site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कहिले स्तरोन्नती, कहिले बन्द

दाङ । दैनिक सयौंको संख्यामा सवारी साधन आवागमन गर्ने दाङको फराकिलो सडक साँघुरिदै गएको छ । सडक स्तरोन्नतीका लागि सडक ठाउँ–ठाउँमा चिरा पारिएको छ । सडक निर्माणका लागि अस्तव्यस्त हुँदा २४ किलोमिटर दूरीको यात्रा गर्न घण्टौं लाग्ने गरेको छ । सडक निर्माणमा ढिलासुस्ती हुँदा सडकको खाल्डोमा परेर तुलसीपुर–१० राइखलियानका चुडामणि भण्डारीको मृत्यु भइसकेको छ । साँघुरो सडक, सवारीको चाप बढ्दै जाँदा सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ । घोराही–तुलसीपुर दुई उपमहानगरपालिका जोड्ने सडकको अवस्था हो यो ।

घोराही–तुलसीपुर सडक चारलेन स्तरोन्नतीको काम शुरू भएको करिब तीन वर्ष पुग्नै लागेको छ । तर, यस अवधिमा प्रगति भने करिब ७ प्रतिशतमात्रै छ । कोरोना महामारीलगायत कारण देखाउँदै सडक निर्माण शुरू गरिएको वषौँ बितिसक्दा पनि सडक अवस्था दिनप्रतिदिन बिग्रन थालेको छ । सडकलाई फराकिलो बनाउने काम सुस्त गतिमा हुँदा घोराही–तुलसीपुरको यात्रामा सधैँ सास्ती हुने गरेको छ । “चार लेन सडक निर्माणको काम अलपत्र बन्दा हामीले सास्ती पाएका छौँ,” तुलसीपुर–५ का गणेश विकले भने, “अलपत्र सडक निर्माण हुन लागेको खबर सुनेका छौँ, तर कतै देखिएन ।” 

सडक निर्माणको काम अलपत्र हुँदा हिउँदमा धुलो र वर्षामा हिलोले घोराही र तुलसीपुरको यात्रा कष्टकर हुने गरेको छ । सडक निर्माणको जिम्मा पाएको कम्पनी भारतको मुम्बईस्थित तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर प्रालिलाई भने ‘हाइसञ्चो’ छ । कम्पनीले नेपालका आधिकारिक प्रतिनिधि अनुप पाण्डे तोकेको छ । तर, पाण्डे पनि बेपत्ताजस्तै छन् । निर्माण थालेको लामो समयसम्म पनि कामको प्रगति नहुँदा पनि ठेकेदारलाई कारवाही हुन सकेको छैन । सडक निर्माण समयमै नहुँदा नागरिकले सास्ती पाएका छन् भने ठेकेदारलाई ‘मस्ती’ भएको छ ।

अनुपले अरूलाई जिम्मेवारी दिने र ती व्यक्तिले भनेअनुसारको काम नगर्दा सडकको अवस्था नाजुक बन्दै गएको छ । अनुपले शुरूमा जनक डाँगीलाई जिम्मेवारी दिए । तर, डाँगीले कुरा नमिलेपछि यसअघि नै काम छोडिसकेका छन् । सडक निर्माणको जिम्मा अहिले फेरि सुनिल खत्रीलाई दिइएको छ । चार लेन सडक स्तरोन्नती परियोजना प्रमुख इञ्जिनियर पारस हमालले अहिलेसम्म आधिकारिक अनुप पाण्डे नै भएको बताए । “नयाँ व्यक्तिले निर्माणको जिम्मा अहिले अरूले लगिसेकेका छन्”, उनले भने, “हामीकहाँ भने अनुपलाई नै आधिकारिक मानेका छौँ । सायद केही काम गरेपछि निर्माण कम्पनीले नयाँलाई जिम्मेवारी दिन्छ होला ।” 

सडकको ठाउँ–ठाउँमा ह्युमपाइप राख्नका लागि खनिएका खाडलहरू पुर्नसमेत नभ्याएको उनको भनाइ छ । “हामीले कति ठाउँमा त ह्युमपाइप पनि झारिसकेका छौं । अब पुरौंला भन्ने थियो, तर झरी सुरू भयो र काम गर्न पाइएन,” उनले भने । सन् २०१९ जनवरी अन्तिममा भएको सम्झौतामा ३० महिनाभित्रै विस्तारको काम सक्ने उल्लेख थियो ।

कोरोना महामारीको कारण देखाउँदै सरकारले ६ महिना म्याद थप्दै गएर अहिले २२ मे २०२२ सम्म सक्नुपर्ने भनेको छ । उनका अनुसार अबको करिब ९ महिनाभित्र काम सम्पन्न गर्नुपर्छ । “यदि कोरोनाको दोस्रो लहरका कारण फेरि सरकारले म्याद थप गरेपछि १५ महिनाभित्र काम सक्नुपर्छ”, उनले भने, “यदि तोकिएको अवधिमा पनि काम भएन भने त जरिबाना लगाउँछौँ ।” 

तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराहीको डिके पेट्रोल पम्पसम्मको २३ किलोमिटर र घोराहीको कटुवा खोलादेखि बबई खोलासम्मको ४ दशमलव ७ किलोमिटर गरी कुल २८ किलोमिटर सडकलाई स्तरोन्नती गर्न थालिएको छ । सडक विस्तारको काम भारतको मुम्बईस्थित तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर प्रालिले पाएको छ । परियोजनाका इन्जिनियर हमालले यसअघि कोरोना महामारीका कारण पेटी ठेकेदारलाई कामका लागि ताकेता गर्न नसकिएको बताए ।

निर्माण व्यवसायी सुनिल खत्रीले अवरोध नभएमा तोकिएकै अवधिमा काम सम्पन्न गर्ने बताए । “करिब १५ महिनामा सक्नुपर्ने सम्झौता छ,” उनले भने, “कोरोना महामारी भएन भने हामीले तोकिएकै अवधिमा काम सक्छौँ, यसमा द्विविधा मान्नुपर्दैन् ।”

उनका अनुसार अहिले थोरै जनशक्तिले ठाउँ–ठाउँमा भएका खाडल पुर्ने काम भइरहेको छ । वाल निर्माणको पनि काम भइरहेको उनले बताए । “दशैँ नजिकिदैँ गरेका कारण श्रमिकहरू पाउन सकिएको छैन”, उनले भने, “श्रमिक पाउने बित्तिकै काम धमाधम शुरू हुन्छ ।” 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  ०६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro