चितवन । प्रहरीलाई गलत सूचना दिने एक महिला पक्राउ परेकी छन् । ‘अपहरणको नाटक गरेको’ आरोपमा प्रहरीले बिहीबार साँझ बाराकी राजकुमार चौधरीलाई पक्राउ गरेको हो ।
बाराको कोल्बी स्थायी घर भई हाल भरतपुर महानगरपालिका वडा १२ मा बस्दै आएकी चौधरीलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवत्ता सूर्यबहादुर थापाका अनुसार चौधरीले मंगलबार विभिन्न व्यक्तिबाट लिएको ऋण रकम फिर्ता गर्ने भाका नाघेपछि अपहरणको नाटक गरी गलत सूचना दिएकी थिइन् ।
“पहिला ऋण दिने मान्छेलाई अपहरणमा परेको भनेर कल गरेकी रहिछन् । ती व्यक्ति कार्यालयमा खबर गर्न आए ।” थापाले भने, “पछि हाम्रै एसपी साबले उनलार्ई कल गर्दा १० लाख रकमसहित अपहरणमा परेको बताइन् ।”
प्रहरीका अनुसार चौधरीले आफूलाई एनएमबी बैंक, मालपोत शाखाबाट रकम निकालेर आउने क्रममा अपरिचित व्यक्तिले अपहरण गरी जंगल नजिकको झुपडीमा बन्धक बनाएर राखेको भनी गलत सूचना दिएकी थिइन् । पटकपटक मोबाइल ‘अफ’ र ‘अन’ गर्दै आएकी उनको खोजी गर्ने क्रममा भरतपुरकै एक अस्पतालमा सरसफाइ गर्ने महिला रहेको थाहा पाएपछि प्रहरीले नियन्त्रणमा लिएको थापाले बताए ।
उनीमाथि थप अनुसन्धान भइरहेको र कानुनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।