site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संकटमा सिटौला– देउवालाई सघाउने कि टिम बचाउने ?
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसमा १२ औँ महाधिवेशनसम्म कोइराला परिवार संस्थापन पक्ष थियो । कोइराला परिवारविरुद्ध उभिने प्रयास गरे पनि महाधिवेशन नै जित्ने र नेतृत्व बदल्ने आत्मविश्वास कोइरालाइतर पक्षसँग देखिँदैनथ्यो । 

२०७२ माघ २६ गते कांग्रेसका तत्कालीन पार्टी सभापति शुशील कोइरालाको निधन भयो । रामचन्द्र पौडल कार्यवाहक सभापति बने । पौडेल कार्यवाहक सभापति भएपछि सुशील कोइरालासँग काम गरेकाहरु एकठाउँमा बस्न सकस हुन थाल्यो । 

उनै कार्यवाहक सभापति पौडेलको नेतृत्वमा २० फागुन २०७२ मा १३ औँ महाधिवेशन उद्घाटन भयो । 

१३ औँ महाधिवेशनको तयारीकै क्रममा तत्कालीन महामन्त्री कृष्णप्रसाद सिटौलाले सभापतिमा उमेदवारी घोषणा गर्दै अभियान चलाए ।

गिरिजाप्रसाद कोइरालाको लिगेसी आफूमा रहेको दाबी गर्दै सिटौला अघि बढे । गगन थापा, प्रदिप पौडेललगायतका युवा नेतालाई पनि साथमा लिएर ।

१३ औँ महाविधेशनअघि कोइराला टिममा रहेका सिटौला महामन्त्रीका रुपमा पार्टीमा जमेका थिए । तर, महाधिवेशनधको सम्मुखमा पौडेललाई स्वीकार नगर्दा उनले आफ्नै नेतृत्वमा नयाँ टिमको अभ्यास गरे । 

राजनीतिक ‘सेटलमेन्ट’ नमिल्दा उनले आफूलाई कोइराला टिमको आधिकारिक व्यक्तित्वको रुपमा उभ्याउने प्रयास गरे पनि नेता कार्यकर्ताले उनलाई नै कोइराला टिम मानिदिएनन् । फलस्वरुप कोइराला टिम कार्यवाहक सभापति रामचन्द्र पौडेल नै बन्न पुग्यो । 

सिटौलाले थापा, पौडेलजस्ता युवा नेताको साथ लिएर अघि बढे । थापालाई रामचन्द्र पौडेलको टिमबाट पदाधिकारीमा उमेदवार बनाउने तयारी गरे पनि अन्तिममा केही नेताको दबाबका कारण त्यो सफल नभएपछि सिटौला समूहबाट महामन्त्रीमा उमेदवारी दिए  ।

सभापतिमा उमेदवारी घोषणा गरेर टिम बनाइनसकेका सिटौलाका लागि त्यो अवसरमा परिणत भयो । सिटौलाको नेतृत्वमा तेस्रो धार सम्भव भयो । सभापतिमा देउवा, पौडेल  र सिटौला उमेदवार बने । 

पहिलो चरणमै देउवा पहिलो, पौडेल दोस्रो र सिटौला तेस्रो भए । विधानानुसार दुईभन्दा बढी उमेदवार भएको अवस्थामा सभापतिमा ५० प्रतिशत बढी मत ल्याउनुपर्ने भएपछि पहिलो भएका देउवा र दोस्रो भएका पौडेलबीच प्रतिस्पर्धा भयो । दोस्रो चरणमा सिटौलाले देउवालाई समर्थन गरे । उनले देउवाको काँध नथापेको भए पौडेल नै सभापति बन्न सक्थे । तर, व्यक्तिगत इगोका कारण उनीहरुबीच सहकार्य हुन सकेन । अन्तिममा निर्णायक बनेका सिटौला अहिले कांग्रेसको तेस्रो धारका नेता बनेका छन् ।

महाधिवेशनपछि सिटौलासँग गगन थापा, प्रदिप पौडेल, भिमसेनदास प्रधान, उमाकान्त चौधरी र शिव हुमागाईं उभिए । तेस्रो धारले नेविसंघ, तरुण दल, महिला संघ महाधिवेशनसम्म टिम देउवासँग सहकार्य गर्दै आएको थियो । 

पछि देउवाले सिटौलालाई बेवास्ता गर्न थाले । निर्वाचनसम्म पुग्दा सिटौला टिम देउवाको कठोर आलोचक बन्न पुग्यो । 

