site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
दलहरूको निर्दलीय चरित्र !

राणाकालमा विरोधीहरू राणा शासन र सत्ताको विरोध गर्थे । पञ्चायतकालमा पनि विरोधीले पञ्चायती व्यवस्थाको विरोध गरेका हुन्थे । सोही क्रममा कहिले किसान आन्दोलन र कहिले विद्यार्थी आन्दोलन हुनेगर्थे । राणा शासनको अन्त्यपछि पनि कांग्रेसमा मातृका र बीपीबीच बेमेल भयो । विस २०४६ को जनआन्दोलनबाट नेपालमा बहुदलीय लोकतन्त्र पुनः स्थापना भएपछि बहुदलका पक्षधर नै पटकपटक बहुदलीय आचरणविपरीतका गतिविधिमा संलग्न भइरहेका देखिन्छन् । 

बहुदलीय व्यवस्थाको माध्यमबाट जनजीविका र राष्ट्रियताका विषयमा एकजुट भई कामगर्ने अवसर हुँदाहुँदै विसं २०५२ फाल्गुनदेखि तत्कालीन माओवादी हिंसात्मक विद्रोहमा लाग्यो । त्यसको औचित्य माओवादीले अहिलेसम्म पुष्टि गर्नसकेको छैन । त्यसको दस वर्षपछि २०६२/०६३ मा राजनीतिक दलहरूले माओवादीसँग मिलेर अर्को आन्दोलन गरे । दलहरुलाई सफलता मिल्यो । त्यसपछि राजतन्त्र समाप्त भयो र मुलुक गणतन्त्र भयो । 

त्यसको दस वर्षपछि २०७२ मा नयाँ संविधान जारी भएपछि नेपाल सघीय लोकतान्त्रिक व्यवस्था कार्यान्वयनको चरणमा प्रवेश पुग्यो । सोहीअनुरुप विस २०७४ सालमा सबै तहका निर्वाचन भए । ढिलै भए पनि दलहरू जिम्मेवारी वहन गर्न केही हदसम्म सक्षम देखिए । निर्वाचनबाट तीनै तहका सरकारमा एउटै दल शक्तिशाली रूपमा उदायो । यसबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका विपक्षी दलहरुलाई हारको अनुभूति भए पनि वर्षौं लामो राजनीतिक खिचातानी र अनिश्चितताको अन्त्य भयो भनी जनमानसमा खुसी व्याप्त भएको थियो । यस अर्थमा जनताले जितेको अनुभूति गरिएको थियो । यद्यपि, नयाँ संविधानप्रति केही दलको असहमति भने थियो/छ ।

KFC Island Ad
NIC Asia

नयाँ संविधानले राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले गर्नेछन् भनी तीन तहको शासन प्रणालीको व्यवस्था गरेअनुसार पहिलो निर्वाचनपछिका तीन वर्ष सबै तहका सरकार निर्बाध क्रियाशील भए । प्रदेश एक र दुईले भने स्थायी राजधानी र प्रदेशको नामाकरण गर्न पनि सकेका छैनन् । 

आन्दोलन गर्न सक्ने तर आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न पटकपटक अक्षम देखिने नेपालका राजनीतिक दलहरूप्रति जनमानसमा पनि शंका थियो । पहिलो संविधान सभाले संविधान दिन सकेन । संविधान सभाको पहिलो निर्वाचनमा प्रभावशालीरूपमा उदाएको माओवादीले मुलुकलाई संविधान दिने दायित्व वहन गर्न नसक्दा दोस्रो संविधान सभाको निर्वाचनमा खुम्चिन बाध्य भयो । नाकाबन्दीमा अडान राखेको भनेर केपी ओलीलाई गत निर्वाचनमा जनसमर्थन मिलेको थियो । त्यसैको परिणाममा पर्याप्त बहुमतसहित मुलुकको प्रधानमन्त्री हुने अवसर पाए । 

Royal Enfield Island Ad

केपी ओलीमा पनि कमजोरी त थिए । गत पुसबाट सार्वजनिकरूपमा प्रकट भयो । प्रायः सबै तहमा बहुमत प्राप्त गरेको र सरकारमा राज गरिराखेको दलभित्रको विवाद बाहिर प्रकट हुँदा संघीय र प्रदेश सरकारमा प्रत्यक्ष असर देखियो । फलस्वरूप, कतिपय प्रदेशमा सरकार परिवर्तन भए भने कहीँ अझै खिचातानी नै छ । अविश्वासको प्रस्तावको प्रावधान नभएकोले धन्न स्थानीय सरकारहरूमा त्यस प्रकारको असर परेन । दलहरूभित्र र बाहिर कुनै राजनीतिक विचारमा मतभेद नभई नेताहरूको घमण्ड र लोभीपापी मनले धैर्य गुमाउँदाको परिणाम हो यो ।

बहुदलीय लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दल लोकतन्त्रका आधारभूत कार्यशाला मानिन्छन् । राजनीतिक दलहरुमा केन्द्रदेखि गाउँ तहसम्म विभिन्न एकाइ हुने व्यवस्था छ । तिनै एकाइमार्फत् नेता तथा कार्यकर्ताबीच लोकतान्त्रिक प्रतिस्पर्धा हुन्छ । लोकतन्त्रका आधारभूत विशेषतामा बहस र छलफल हुन्छन् । दलीय राजनीतिको नीतिगत पक्ष र अनुशासनबारे प्रशिक्षण भई प्रतिस्पर्धामा जनताको मन जित्न सक्ने सक्षम कार्यकर्ता र नेताको विकास गरिने भएकाले दललाई लोकतन्त्रको आधारभूत कार्यशाला भनिएको हुनुपर्छ ।

नेपालका राजनीतिक दल तथा तिनका नेतामा भने त्यस्तो खालको चरित्र कहिल्यै देखिएन । निर्माणात्मक कार्यमा आफ्ना सगठनलाई तिनले परिचालन गर्न सकेनन् ।

लामो समयदेखि सघर्ष गर्दै दुःख पाउँदै आएका र वर्षौंदेखि शोषित पीडित अवस्थामा रहेका नेपालीका आकाङ्क्षा सम्बोधन गर्दै मुलुकलाई गरिबी र भोकमरीको अवस्थाबाट मुक्त गर्ने कसम खाएका नेताहरूले आफैँभित्रको घमण्ड, एक अर्काप्रतिको रिस, डाह र लोभका कारण मुलुकमा पुनः अस्वाभाविक राजनीतिक खिचातानी सुरु गरे । "आफ्नो टाउको फुटेपछि मीतको टाउको बेलैसरी" भनेजस्तै गरी आफ्नो स्वार्थ नपुगेपछि आफ्ना वरपर हिँड्ने राजनीतिमै भविष्य खोजिरहेका सयौं नेता, कार्यकर्ता तथा मतदाता/नागरिककोहितको बेवास्ता गर्ने गतिविधिमा शीर्ष नेता नै लाग्नुको परिणाम हो यो । 
 
अनुचित काम जसले गरेपनि स्वीकार्य हुँदैन । अन्ततः त्यसको सजाय उसैले भोग्नै पर्छ । अघिल्लो सरकारले जनता समाजवादी पार्टीलाई लक्षित गरी दल दर्तासम्बन्धी अध्यादेश ल्यायो तर आफ्नै दलभित्र र बाहिरबाट भएको चर्को विरोधले पछि हट्यो । तर, नियत त राम्रो थिएन । संविधान र संसदीय व्यवस्थाका मूल्यमान्यताको रक्षा गर्ने अवसर पाएको भनिएको अहिलेको गठबन्धन सरकारलाई संसद्मा विचाराधीन कैयौँ विधेयक पास गर्नुपर्ने जिम्मेवारी थियो । त्यसो नगरी सरकार गठन गर्ने र विश्वासको मत लिनेबाहेक अन्य कुनै काम नगरी संसद्को अधिवेशन अन्त्य गरियो । लगत्तै अध्यादेश जारी गरेर पहिलो दिनमै संसद्को सबभन्दा ठूलो दल नेकपा एमाले र जसपालाई फुटाइयो । 

तत्कालीन उद्देश्य पूरा भएकोले यसमा अग्रसरता लिनेहरूले खुसी मनाएका छन् । तर, एमालेलाई टोक्ने बाघले माओवादी र कांग्रेसलाई नटोक्ला कसरी भन्ने ? किनभने कुनै पनि दल विवादमुक्त हुन सक्दैनन् । विवाद त हरेक दलमा हुन्छ । बहुदलीय व्यवस्थामा यसरी नै दल विभाजनको बाटो सजिलो बनाउँदै जाने हो भने कुनै दल एक वर्षसम्म पनि सग्लो रहन सक्तैन । संघीय तहमा मात्र नभई प्रदेशमा पनि संसदीय दलमा खटपट हुँदा दलहरू टुक्रिन सक्छन् । दलहरू कमजोर हुनु भनेको संसदीय व्यवस्था कमजोर हुनु हो । 
  
कुनै निर्णय गर्दा लोकतन्त्रको भावनाअनुरूप त्यसैलाई संस्थागत गर्ने हेतुले गरेमात्र कुनै पनि मुलुक लोकतान्त्रिक ठहरिन्छ । किनभने लोकतन्त्रले नागरिकको जीवन, स्वतन्त्रता, खुसी र सामाजिक दायित्व एक अर्कामा न्यायोचित किसिमले बाँड्ने प्रतिज्ञा गर्छ । नागरिकहरूले आफ्ना स्वतन्त्रताको प्रयोग गरी जनजीवनका विभिन्न सवालमा सक्रिय सहभागी हुन रुचि राखेपछि मात्र लोकतन्त्र फस्टाउन सक्छ । यही मान्यताअनुरूप संविधानको रक्षा गर्ने, राज्यका प्रमुख अङ्गबीच शक्ति सन्तुलन कायम गराउन भूमिका खेल्ने, मुलुकलाई सुशासन दिने, संसदीय व्यवस्थाको गरिमा बढाउनेजस्ता दायित्व राजनीतिक दलको हुन्छ । नेपालका मूल प्रवाहका राजनीतिक दलले भने अवसर पाउँदा पनि यो कौशल देखाउन सकेनन् ।

अगिल्लो सरकारले पटकपटक संसद् विघटन गरी संसदीय व्यवस्थाको हुर्मत लियो भनी त्यसलाई विस्थापन गर्न गठबन्धन बन्यो र सफल पनि भयो । सक्रिय राजनीतिमा रहेका पाँच पाँच जना पूर्वप्रधानमन्त्री रहेको उक्त गठबन्धनले मुलुकलाई सही बाटोमा हिँडाउने वचन दिएको केही सातामै यसप्रकार आफ्नै खुट्टामा वञ्चरो हान्ला भनेर कसैले सोचेको थिएन । गठबन्धन मुलुक र व्यवस्थाको हित हुने निर्माणात्मक काममा अग्रसर हुनुपर्थ्यो । त्यो अवसर पनि थियो । मुलुकको राजनीति र शासन प्रणालीमा दूरगामी असर गर्ने निर्णयमा परिपक्वता देखाउन सक्नुपर्थ्यो । विभिन्न दल र पटक पटक सरकारको पनि नेतृत्व गरिसकेका पूर्वप्रधानमन्त्रीहरूले नेतृत्व गरेको वर्तमान गठबन्धनको यस कार्यबाट नेपालका राजनीतिक दल संघीय लोकतान्त्रिक व्यवस्थाको कार्यान्वयनमा अक्षम भएका छन् ।

आफ्नो सजिलोका लागि अथवा निवर्तमान प्रधानमन्त्री ओलीलाई दनक दिन उनैले बनाएको अध्यादेशको हतियार उनैमाथि प्रयोग गर्न सफल भएकोमा माधव नेपाललगायत गठबन्धनका नेता खुसी छन् । यसबाट पूर्वप्रधानमन्त्री केपी ओली र एमालेलाई कति हानि होला समयले बताउनेछ । उता शेरबहादुर देउवा अहिले गठबन्धन सरकारको प्रधानमन्त्रीमात्रै नभएर नेपाली कांग्रेसको सभापति पनि हुन् । उनको पार्टीभित्र पनि मतभेद छन् । महाधिवेशन मुखमै छ । अध्यादेशमार्फत दल फुटाएको अपजसको बोझ देउवालाई नै गह्रौँ हुनसक्छ । ओलीले ल्याएको अध्यादेशको विरोध गरेका देउवाले त्यसभन्दा पनि तल झरी अध्यादेश ल्याउँदाको अपजस उनका कार्यकर्ताका लागि पनि भारी हुनेछ । 

त्यसैगरी कम्युनिस्ट नेतामध्ये शालीन छवि बनाएका माधव नेपालले राजनीतिबाट विश्राम लिने समयमा तय गरेको बाटोबाट धेरै गुमाएका छन् । नेपालको दलीय संस्कृतिमा पनि अर्को धब्बा लागेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro