
काठमाडौं । “दुई वर्षअघि हामीले पृथ्वीलाई सम्भावित खतरा हुन सक्ने छुद्र ग्रह पत्ता लगायौँ । घरमै बसेर ल्यापटप र इन्टरनेटको प्रयोगगरी पृथ्वी बचाउने अभियानमा हामी छौँ, के यो सानो प्राप्ति हो ?,” सुरेश भट्टराई प्रश्न गर्छन् । विज्ञानमा विशेषत खगोल विज्ञान र अन्तरीक्षमा के हुँदैछ भन्ने प्रश्न गरेपछिको यो उनको जवाफी प्रश्न थियो ।
छुद्र ग्रह भनेको हाम्रो सौर्यमण्डल बन्ने बेलाको अवशेष हो । त्यसको अध्ययन गरेर हाम्रो सौर्यमण्डल कसरी बन्यो, के कस्तो भएको रहेछ बुझ्न सजिलो हुन्छ । तर, व्यावहारिक पक्षमा हेर्दा छुद्र ग्रहले हानेर पृथ्वीमा विनाश निम्त्याउँछ । उनी थप्छन्, “तपाईं हामी कुरा गरिरहँदा छुद्र ग्रह आएर हान्न सक्छ । यद्यपि अहिले विश्वमा छुद्र ग्रहका लागि ट्रयाकिङ सिस्टम बनेको छ ।” अमेरिकाको इन्टरनेसनल एष्ट्रोनोमिकल सर्च कोल्याब्रेसनसँगको सहकार्यमा उनी नागरिक विज्ञान प्रोजेक्ट गरिरहेका छन् । करिब २९ देश यसमा सहभागी छन् । उनी अध्यक्षसमेत रहेको संस्था नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)ले ११ सय भन्दा बढी छुद्र ग्रहको प्रारम्भिक पहिचान गरिसकेको छ भने २३ वटा छुद्र ग्रह पहिचान गरी अस्थायी नामाकरण गरेको छ । २३ मध्ये एक छुद्र ग्रह विदशीले पत्ता लगाएका छ,” उनले सुनाए, “हाम्रो कार्यक्रममा विदेशीले पनि भाग लिन्छन् ।”
विज्ञानका कार्यक्रम महंगा हुन्छन, यो देशमा बसेर केही हुँदैन भन्ने मानसिकता चिर्न नासो अन्तर्गत रहेर उनी यस्ता काम गरिरहेका छन् । विदेशी पनि कार्यक्रममा हुँदा विद्यार्थीले आफूलाई अरुभन्दा कम नआँकुन् भन्ने उनको उदेश्य छ ।
विश्व मानचित्रमा विज्ञान र प्रविधिमा नेपालले ९५ स्थान ओगटेको छ । छिमेकी मुलुक भारत र चीन चन्द्रमा र मंगल ग्रहमा अन्तरिक्ष यान पठाइसक्दा हामी कहाँ छौँ ? खगोल र अन्तरीक्ष विज्ञानमा नेपाल कहाँ छ ?
प्राध्यापकसमेत रहेका भट्टराईकाअनुसार जुनसुकै सभ्यतामा सभ्यता जति पुरानो हो, खगोल विज्ञान पनि त्यति पुरानो हो । विश्वमा हेर्दा नेपाल पुरानो सभ्यता भएको मुलुकभित्र पर्छ । हरेक सभ्ययताको आआफ्नो समयमापन गर्ने यन्त्र र वार्षिक क्यालेन्डर विकास गरेका छन् । त्यसमा सबै प्रक्रिया आधुनिक नभए पनि सुर्योदय र सूर्यास्त समय राखेको हुन्छ । यो आदिकालदेखि नै सुरु भएको उनले सुनाए । नेपालको आफ्नै प्राचिन खगोल विज्ञान छ । हामी कहाँ ज्योतिषले कुन ग्रह कहाँ आउँछ गणना गरेर पञ्चाङ क्यालेन्डर बनाउँछन् ।
आधुनिक खगोल विज्ञान के लाई मान्ने ?
