मानिस आफैले ध्वस्त पारेको जलवायु चक्रको नराम्रो प्रभाव यस गर्मीयाममा मुख्य समाचार बने । अमेरिका र क्यानडाको पश्चिमतटीय क्षेत्रमा अहिलेसम्मकै तातो हावा ‘लु’ले धेरैको मृत्यु, घनघोर वर्षा र बाढीले मध्ययुरोप तथा चीनको याङ्जे नदीले ठूलो जनधनको क्षति अनि ग्रिस, टर्की, दक्षिण इटली, उत्तर अफ्रिका र साइबेरियामासमेत भयंकर डँडेलो लाग्यो । अझ वातावरणविद्ले यो महिना पश्चिम युरोपलाई तताउने मुख्य प्रक्रिया आन्ध्र खाडी प्रवाह (एटलान्टिक गल्फ स्ट्रिम) कमजोर हुँदै गएको हुनसक्ने चेतावनी दिएका छन् ।
यो ग्रीष्म ऋतुका उग्र वातावरणीय दुष्प्रभावबीच वातावरण परिवर्तनसम्बन्धी अन्तरसरकारी समूह (आईपीसीसी) ले छैठौं मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ जुन कोभिड–१९ महाव्याधिका कारणले पछि सरेको थियो । पहिलेभन्दा निकै सशक्त र स्पष्ट तवरले अन्तर्राष्ट्रिय वातावरण विज्ञहरूले भनेका छन् – “मानवजाति र विशेषतः विकसित देश तथा ठूला अर्थतन्त्र नै मौसम परिवर्तन वा ‘ग्लोबल वार्मिङ’का लागि जिम्मेवार छन् ।”
यस प्रतिवेदनले गंभीर प्रश्न तेस्र्याएको छ – के पेरिस वातावरण सम्झौताअनुरुप विश्वको तापक्रम वृद्धि औद्योगिक क्रान्तिअघिको तापक्रमबाट २ डिग्री वा सकेसम्म १.५ डिग्री बढीमा नियन्त्रण गर्न सकिन्छ ? आईपीसीसीको निष्कर्ष छ यो संभव हुनसक्छ तर यसका लागि हामीले निर्णायात्मक ढंगमा र यथाशीघ्र ग्रीनहाउस ग्यासको उत्सर्जन (मुख्यतः कार्बन डाइअक्साइड)मा ठूलो कमी ल्याउन सक्नुपर्छ ।
दुखःका साथ भन्नुपर्छ, यो उद्देश्य पूरा हुने संकेत झिनो छ । अनि, के बिर्सनु हुँदैन भने पेरिस सम्मेलनले लिएको उद्देश्य त वातावरणीय संकट रोक्नका लागि चाहिने न्यूनतम अवस्था हो र दीर्घकालीन उपचार हुँदै होइन् । सन् २०१५ डिसेम्बरमा पारित सो सम्झौतामा सबै सदस्य राष्ट्रले ग्रीन हाउस ग्यासको उत्सर्जन कटौती स्वेच्छाले तोकेको लक्ष्य हो । धेरै हस्ताक्षरकर्ता देशहरूले वातावरणको विनाश यति चाँडो हुन्छ भन्ने सोच्न सकेका थिएनन् भन्ने सहजै अनुमान गर्न सकिन्छ । त्यसैले तिनले खेलेको जुवामा आफँै पराजित भइसके र वातावरण सुधारको काम गर्नका लागि सबैसँग निकै कम समयमात्र बाँकी रहेको छ ।
वातावरण विनाशबाट विश्वलाई जोगाउन अन्तर्राष्ट्रिय संरचनामा भर पर्नुपर्छ तर तिनै संरचना सदस्य राष्ट्रहरूका बीचको दम्भको सिकार भएका हुन्छन् र यो नै मुख्य अड्चन हो । सम्पूर्ण मानवताको हितका लागि विश्वको सार्वभौमसत्तालाई हेर्ने पुरानो सुरुङबाट निक्लनुपर्ने हुन्छ जुन सहज छैन । सबैको जीवन रक्षाका लागि विश्वको सामूहिक जिम्मेवारी लिने सोच यस्ता संरचनाका लागि नौलो हुन्छ । यही बेढंगको देखिने विषयमा पकड राख्नु एक्काइसौं शताब्दीको ठूलो चुनौती हुनेवाला छ ।
आईपीसीसीको अब हुनसक्ने संभावित दुष्प्रभावको आकलनले के संकेत गर्दैछ भने विश्वको अर्थतन्त्रलाई यही दशकको अन्त्यसम्म मूलभूतरुपमै रुपान्तरण गर्नुपर्छ । यसका लागि प्रविधिगत तथा आर्थिक समस्या धेरै होलान् तर राजनीतिक चुनौती पनि कम अप्ठेरा छैनन् ।
