काठमाडौं । गएको असारअघि मेलम्ची खानेपानी आयोजनाका कारण काठमाडौं उपत्यकाका सडकमा खाल्डा परे भनिन्थ्यो । सडक डिभिजन कार्यालय काठमाडौंले उपत्यकाको सडक बिग्रिनुमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) लाई दोषी देख्थ्यो ।
तर, गत असार पहिलो साताको विनाशकारी बाढीले मेलम्ची खानेपानी आयोजना नै प्रभावित बन्यो । जसले मेलम्चीको भविष्य अनिश्चित बनेको छ । मुहान नै क्षतिग्रस्त भएपछि उपत्यकामा मेलम्ची खानेपानी आयोजनाका लागि सडक खन्नुपरेको छैन ।
तर पनि उपत्यकाको सडकको अवस्था भने अझै उस्तै छ । अहिले भने सडक डिभिजन कार्यालयले नेपाल विद्युत प्राधिकरणले आफूले खनेका सडक समयमै नपुर्दा सडक बिग्रिएको बताउने गरेको छ ।
नेपाल विद्युत प्राधिकरणले तारलाई भूमिगत गर्ने काम गरिरहेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७६ फागुन ५ गते विद्युतका तार भूमिगत गर्ने कार्यको उद्घाटन गरेका थिए । करिब ७ अर्बको लागत ठेक्कामा भारतीय निर्माण कम्पनी केईआई लिमिटेड इन्डस्ट्रिजले काम गरिरहेको छ । सन् २०२१ सम्ममा सक्ने लक्ष्य लिएर थालिएको काम कोरोना महामारीको कारण देखाएर अहिले पनि जारी छ । अझ कहिले सकिने भन्ने टुङ्गौ छैन ।
‘प्राधिकरणले नटेर्दा सडक बिग्रियो’
सडक डिभिजन कार्यालयले भने प्राधिकरणले सम्झौता अनुसार काम नगर्दा सडक बिग्रिएको हो । सम्झौता कार्यान्वयनमा प्राधिकरणले अटेर गरिरहेको विभागको आरोप छ ।
“कोरोना महामारीको कारण देखाएर विद्युत् प्राधिकरणले सडक समयमै पुर्न नसकिएको बताइरहेको छ । खनिएका सडक पुरेर मात्रै अरू सडक खन्न भनेका थियौँ । तर, प्राधिकरणले अटेर गरिरहेको छ,” सडक डिभिजन कार्यालयका प्रमुख कुबेर नेपालीले भने, “अन्य निकायले खनेका सडकको दोष पनि विभागलाई आउने गरेको छ ।”
उनकाअनुसार ‘होराइजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट तार भूमिगत गर्नेगरी विद्युत् प्राधिरकणसँग सम्झौता भएको थियो । यो प्रविधिअनुसार करिब दुईसय मिटरको अन्तरमा सडक फुटपाथमा खाल्डो खन्नुपर्छ । खनिएका खाल्डाखुल्डी १० दिनभित्रमा पुरिसक्नुपर्ने सहमति भए पनि प्राधिकरणले बेवास्ता गरेको उनको भनाइ छ ।
सडक डिभिजन कार्यालयकाअनुसार अहिले विद्युत्का तार भूमिगत गर्ने नाममाबाहेक अन्य प्रयोजनका लागि सडक खनिएको छैन । विभागको अनुमति नलिई जथाभाबी सडक खन्न पाइँदैन ।
‘कार्य योजना तयार नपारी सडक भत्काइयो’
सडक डिभिजन कार्यालयले भने प्राधिकरणले कार्ययोजना नबनाएर जथाभाबी सडक भत्काउँदा समस्या आएको आरोप लगाएको छ । तीन वर्ष विद्युत् र तीन वर्ष मेलम्ची खानेपानी आयोजनाका लागि भनेर सडक खन्दै पुर्दै गर्ने हो भने समस्या समाधान हुने सडक डिभिजन कार्यालयका प्रमुख नेपाली बताउँछन् । खनिएका सडक नपुरेसम्म थप अनुमति नदिने विभागको तयारी छ ।
“अब हामी प्राधिकरणले पहिले खनिएका सडक नपुरेसम्म अनुमति नदिने पक्षमा छौँ । बाँसबारीदेखि बुढानिलकण्ठ सडकको अवस्था अहिले बिजोग छ । कतिपय ठाउँमा मर्मत पनि भएको छैन । मर्मत भएको ठाउँमा पनि गुणस्तरीय छैन । प्राधिकरणले पुरेका सडक छिट्दै भत्किने समस्या सृजना भएको छ । काम चलाउ झारा टार्ने काम मात्रै भएको छ । प्राधिकरणले कहिलेसक्ने भन्ने पनि योजना बनाएको छैन,” नेपालीले भने ।