१७ औँ शताब्दीमा इटालियन वैज्ञानिक ग्यालिलियो ग्यालिलेइबाट आधुनिक खगोल विज्ञान सुरु भएको मानिन्छ । उनले टेलिस्कोपको सहायताले आकाशमा ग्रह पत्ता लगाए । हाम्रो पाहठ्यक्रममा पनि आधुनिक खगोल विज्ञान भनेर युरोपियन कै पढ्नुपर्छ । आकाश हेर्थे । तर, टेलिस्कोप चाहिँ थिएन । यद्यपि आधुनिक टेलिस्कोपको विकास ग्यालिलियो पछि मात्र भएको हो । डच वैज्ञानिक ह्यान्स लिपर्सेले टेलिस्कोपको आविष्कार गरेका थिए । “टेलिस्कोपको प्रयोग भने शत्रु कहाँ के गर्दैछन् भनेर युद्धमा हुने गर्थ्यो,” उनले थपे ।
नेपालमा खगोल शास्त्रलाई हेयको दृष्टिले हेरिन्छ । अति विरोध गर्नु उनलाई उचित लाग्दैन । भट्टराईको विचारमा आकाशमा तारा र ग्रह हेर्न चाहिने टेलिस्कोप र बाइनाकुलर नेपालमा भूमिमापनको गतिविधि सुरु भएसँगै भित्रिएको हो । नेपालको जमिन व्यवस्थापनको लागि बेलायती र पछि भारतीय नागरिक नापी विभागका लागि मापन गर्न आए । यस्तै, उनले नापी विभागमा खगोल विज्ञानको ठूलो महत्व रहेको औँल्याए । उनकाअनुसार भूमि मापन गर्दा दिशा र क्षेत्रफल पत्ता लगाउन खगोल विज्ञान चाहिन्छ । अहिले स्याटेलाइट अनुसार नक्सा बनाउँछन् । तर, पहिला टेलिस्कोपबाट ताराको स्थिति हेरेर नक्सा बनाउँथे । त्यो बेलामा सम्भवतः ब्रिटीशले पहिलो टेलिस्कोप ल्याएका हुन् । “किनकी काठमाडौंमा केही सौर्यघडी (सनडायल) फेला परेका छन्,” उनले भने । सौर्यघडी समय मापनका लागि हो ।
सूर्यको प्रकाश परेपछि सुर्योदयदेखि सूर्यास्तसम्म यसले समय देखाउँछ । युरोपियन घरमा छ्यापछ्याप्ती सौर्यघडी भेटिन्थ्यो । यस्तै, अहिले नासोले भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रसँग मिलेर काम गर्दैछ । स्याटेलाइटको प्रयोग हुँदा पुरानो पद्धति मानिसले भुले भनेर यसलाई फेरि पुर्नजागरण गर्न यो संरचना बनाउन लागेको हो । धुलिखेलस्थित केन्द्रमा नासोले सौर्यघडी बनाउँदैछ ।
श्री ३ चन्द्र शमशेरको पालामा त्रिचन्द्र क्याम्पसमा सौर्यघडी बनेको छ । तर, अहिल बिग्रेको छ । त्यसको नोमन अर्थात् डाँडी चाहिँ भाँचिएको छ । “पुरातत्व विभागले बनाइदेउ भन्यो भने हामी सक्छौ । हामीसँग खुबी छ,” उनले भने, “हामीलाई कसैले भन्दैनन् क्याम्पसको हो कि पुरातत्व विभागको हो ? कसले रेखदेख गर्छ ?,” नियमले सय वर्षभन्दा पुरानो संरचना पुरातत्व विभागको मातहतमा आउँछ । स्वयम्भुमा पनि केही थान सौर्यघडी छन् ।
नेपालस्थित बेलायती दूतावासमा सौर्यघडी राखिएको छ । यस्तैगरी, नगरकोटमा नापी विभागको अब्जरभेटरी छ । चेकोस्लोभाकिया (चेक रिपब्लिक)बाट खटिएका टोली आउँदा सो अब्जरभेटरी बनेको थियो । तर, त्यहाँ राखिएको टेलिस्कोप फरक छ । त्यसले क्षितिजमा भएका ताराहरु हेरेर भूमि मापनको काम गर्छ । तर त्यो अहिले प्रयोगमा नरहेको उनले बताए । सन् १९७० ताका चेकहरुले बनाएको सो टेलिस्कोप विश्वव्यापी फैलाएको थियो ।