अहिले नेपाली कांग्रेस १४ औँ महाधिवेशनको महासंग्राममा छ । 

आगामी मंसिर नौ गतेबाट सुरु हुने महाधिवेशनमा सिटौला समूहको अवस्था के होला ? फेरि सभापतिमै दाबी रहला त भन्ने कुरा जिज्ञासा कांग्रेसजनमा बढेको देखिन्छ ।

तर सिटौलाका विश्वस्त स्रोतले दिएको जानकारीअनुसार उनी अझै निष्कर्षमा पुगिसकेका छैनन् ।

सिटौलाले आफू सभापतिको बलियो उमेदवार भएको सार्वजनिक गरे पनि त्यो ‘बार्गेनिङ’का लागि हो कि साच्चिकै भन्न नसकिने उनी निकट नेताहरु नै बताउँछन् ।

सिटौलाको गृह जिल्ला झापाका सभापति उद्धव थापा सिटौलाले महाधिवेशनको तयारी गर्न भनिसकेको बताउँछन् । सिटौलाको इच्छाअनुसार आफूहरु गृहकार्यमा जुटिसकेको थापाको प्रतिक्रिया छ ।

“म सभापति लड्छु भन्नुभएको छ, हामी त्यसैअनुसार तयारी गरिरहेका छौं,” थापाले बाह्रखरीसँग भने । 

थापा पनि सिटौलाकै समूहबाट केन्द्रीय सदस्य लड्न लागेको बताउँछन् ।

सिटौलालाई सभापतिमा नउठ्न दबाव 

तर, सिटौला निकट केही नेताहरु भने उनलाई सभापतिको उमेदवारी दिने विषयमा अघि नबढ्न सुझाव दिइरहेका छन् ।

समूहलाई अझ शक्तिमान बनाएर समूहको नेता बन्न उनीहरुको अनुरोध छ । पटक–पटक भएको समूहको छलफलमा सिटौला सकारात्मक भएको निकट नेताहरु दबी छ । 

निकट नेताहरु पनि विभाजित अवस्थामा देखिएका छन् । नेताहरु भिमसेनदास प्रधान, प्रदिप पौडेल र शिव हुमागाई देउवासँग मिले टिमको बलियो प्रतिनिधित्व गराउने पक्षमा उभिएका छन् । तर, नेता गगन थापाले भने सो समूह छाडिसकेका छन् । उनी पौडेल समूहको बैठकमा लगातार सहभागी भइरहेका छन् ।

थापाले आफूले संस्थापनइतर समूहलाई एकठाउँमा उभ्याउन प्रयासरत रहेको बताउँदै आएका छन् ।

बहुमत नेताहरुले सिटौलालाई देउवा टिमसँग समन्वय गरेर अघि बढ्न जोड गरिरहेका छन् । उनीहरुले आफू व्याक बसेर भए पनि देउवालाई सभापतिमा सहयोग गर्ने र आफ्नो समूहबाट प्रदिप पौडेललाइ महामन्त्री र उमाकान्त चौधरीलाई सहमहामन्त्री बनाउनेगरि ‘डिल’ गर्न सिटौलालाई दबाब दिइरहेका छन् । 

प्रदिप पौडेल महामन्त्रीमा उमेदवारी घोषणा गरेर तयारी गरिरहेका छन् । सिटौलाले टिमका तर्फबाट ‘डिल’ नगरे उनको उमेदवारी देउवा टिमबाट स्वीकार्य हुने छैन । 

यदी गरिहाले भने पनि महामन्त्रीमै हुन्छ भनेर सुनिश्चित नभएको सिटौला समूहकै नेताहरुको भनाई छ । त्यसैले टिमका तर्फबाट बलियोसँग प्र्रस्तुत हुनुपर्ने उनीहरुको बुझाई छ । 

देउवा टिमबाट विमलेन्द्र निधि हिँडेपछि त्यसको क्षतिपूर्ति हुनेगरी अर्को पक्षबाट तान्ने देउवाको रणनीति छ । 

त्यसैले देउवा पक्षबाट पनि सिटौला पक्षलाई तान्ने रणनीति भइरहेकै छ । तर, देउवा समूहमा रहेका नेताहरुका कारण सिटौलालाई थप चुनौती भने रहेको कांग्रेस एक नेता बताउँछन् ।

सो समूहले क्लष्टर मिलाएर २० जनाको केन्द्रीय सदस्य आफ्नो समूहबाट बनाउने गरी ‘डिल’ गर्न सिटौलालाई दबाव बढेको छ । 

“यति गर्न सके हाम्रो टिम बलियो हुन्छ र कृष्ण दाइलाई १५ औँ महाधिवेशनमा सभापति बन्ने आधार बन्छ,” सिटौला समूहका एक नेताको भनाइ छ । 