सडक डिभिजन कार्यालयकाअनुसार प्राधिकरणले सम्झौता तोडेर ‘अटेर’ गरिरहेको छ । कार्यालयले अब पहिला धरौटी राखेरमात्र सडक खन्न दिनेबारे छलफल गरिरहेको छ । “‘प्राधिकरणले पहिलाको नियम तोडेर अटेरी गरिरहेको छ । अब हामीले पहिला धरौटी राखेर मात्रै सडक खन्न दिने भन्नेबारे छलफल गरिरहेका छौँ । प्राधिकरणले सडक भत्काएर नबनाएको हकमा कसरी मर्मत गर्ने भन्ने मोडल टुङग्याएर मात्रै अनुमति दिनेबारे छलफल भइरहेको छ,” कार्यालय प्रमुख नेपालीले भने ।
सडक विभाग, विद्युत प्राधिकरण र अन्य सरोकारवाला निकायबीच समन्वय नहुँदा र जथाभाबी सडक खन्दा सडक किनारा फुटपाथमा खाल्डाखुल्डी देखिने क्रम बढ्दै गएको छ ।
‘विभागले अनुमति नदिँदा समस्या’
प्राधिकरणले भने उल्टो विभागले सडक खन्ने अनुमति नदिँदा समस्या परेको बताइरहेको छ । प्राधिकरणका आयोजना प्रमुख अभिषेक अधिकारी केही बाध्यता भएपनि आफूहरूले गर्नुपर्ने काम गरिरहेको बताउँछन् ।
‘‘सडक विभागसँग समन्वय गरी तार भूमिगतको काम अघि बढिरहेको छ । बूढानीलकण्ठ, लैनचौर क्षेत्रको काम सकिएको छ । चरणबद्ध रूपमा काम हुँदै जान्छ । सडक पुर्न नखोजेका होइनौ, विभिन्न परिस्थितिले नपुरेको जस्तो देखिएको हो । बरु विभागले सडक खन्ने अनुमति नदिँदा समस्या परेको छ,” अधिकारीले भने ।
प्राधिकरणले बर्सात्का खनिएका सडक पिच गर्न नसकेको भएपनि सडक पुर्ने काम भइरहेको जनाएको छ । “बर्सात्को समयमा पिच गर्दा सडक गुणस्तरीय हुँदैन । त्यसैले बर्खा सकिएपछि चैतसम्ममा पिच गर्ने लक्ष्य छ,” उनले भने, “भित्री सडकमा चाहिँ अहिले तार भूमिगत गर्ने काम भइरहेकै छ ।”
उनले थपे, “निरन्तर सडक खन्ने काम भएकाले पुरिएका सडकको काम देखिएन । ठुलो आयोजना भएकाले निरन्तर काम गरिरहनुपर्ने हुन्छ । विभिन्न कारणले गर्दा काम लम्बिँदै जाने हो । पछिल्लो समय बर्सातको समय भएकाले पुरिएका सडकमा पनि खाल्डाखुल्डी देखिएका छन् ।”
सडक विभागले अनुमति नदिँदा तार भूमिगत गर्ने काम कहिले सकिन्छ भनेर भन्न नसकिने अधिकारीको भनाइ छ । “चैत सम्ममा हामीले अनुमति मागेका सडकको अनुमति आयो भने थप काम अगाडि बढाउन सकिन्छ । नत्र भने अनुमति कुरेर बस्नुपर्ने हुन्छ । त्यसैले ठ्याक्कै कति समयमा भूमिगतको काम सकिन्छ भनेर भन्न सकिने अवस्था छैन ।”
प्राधिकरणका अनुसार नयाँ बसपार्कदेखि चाबहिलसम्मको सडकको अनुमति विभागले दिएको छैन ।
अहिलेसम्म कहाँ कति काम भयो ?
प्राधिकरणकाअनुसार केही समयअघि महाराजगञ्ज, रत्नपार्क, कीर्तिपुर, माइतीघर क्षेत्रमा तार भूमिगतको थालिएको थियो । ती क्षेत्रको काम नसकिँदै अहिले प्राधिकरणले काठमाडौंको अनामनगर, धोबिखोला, भक्तपुर ललितपुर क्षेत्रमा काम गरिरहेको छ ।
प्राधिकरणकाअनुसार महाराजगञ्ज क्षेत्रमा पाइपलाइनको काम २० प्रतिशत सकिएको छ भने केबललाइन २८ प्रतिशत जति काम भएको छ । रत्नपार्क क्षेत्रमा एकसय किलोमिटर तार भूमिगतको काम सम्पन्न भएको छ । प्राधिकरणका आयोजना प्रमुख अभिषेक अधिकारीले अहिलेसम्म तार भूमिगत गर्दा करिब एक अर्ब रुपैयाँ खर्च भइसकेको बताए ।