सन् १९८६ मा हेलीजको पुच्छे्रतारा हेर्न बाल्मीकि क्याम्पसमा डोम बनाइयो र टेलिस्कोप राखियो । बनाएको ६ महिनामै बिग्रिएपछि डोम फोहोर फाल्ने स्थान र टेलिस्कोप अन्तै राखेको उनले बताए । त्यो तारा ७६ वर्षमा एकपटक देखिन्थ्यो । यस्तै, अर्को अब्जरभेटरी सन् २००८ मा फस्ट लाइट गरेको (टेलिस्कोप खोलेर हेर्न थालेको) बीपी कोइराला मेमोरियल प्लानेटेरीयम अब्जरभेटरी एण्ड साइन्स म्युजियम डिभेलपमेन्ट बोर्डले वेध शाला बनायो । यसको विज्ञान केन्द्र चलिरहेको छ, प्लानेटेरीयम (तारामण्डल) बनेको छैन तर अब्जरभेटरी बनेको छ । यो गिरिजाप्रसाद कोइरालाको पालामा बहुदल आएपछि समिति गठन गरेरै बनाउने कुरा भएको थियो । अब्जरभेटरी बने पनि टेलिस्कोपले काम गर्छ कि गर्दैन थाहा छैन । अहिले मुलुकमा नीजि र व्यक्तिगत रुपमा टेलिस्कोप भित्रिन थालेको छ । मुलुकमा एउटै प्लानेटेरीयमको स्थापना त भएको छैन । तर उनले विद्यालयमा प्रोजेक्टरको माध्यमबाट प्लानेटेरीयम देखाइने बताए । प्लानेटेरीयम भनेको डोम राखेर दिउँसै रात पारेर तारा देखाउनु हो ।
मुलुकमा संरचनाको विकास नहुँदा विज्ञान पछि परेको उनको अनुभव छ । भन्छन्, “संरचना बनाउन लगानी चाहिन्छ । लगानी गर्न भिजन । भिजनको लागि नेतृत्वमा सक्षम व्यक्ति हुनु पर्छ । साउने भिजन छ हाम्रोमा । कुनै काम एक आर्थिक वर्षमा सकिन्छ भने मात्र त्यसलाई सहयोग गर्ने,” उनी भन्छन् । यस्तै, अनुसन्धानको नतिजा सफल नै चाहिने दबाबले पनि यस क्षेत्रको विकास हुन नसकेको उनको भनाइ छ । सार मसान्तसम्म सकिने नतिजा चाहिने भन्दै उनले नीति निर्माण तहमा बसेका मानिसले अनुसन्धान गर्दा असफल भयो भने कसरी सम्बोधन गर्ने तयार हुनु पर्ने उनी बताउँछन् । सरी निर्देशित हुँदा झुठा विवरण आउन सक्ने र त्यसले अन्ततः मुलुकलाई नै हानी गर्ने उनको भनाइ छ ।
यति हुँदाहुँदै पनि खगोल विज्ञान र अन्तरिक्षमा नेपालले केही सफलता हात पारेको उनको दाबी छ । यसमा ठूलो श्रेय नासोलाई नै जाने उनी बताउँछन् । नागरिक विज्ञान प्रोजेक्ट, विज्ञान शिक्षकलाई तालिम र एष्ट्रोनोमी ओलम्पियाडको सिकाईसम्बन्धी कार्यक्रम सञ्चालन गरेर नासोले यस क्षेत्रमा दश जनशक्ति तयार पार्दैछ । ओलम्पियाड प्रारम्भिक चरणको प्रतिभा खोज कार्यक्रम हो, जहाँ ५० भन्दा बढी देश सहभागी हुन्छन् । त्यहाँ प्रतिस्पर्धाभन्दा पनि विद्यार्थीले नेटवर्क बनाउँछन् । स्वदेशमा सरकारबाट खासै सहयोग नपाएपछि अन्तर्राष्ट्रिय कार्यक्रममा चासो राखेको उनी सुनाउँछन् । संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य सन् २०३० को १७ नम्बरमा सहकार्य उल्लेख छ ।
नेपालले पनि यसमा हस्ताक्षर गरेको छ । नासोले यही बुँदालाई समातेर सहकार्यका काम गरिरहेको छ । ब्रुनाई र दुवईका विश्वविद्यालयसँग सहकार्यका लागि एमओयू हस्ताक्षर गरेको छ । यस्तै, अफिस अफ एष्ट्रोनोमी फर एडुकेसनले विद्यालयस्तरमा शिक्षा कार्यक्रमका लागि क्षेत्रीय कार्यालय आह्वान गरेकोमा नासोले पाएको छ । मुख्यतः यसले सार्क क्षेत्रमा विज्ञानको विकासमा काम गर्नेछ ।