सिटौला समूहले त्यति मात्र नभएर वाग्मती प्रदेश सभापति मागेको छ । 

त्यसका लागि नेता भिमशेनदास प्रधानले गृहकार्य गरिरहेका छन् । ०३६ सालको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रधान प्राध्यापक संघको सभापतिदेखि रक्षा मन्त्री भइसकेका छ

उनकै अगुवाइमा सिटौलालाई देउवा समूहमा सम्मानजनक सहभागिताका लागि प्रयासरत रहेको निकट स्रोत बताउँछ ।

धेरैजसो वार्ता प्रधानले देउवासँगै गरिरहेका छन् भने देउवासँगै मिल्नुपर्छ भनेर चौधरीले पनि दबाब बढाएका छन् । 

चौधरी अहिलेकै मन्त्रिपरिषद्मा सहभागी हुने आकांक्षा राख्छन् । 

तर सिटौला कुनै समूहमा समाहित हुने वा आफ्नै समूह जोगाउने भन्नेमा अहिलेसम्म प्रस्ट भइसकेका छैनन् । निर्वाचनदेखि प्रतिनिधिसभा विघटनसम्म पौडेल पक्षसँग विचारमा एकता देखिएको सिटौला समूह पौडेलकै नेतृत्वमा फर्कने पक्षमा भने कम देखिएको ती नेताको तर्क छ ।

त्यसैले सिटौला स्वयम् भने पुरानै संस्थापनमा बलियो र आफूलाई उपयुक्त हुने उमेदवार खोजिरहेका छन् । 

रामचन्द्र पौडेलबाहेकको नेतृत्व स्वीकार्न आफू तयार रहेको पटक पटक आफू निकटसँग बताउँदै आएका सिटौलाले अर्को व्यक्ति को भन्ने प्रष्ट भने पारेका छैनन् ।

संस्थापन र इतर समूहबाट २ जनाका दरले मात्र सभापतिमा प्रतिष्पर्धा गरे भने सिटौलासहित पाँच जना सभापतिका उमेदवार हुनेछन् ।

“परिस्थिति सहज छैन, सभापतिका आकांक्षीहरु धेरै छन्,” समूहका एक नेताले भने, “सुरुमै डिल गरेर केन्द्रीय कार्यसमितिमा समूहको उपस्थिति बलियो बनाइयो भने भोलिको राजनीति सहज बन्न सक्छ ।”

तर, सिटौला राजनीतिक मुद्दामा भने रामचन्द्र पौडेलसँग नजिक छन् ।

युवा नेता गगन थापाले पनि सिटौला समूह राजनीतिक एजेन्डाका आधारमा रामचन्द्र पौडेलको समूहसँगै भएकाले देउवा टिममा जाने ठाउँ नभएको बताउँछन् । 

“हिजो पार्टीभित्रको आन्तरिक लोकतन्त्रका विषयमा होस् वा संसद् विघटनपछिको परिस्थितिका विषयमा रामचन्द्र पौडेल र कृष्ण सिटालाको मत एउटै छ,” थापाले बाह्रखरीसँग भनेका थिए, “त्यसैले राजनीतिक एकता विचार मिल्नेहरुसँग हुन्छ । पदको बाँडफाँट मात्र सबै कुरा होइन ।” 

निकट नेताहरुको प्रस्ताव भने इतर समूहमा गए दुई सहमहामन्त्रीमा प्रदिप पौडेल र उमाकान्त चौधरीलाई अटाउने तथा दर्जन बढी केन्द्रीय सदस्य माग गर्नुपर्ने छ । 

समूहका नेता प्रधान भने कुनै नयाँ रणनीति नबनेको बताउँछन् । कृष्ण सिटौला सर्वमान्य नेता भएकाले उनकै नेतृत्वमा १४ औँ महाधिवेशन लड्ने टिम बनिरहेको प्रधानको तर्क छ । 

“दाइ सभापति लड्नुहुन्छ, उहाँको टिमबाट प्रदिपले महामन्त्री घोषणा गरिसकेका छन्,” प्रधान भन्छन् । 

दोस्रो चरणमा चुनाव भए कसलाई सहयोग गर्ने भन्ने विषयमा भने  प्रधान अहिले प्रतिक्रिया दिन हतारो हुने उनले भने । 

“अब व्याक हुने अवस्था छैन, दोस्रो चरणको बारेमा हामीले अहिले निर्णय गरिसकेका छैनौं,” उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  ०८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro