काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर गुलशन झाले काठमाडौं किङ्स–११ बाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । युवा बलर गुलशनले काठमाडौंबाट ईपीएल खेल्ने पक्का भएको क्लबले बताएको छ ।
काठमाडौं किङ्स–११ ले शुक्रबार गुलशनलाई अनुबन्ध गरिएको जनाएको छ । गुलशन भर्खरै मात्र राष्ट्रिय टिममा अनुबन्ध भएका छन् । उनले काठमाडौं मेयर कपमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीको बाटो खोलेका थिए । गुलशन हाल ओमान भ्रमणमा छन् ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीलाई पनि अनुबन्ध गरेको थियो । चौथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा आयोजना हुँदैछ ।
प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।