वातावरण विनाशको दुष्प्रभाव जनताको दैनन्दिनीमा जति प्रत्यक्षरुपमा देखिँदै जान्छ त्यति अब हाम्रो समय सकिँदै गयो भन्ने स्पष्ट हुँदैजान्छ । अनि वातावरण संरक्षणका विषयले विश्व राजनीतिमा दह्रो प्रभाव पार्दैजान्छ र परम्परागत भूराजनीति परिवर्तित भएर ग्रहको संयुक्त जिम्मेवारी लिनेतर्फ अघि बढ्छ । आखिरमा, जुन देश जतिसुकै ताकतवर भए पनि यो समस्यासँग एक्लै लड्ने क्षमता राख्दैन । यो उद्देश्य प्राप्त गर्न सम्पूर्ण मानवबीच मित्रता र सहकार्य जरुरी हुनेछ ।
दूर्भाग्यवश, मानवजातिको इतिहास हेर्दा साँच्चैको समावेशी संसार र सशक्त सहकार्यका धेरै उदाहरण छैनन् । यस्तो अत्यन्त असहज परिस्थितिमा विश्वका महाशक्तिराष्ट्र अघि बढेर विश्वव्यापी सहकार्यको नेतृत्व लिनुपर्छ । यसको मतलब एक्काइसौं शताब्दीका दुई महाशक्ति अमेरिका तथा चीनसहित युरोपियन युनियन, भारत र अरुका बीच पनि सहकार्य हुनुपर्छ ।
अहिले अमेरिका तथा चीनबीच देखिएको प्रतिस्पर्धा मुख्यतः प्रविधिमा छ जुन वातावरणीय संकट समाधानका लागि मुख्य रणनीतिक आधार पनि हो । मानवजातिले ग्रहको सुरक्षामा सहकार्य गर्नुपर्यो भन्दा मानवजातिसँग यो जीवमण्डल नियन्त्रण गर्ने ज्ञान तथा शक्ति छ भन्ने तथ्य मनन् गर्नुपर्छ । तर, यो कार्यका लागि एक बृहद् संरचना चाहिन्छ जस्ले सूचना संग्रह, बाँटफाँट तथा तथ्यांकको प्रयोग संभव भएसम्म वास्तविक समयमा नै गर्न सकोस् ।
तर, फेरि भन्नैपर्छ, यो दिशामा कुनै प्रगतिको लक्षणसमेत देखिएको छैन । बरु, शक्तिराष्ट्रबीचको शत्रुताले विश्व राजनीति तथा भूराजनीति पुनः तातेर गएको छ । राष्ट्रवादको दम्भ अहिले सबैभन्दा प्रखररुपमा अघि बढेको छ । त्यसैले, दुई शक्तिराष्ट्र जो हरेक क्षेत्रमा प्रतिस्पर्धामा उत्रिएका छन् तिनीहरू वातावरण परिवर्तनका विषयमा एकमत हुनसक्ने संभावना ज्यादै न्यून देखिन्छ । वातावरण संकट समाधान गर्न चाहिने आपसी सद्भाव र विश्वास बढाउन खोज्दा झन् अविश्वास बढेर जाने त्रास पनि कायमै छ ।
ठोकुवा गर्न सकिन्छ – पश्चिमा राष्ट्रले चीनसँगको सम्बन्धमा निकै गम्भीर गल्तीहरू गरेका छन् । आफ्नो आर्थिक स्वार्थ परिपूर्ति गर्न नाङ्गो नाच नाच्ने पश्चिमा विश्वले चीनको भूराजनीतिक स्वार्थ तथा उसका संवेदनशीलतालाई बेवास्ता गर्यो । तर, अब नयाँ गल्ती गरेर विगतमा भएका गल्तीलाई झन् भयावह बनाउनु हुँदैन । जसरी हामी पश्चिमा विश्वको पुरानो “चीन नीति” मा जानु हुँदैन त्यसैगरी वातावरणीय संकटको रणनीति अन्तर्राष्ट्रिय राजनीतिको मूलधार हुनुपर्छ भन्नेमा विश्वस्त हुनुपर्छ । अन्यथा, हाम्रो नेतृत्वको असफलता सम्पूर्ण मानवजातिले भोग्नुपर्नेछ ।
यो परम्परागत शक्ति राजनीतिलाई अघि बढाउने समय होइन । आजका महाशक्ति राष्ट्रले अब विश्वको जिम्मेवारी लिनेतर्फ कदम अघि बढाउनु पर्छ । र, सफल हुनका लागि यी कदम एकसाथ, एक लयमा चालिनु पर्छ ।
(जर्मनीका पूर्वपरराष्ट्रमन्त्री तथा जर्मन ग्रीन पार्टीका पूर्व नेता )
Copyright: Project Syndicate, 2021.