site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लाइसेन्स पाउन पहिलेजस्तै झन्झट कि सहज ? 
फाइल तस्बिर ।

काठमाडौं । यातायात व्यवस्था विभागले चार महिनापछि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा खुलाएको छ । चार महिनाअघि नै आवेदन दिएका र लिखित परीक्षा दिई ट्रायलको पर्खाइमा बसेका चालकहरूको परीक्षा खुलाइएको हो ।

सरकारले सवारीचालक परीक्षा कार्यविधि निर्देशिका–२०७७ जारी गरेको थियो । उक्त निर्देशिकाबमोजिम सानोतिनो गल्ती गर्दा उनुत्तीर्ण भइँदैन  । उक्त निर्देशिका आजदेखि लागु भएको छ ।

निर्देशिकाबमोजिम लिखित परीक्षाका लागि ५०० वटा प्रश्न विभागले वेबसाइटमा राखिसकेको छ । उक्त प्रश्नबाट २०–२० प्रश्न सोधिने निर्देशिकामा उल्लेख छ । निर्देशिकाअनुसार लिखित परीक्षामा ८० र ट्रायल परीक्षामा ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था छ ।

यातायात व्यवस्था विभागकामा महानिर्देशक नमराज घिमिरेले पहिला आवेदन मात्र दिएकाहरूलाई नयाँ नियमानुसार परीक्षा लिइने जानकारी दिए । उनले भने, ‘‘पहिला लिखित परीक्षा दिइसकेका आवेदकलाई दुईवटा परीक्षा लिन मिल्दैन । उनीहरूलाई पुरानै मापदण्डअनुसार ट्रायल परीक्षा लिइनेछ । आवेदन मात्रै दिनेहरूका लागि सबै परीक्षा नयाँ निर्देशिकाबमोजिम हुन्छ ।”

लाइसेन्स पाउन पहिलेजस्तै झन्झट कि सहज ? 
अब लाइसेन्स निकाल्न केही सहज हुने विभागले जनाएको छ । महानिर्देशक घिमिरे विभागले लाइसेन्स वितरण गर्न विभिन्न नयाँ प्रक्रिया अवलम्बन गरेको बताउँछन् । ‘‘पहिलेभन्दा विभागले धेरै सुधार गरेको छ । नयाँ निर्देशिका अनुसार चालकले सजिलै लाइसेन्सको परीक्षा पास गर्न सक्छन र पास गरेको लाइसेन्स पाउन वर्षसम्म कुर्नुपर्ने अवस्था आउँदैन । परीक्षणकालीन लाइसेन्स वितरण थालेको हुनाले सहजै चालकले लाइसेन्स प्राप्त गर्नेछन,” उनले भने ।

एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स वितरण 
विभागले यही भदौ १८ गतेदेखि एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स वितरण थालेको छ । विभागले स्मार्ट कार्डको अभाव हुँदा यस्तो लाइसेन्स वितरण सुरु गरेको थियो । उक्त लाइसेन्स ट्रायल परीक्षा उत्तीर्ण गरिसकेका र नवीकरण गर्न बाँकी चालकलाई वितरण गरिँदै छ ।

महानिर्देशक घिमिरे भन्छन्, ‘‘चालकले करिब सात महिनादेखि स्मार्ट लाइसेन्स पाउन नसक्दा हामीले उक्त लाइसेन्स वितरण थालेका हौँ । यसले गर्दा विभागलाई भार परेको छ । नयाँ आवेदकलाई तत्काल लाइसेन्स उपलब्ध गराउने गरी विभागले प्रक्रिया थालेको छ । परीक्षणकालीन लाइसेन्स विभागले सामान्य कार्ड प्रिन्ट गरेजसरी प्रिन्ट गर्न सक्छ । आजदेखि बर्दिबासको यातायात व्यवस्था विभागको कार्यालयबाट सुरु भइसकेको छ । यसैगरी, उक्त वितरण प्रणाली देशभर लागु हुनेछ ।”

स्मार्ट कार्ड आउन दुई महिना लाग्ने  
विभागका अनुसार लाइसेन्स छाप्ने स्मार्ट कार्ड आउन अब दुई महिना लाग्नेछ । कोरोना महामारीका कारण खरिद गरिएको स्मार्ट कार्ड आउन नसकेको र अब दुई महिनाभित्रमा आइपुग्ने विभागले जनाएको छ ।

‘‘विभागले १४ लाख स्मार्ट कार्ड खरिद गरेको थियो । उक्त स्मार्ट कार्ड आउन दुई महिनाजति लाग्ला । कोरोना महामारीका कारण विभागले सेवाग्राहीलाई सेवा दिन सकिरहेको अवस्था थिएन । पहिले सरकारले अनुमति नदिएर रोकियो । अहिले स्मार्ट कार्डको अभावले रोकिने अवस्था थियो । तर, हामीले यसको विकल्पका रूपमा एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स वितरण थालेका छौँ,” उनले भने ।

भदौ २७ देखि रि–ट्रायल 
विभागका अनुसार रि–ट्रायल परीक्षा यही भदौ २७ गतेदेखि खुलाइनेछ । दुईपटक ट्रायल फेल भएका चालकले १८ महिना नकटे पनि ट्रायल दिन पाउँछन् । त्यसका लागि परीक्षार्थीले फारम भरेर शुल्क बुझाउनुपर्छ । शुल्क बुझाउने दिन ट्रायल परीक्षा हुनेबारे सम्बन्धित यातायात कार्यालयले जानकारी दिनेछ ।

रि–ट्रायल परीक्षा वाग्मती प्रदेशका यातायात कार्यालयहरूबाट सञ्चालन भई अरू प्रदेशमा चरणबद्ध रूपमा खुलाउँदै लगिने विभागले जनाएको छ ।

नयाँले कहिलेदेखि आवेदन दिन पाउँछन् ? 
विभागले नयाँ आवेदन खुला गरेको छैन । विभागका अनुसार लाइसेन्सको पर्खाइमा बसेकाहरूको आधाआधी लाइसेन्स छापिएपछि मात्रै नयाँ आवेदन खुला गरिनेछ ।  स्मार्ट कार्ड आउन ढिलो हुने भएकाले पुराना आवेदकलाई पनि परीक्षणकालीन लाइसेन्स दिइनेछ । असोजपछि मात्रै नयाँ आवेदन खुलाउन सकिने सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले ट्रायल परीक्षा उत्तीर्ण गरिसकेका आवेदकलाई लामो समय स्मार्ट लाइसेन्स प्रिन्ट गरेर दिन नसक्दा उनीहरूले सास्ती खेप्दै आएका छन् । दैनिक ६ लाखदेखि ८ लाख लाइसेन्स प्रिन्ट गर्न सक्ने क्षमता विभागको भए पनि स्मार्ट कार्डको अभावले उक्त लाइसेन्स छपाइ पनि बन्द छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro