site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
निकासी बढाऊ, व्यापार घाटा घटाऊ

नेपालको आयात निर्यात व्यापार अत्यन्त असन्तुलित हुनपुगेको छ । कुल वैदेशिक व्यापारको ९१.५ प्रतिशत आयात र ८.५ प्रतिशत निर्यात भएको तथ्यांकबाट देखिएको छ । अर्थात्, हाम्रो वैदेशिक व्यापार पूर्णतः आयातमुखी भएको छ ।

नेपालको कुल अन्तर्राष्ट्रिय व्यापारको ६४ प्रतिशत भारतसँग र १४ प्रतिशत चीनसँग हुन्छ । यी दुवै मुलुकसँग नेपालको व्यापार घाटा उच्च छ । भारतसँग कृषि उत्पादनमा प्रतिस्पर्धा गर्न नसक्ने र चीनमा निकासी गर्न सकिने वस्तुको उत्पादनै नहुने अवस्था देखिएको छ । यी दुवै मुलुकले नेपालको निकासीलाई पूर्ण सहयोग गरे पनि हामीसँग निकासी हुने वस्तु नै नहुनु निराशाजनक अवस्था हो । 

गत आवमा पहिलोपटक निकासीको अंक एक खर्ब नाघेपनि हाल कुल निकासीको ५७ प्रतिशत हिस्सा ५ वटा वस्तुले लिएको छ । यस्मा पनि सोयाविन तेलको हिस्सामात्रै ३५ प्रतिशत छ  । यसरी हामीले निकासी विविधीकरण गर्न नसकेकाले सफलता हात नलागेको स्पष्टै देखिन्छ । साथै, निकासीको देशगत विविधीकरण गर्ने उद्देश्य पनि कागजमै सीमित हुनपुगेको छ । यथार्थमा, विगत एक दशकको आंकडाको विश्लेषण गर्दा निर्यातमा कम प्रगति गर्ने विश्वका २० वटा मुलुकभित्र नेपाल पनि पर्छ । 

KFC Island Ad
NIC Asia

तुलनात्मकरुपमा नेपालले भन्दा बढी आर्थिक विकास गरेका मुलुकको सामान गुणस्तरीय हुनु स्वाभाविकै हो । यसरी, आयातित वस्तुले बजार लिन थालेपछि उत्पादनमा चासो लिइएन । साथै, आयातको अनुपातमा निर्यात बढाउनुपर्छ भन्ने चेतना पनि सरकारमा आएन । अर्कोतर्फ, निजी क्षेत्र पनि देशप्रति इमानदार भएन । 

अर्कोतिर, रेमिटेन्स रकम मुलुकमा भित्रिएसँगै नेपालीको उपभोक्ता प्रवृत्ति र माग बढ्यो । माग पूर्ति गर्नेगरी आन्तरिक उत्पादन वृद्धि हुन नसक्दा पनि आयात बढेको हो । हामीले उत्पादनमा सहयोगी हुनसक्ने युवा जनशक्तिको क्षमता मुलुकभित्र प्रयोग गर्नुको सट्टा तिनलाई नै वैदेशिक रोजगारीमा पठायौँ । फलस्वरूप, उत्पादनमा जनशक्तिको अभाव खड्कियो ।

Royal Enfield Island Ad

मुलुकको निकासी बढाउने जिम्मेवारी वाणिज्य मन्त्रालय एउटैको मात्रै होइन । यो साझा दायित्वको विषय हो । तर, हामीले प्रशासनिक सुधारमा मात्रै जोड दिइरहेका छौँ । यथार्थमा, उत्पादनमै वृद्धि नगरी निकासी बढाउन सकिन्न भन्नेतर्फ ध्यानै पुगेन । 

निजी क्षेत्र जिम्मेवार भएर उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सक्षम भएको पाइन्न । अझै पनि उच्च नाफामूलक जग्गा खरिद विक्री, ठेक्कापटृा, एजेन्सी, शिक्षा र स्वास्थ्य सेवा व्यापारमै निजी क्षेत्र रमाइरहेको छ । एक अध्ययनअनुसार नेपालमा हालको भन्दा १२ गुना बढी निकासी गर्ने क्षमता छ तर,त्यसको उपयोग नै गरिएको छैन ।  

नेपाल भारत सिमाना खुला छ । यसबाट नेपाललाई नाफाभन्दा घाटा बढी छ । यसैगरी, भारतसँगको स्थिर सटही दरको लाभ र नोक्सानीको विश्लेषण गर्नुपर्छ । भारतसँगको व्यापार सन्धिमा परेको कृषि उत्पादनमा भन्सार महसुल लगाउन नपाइने प्रावधानको पुनरावलोकन गर्नुपर्छ । यसबाट नेपाल पूरै ठगिएको छ । साथै, भारतीय सिमानामा हुने अनौपचारिक आर्थिक गतिविधिलाई निस्तेज गर्नुपर्छ । नेपाली वस्तुको निकासीमा हुने भारतीय अवरोध हटाउन हरदम चुस्तढंगले व्यापार कूटनीति (ट्रेड डिप्लोमेसी) सञ्चालन गर्नुपर्छ । 

हाम्रो नीति निकासी प्रवर्धन, आयात प्रतिस्थापन र आयात व्यवस्थापन गर्ने हो । यसका लागि हामीले गुणस्तरीय पूर्वाधारमा जोड दिनुपर्छ । नेपालसँग १३० वटा वस्तुमा तुलनात्मक फाइदा (कम्परेटिभ एडभान्टेज) छ । यसबाट लाभ लिन भने वस्तुको गुणस्तर, परिमाण र समयमा निकासी गर्नसक्ने क्षमता हुनुपर्छ । 

व्यापार सहुलियत सम्झौता (ट्रेड फेसिलिटेसन एग्रिमेन्ट) अनुसार काम गर्नुका साथै मुलुकगत रणनीतिक (कन्ट्री स्फेसिफिक स्ट्राट्रेजी) बनाउनुपर्छ । यस सम्बन्धमा मन्त्रिपरिषद्बाट व्यापार घाटा घटाउने सम्बन्धमा भएको रणनीतिक निर्णय पूर्ण कार्यान्वयन गर्नुपर्छ । ‘मेक इन नेपाल’ अभियानलाई सफल तुल्याउनुपर्छ । आयात प्रतिस्थापन गर्न बंगलादेशले झै ग्लोबल ब्रान्ड खोल्न आकर्षित गर्नुपर्छ । अर्थात्, आयात गरिने वस्तु मुलुकमै उत्पादन गराएर आयात कम गर्ने शो । 

विश्व व्यापार संगठनले कृषिमा १० प्रतिशतसम्म अनुदान दिन सकिने प्रावधान राखेकाले नेपाली किसानलाई थप सहयोग दिनुपर्छ । 

यसैगरी, वनजन्य वस्तु, खानी, जडीबुटीमा हाम्रो प्रतिस्पर्धात्मक लाभ छ । यसबाट लाभ लिन सही रणनीति तर्जुमा गर्नुपर्छ ।

स्वदेशी वस्तुको खपत बढाउनु पर्छ । मुलुकको औद्योगीकरण गर्नुपर्छ । गलैँचा, पस्मिना र तयारी पोसाकको निकासीमा भएका कमी कमजोरीबाट पाठ सिकेर अघि बढ्नुपर्छ । 

कृषिमा ब्रान्डिङ गर्नुपर्छ । जडीबुटीमा यार्सागुम्बालगायतको प्रशोधन र औपचारिकरुपमा निकासी गर्नुपर्छ । मह, औषधिको कच्चा पदार्थलगायतको निकासी बढाउनुपर्छ । नेपालबाट ट्राउट माछा निकासीको संभावना छ । हामी भूपरिवेष्ठित मुलुक भएकाले हवाई जहाजबाट हल्का र उच्च मूल्यका वस्तु निकासी गर्ने लक्ष्य लिनुपर्छ । 

आयात प्रतिस्थापन गर्न ‘सेफगार्ड’, ‘काउन्टरभेलिङ’ र ‘एन्टीडम्पिङ’ शुल्क लगाउनुपर्छ । रक्सी, चूरोट र विलासिताका सामानको आयात निरुत्साहित गर्नुपर्छ । विश्व व्यापार संगठन, साफ्टा, विमस्टेकबाट लाभ लिनुपर्छ । प्रदेश सरकार, स्थानीय तह र नेपाली दूतावासहरुले पनि निकासी वृद्धिमा ध्यान दिनुपर्छ ।

नेपालमा पेट्रोलियम पदार्थको वार्षिक आयात रु २ खर्बमाथि छ । यस्को आयात घटाउन विद्युतीय सवारी साधनको उपयोगमा प्रोत्साहन गर्नुका साथै भान्छामा विद्युतीय उपकरणको प्रयोगमा जोड दिनुपर्छ । 

नेपाल कृषि प्रधान देश हो । यहाँ करिब २७ लाख मानिस बेरोजगार छन् । यसर्थ, तिन श्रम सीपको अधिकतम उपयोग गरी कृषि उत्पादन र खाद्यान्नको करिब रु २ खर्बको बर्सेनि हुने आयात पनि घटाउन सक्नुपर्छ । 

चालु आव २०७८। ७९ का लागि अध्यादेशबाट जारी गरिएको बजेटमा अलैँची, चिया, कफी, अदुवा, जडिबुटीलगायत नेपालको पर्यावरणअनुकूल र मौलिक पहिचान भएका उत्पादनको प्रशोधन, प्याकेजिंग र ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गुणस्तर प्रमाणीकरणसहित निकासी प्रवद्र्धन गर्न निजी क्षेत्रलाई थप सहूलियत प्रदान गरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यस्को प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । 

यसैगरी, बजेट वक्तव्यमा निकासीजन्य उद्योगमा विदेशी लगानी आकर्षित गरिने र निकासीका आधारमा आयकर छुट दिनेजस्ता प्रस्ताव पनि अघि सारिएको छ । यस अतिरिक्त, निर्यात गृह संचालन गर्ने र बण्डेड वेयर हाउसको सुविधा दिने पनि लेखिएको छ । यी र यस्ता सुविधा प्रवाहमा कन्जुसी गर्नु हुँदैन ।

हालका दिनमा जुट र जुटका सामान, वनस्पति घ्यु, पस्मिना, दाल, अदुवा, अलैँची, धागो, तामाको तार, आयुर्वेदिक औषधिलगायतका वस्तु भारत निकासी भइरहेको देखिन्छ । यसैगरी, तयारी पोसाक, पस्मिना, उनी गलैँचा, प्रशोधित तथा तयारी छाला, हस्तकलाका सामान, नेपाली कागज, चाँदीका गरगहना, चिया, कफी लगायतका वस्तु अन्य मुलुकमा निकासी भइरहेका छन् । साथै, रेसम र कपासजन्य उत्पादन पनि निकासी भएको पाइन्छ ।

यिनको निकासीलाई प्रोत्साहित गरिरहनुपर्छ । 

सरकारले निकासीमा केही नगद अनुदान दिएको छ । यस प्रकारको नगद अनुदानलाई निरन्तरता दिनुपर्छ । साथै, सरकारले साना तथा लघु र कुटिर उद्योगबाट उत्पादित वस्तु संकलन गरी एकीकृतरुपमा ट्रेडमार्क लिने र उत्पत्तिको प्रमाणपत्र जारी गर्नेजस्ता कार्यमा पनि निरन्तर सहजीकरण गर्नुपर्छ । 

यस अतिरिक्त, विश्वमा हुने विभिन्न मेला र प्रदर्शनीलगायतमा नेपाली वस्तुको प्रदर्शन र विक्रीमा सरकारले आर्थिकरुपमा सघाउनुका साथै नेपाली दूतावासको माध्यमबाट बजार खोजी गरिदिने काम पनि गर्नुपर्छ । समय समयमा काठमाडौंमा सार्कस्तरीय र अन्तर्राष्ट्रिय प्रदर्शनीको आयोजना गरेर पनि नेपालको व्यापार विविधीकरण गर्न सकिन्छ । मुलुकको कहालीलाग्दो व्यापार घाटा कम गर्न यी र यस्तै प्रयासबाट निकासी बढाउनुको विकल्प छैन । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  १४:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro