कसरी नपत्याउने ?”

नन्कुनीदेवीको माइती पक्षले मुचुल्का उठाउन नमानेपछि प्रहरीले उनका बाबुको जबर्जस्ती औँठाको छाप लिएको खानको दाबी छ । अनुसन्धान नै नगरी घटनालाई आत्महत्या भनेको प्रहरीले परिवार र अधिकारकर्मीले पैदलयात्रा थालेपछि नन्कुनीदेवीका श्रीमान् र जेठाजुलाई गिरफ्तार गरेको छ ।
०००
एकल महिला निर्मला कुर्मी गत वर्ष मंसिरमा बेपत्ता भइन् । मंसिर १६ गते स्थानीयले प्रहरीमा किटानी जाहेरी दिए । तर, प्रहरीले अनुसन्धान गरेन । उनको मृत्यु भइसकेको बताइएको छ ।

बाँकेको परस्पुर गाउँकी एकल महिला निर्मला एक वर्षदेखि बेपत्ता छिन् । सम्पत्ति हडप्न खोज्नेहरूबाट लामो समयदेखि प्रताडित कुर्मीको अपहरणपछि हत्या गरिएको अधिकारकर्मी खानको आरोप छ । सो सम्बन्धमा गत वर्ष मंसिर १६ गते नै जिल्ला प्रहरीमा अपहरण तथा शरीर बन्धकसम्बन्धी जाहेरी दर्ता गरिएको थियो । तर, डेढ महिनापछि प्रहरीले निर्मलाको मृत्यु भइसकेको जानकारी दियो । उनको मृत्यु भएको भनिए पनि शव देखाइएन ।

निर्मलाको अपहरणमा संलग्न रहेको भन्दै आफन्तले बादशाह कुर्मीविरुद्ध किटानी जाहेरी दिएका छन् । बादशाह पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता हुन् । आरोपितलाई पक्राउ नगरी प्रहरीले संरक्षण गरेको आफन्तको आरोप छ । आरोपितलाई समात्न नपरोस् भनी समातेर १२ घण्टा थुनामा राखेको झुटो रिपोर्ट बनाएको उनीहरूको आरोप छ । झुटो रिपोर्ट सरकारी वकिलको कार्यालयमा बुझाएर त्यसको आधारमा बयान भएर हाजिरी जवानीमा उनलाई छोडिएको आफन्तको दाबी छ । मुद्दा नै मुल्तबीमा राखिएकोले दबाब दिन जरुरी भएको अधिकारकर्मी बताउँछन् ।

आन्दोलनकारीका माग सम्बोधन भइसक्यो : सीडीओ
घटनाबारे बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालसँग बुझ्दा उनले आन्दोलनकारीका माग सम्बोधन भइसकेको बताए । नन्कुन्नीदेवीको शंकास्पद मृत्यु प्रकरणमा अनुसन्धान गरी मुद्दा अदालतमा पेस भइसकेको उनले जानकारी दिए । आन्दोलनकारीको मागानुसार त्यस प्रकरणमा मुछिएका प्रहरी अधिकारीलाई विभागीय कारबाहीका लागि पनि प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।

यस्तै, निर्मला कुर्मीको अपहरणसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालय पेस गरेको र सरकारी वकिलले नै मुल्तबीमा राखेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu