काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले मुलुकका विभिन्न राजमार्गहरूमा सहज रूपमा सवारीसाधन सञ्चालनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
आइतबार सिंहदरबारमा बसेको समिति बैठकले दसैँ, तिहारलगायत चाडपर्व नजिकिँदै गएको अवस्थामा बाढी र पहिरोबाट क्षतिग्रस्त भएका राजमार्गहरूको आवश्यक मर्मत र निर्माण गरी सहज रूपमा सवारीसाधन सञ्चालनको व्यवस्था मिलाउन गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।
त्यस्तै, बैठकले कोरोना संक्रमणलाई मध्यनजर गर्दै अनलाइन प्रणालीबाट टिकट खरिद गर्ने व्यवस्थालाई प्रोत्साहनसहित लागु गर्न निर्देशन दिएको छ ।
दसैँअघि र पछि गरी कम्तीमा सात दिन रुट परमिट लागु नगर्न र क्षमताभन्दा बढी यात्रु राखे÷नराखेको प्रभावकारी अनुगमन गर्न पनि निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।
बैठकले ५० करोड रुपैयाँभन्दा बढी लागत पर्ने आयोजनाहरूलाई मात्र बहुवर्षीय आयोजना मान्ने गरी बनाइएको मापदण्ड समयानुकूल नभएको भन्दै आवश्यक पुनरवलोकन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको सभापति खड्काले बताइन् ।
बैठकमा सांसदहरूले दसैँ, तिहारलगायत चाडपर्वमा यात्रुहरूले बेहोर्नुपरेको सास्तीलाई हटाउन सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद गणेशकुमार पहाडीले यात्रुले सहज ढंगले टिकट खरिद र आवश्यक परे अनलाइनमार्फत नै टिकटको व्यवस्था गर्नुपर्ने बताए । सडकहरूको निर्माण समयमा नै नभएको भन्दै उनले यसले पार्ने असरमा सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे ।
सांसद यज्ञराज सुनुवारले लामो समय नचलेका सवारीसाधनहरू चाडबाडमा चल्ने भएकाले सवारीसाधनको अवस्थाका बारेमा पनि अध्ययन गर्नुपर्ने बताए ।
सांसदहरूले छोटो दूरीमा पनि सवारीसाधनको चेकजाँचको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।