काठमाडौं । मानुषी लघुवित्तको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । आइतबार नेप्सेमा कम्पनीको १० लाख ९३ हजार ७५० कित्ता सेयर सूचीकृत भएको हो ।
कम्पनीले गएको साउन २७ गतेदेखि तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको थियो । कुल निष्कासनमध्ये पाँच हजार ४६९ कित्ता कर्मचारीलाई र १९ हजार ६८८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्ट्याएर बाँकी रहेको तीन लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खुलाएको हो ।
कम्पनीले तीन लाख ९३ हजार ७५० कित्ता साधारण सेयर र सात लाख कित्ता संस्थापक सेयरसहित कुल १० लाख ९३ हजार ७५० कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो ।
कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै सोमबार (भोलि)देखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १३२.६९ रुपैयाँदेखि ३९८.०७ रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको छ । यस रेन्जको जुनसुकै मूल्यबाट पहिलो कारोबार सुरु हुन सक्नेछ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको तीन गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ ।