राष्ट्रिय परीक्षा बोर्डले यही २०७८ साल श्रावण ३१ गतेदेखि सञ्चालन हुनेगरी परीक्षाको तालिका सार्वजनिक गरे पनि कोरोना संक्रमण बढ्दै गएको कारणले गर्दा सरकारले सो परीक्षा स्थगित गर्यो । यसबाट ३ लाख ७४ हजार विद्यार्थी प्रत्यक्ष प्रभावित भए । यसले विद्यार्थीका अभिभावकलाई समेत चिन्तित तुल्याएको देखिन्छ ।
यसरी चिन्तित हुने कारण भने परीक्षा ढिलो हुँदा विद्यार्थीहरूको उच्च शिक्षाको अवसर प्रभावित हुनुु हो । त्यसैगरी, कोभिडको महामारी रहिरहे कसरी परीक्षा सञ्चालन होला – भौतिक रूपमा होला कि अनलाइन वा भर्चुअल माध्यमबाट होला भन्ने चिन्ता र चासो पनि विद्यार्थी र अभिभावकमा देखिन्छ ।
राष्ट्रिय परीक्षा बोर्डको मान्यता भने जसरी भए पनि परीक्षा भौतिकरूपमा नै सञ्चालन हुनुपर्छ भन्ने रहेको देखिन्छ । भौतिकरूपमा सञ्चालन भएको परीक्षाले मात्र विद्यार्थीको सही मूल्याङ्कन हुन सक्छ भन्ने विश्वास राष्ट्रिय परीक्षा बोर्डको हुनसक्छ । किनभने नेपालको विद्यमान परीक्षा प्रणालीमा विद्यार्थीले ३ घन्टाभित्र परीक्षा हलमा बसेर सोधिएका प्रश्नका उत्तरहरू लेख्नुपर्ने हुन्छ । हुन त परीक्षाकै कुरा गर्ने हो भने जीआरई (ग्य्राजुएट रेकर्ड इक्जामिनेसन), आइएल्टीएस अर्थात् अन्तर्राष्ट्रिय अङ्ग्रेजी भाषा परीक्षा प्रणाली र टोफल (टेस्ट अफ इङ्ललिस एज अ फरेन ल्याङ्ग्वेज) जस्ता अन्तर्राष्ट्रिय मान्यता प्राप्त विषयका परीक्षा भने अनलाइन हुनेगरेका छन् ।
यसरी हेर्दा कुनै पनि परीक्षा अनलाइन वा भर्चुअलका माध्यमबाट सञ्चालन गरी मूल्याङ्कन गर्न सकिने रहेछ भन्ने देखिन्छ । तथापि, प्रविधि र मानवस्रोतको अभाव भएको हाम्रोजस्तो मुलकमा यस प्रकारका परीक्षा प्रणालीबाट शिक्षाको गुणस्तर कतिसम्म कायम हुनसक्छ भन्ने छलफलको विषय हुन सक्छ । तर, कोभिड– १९ को संक्रमणको सुरुबाटै अनलाइन तथा भर्चुअल माध्यमबाट विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म पठनपाठन, सिकाइ र मूल्याङ्कन कार्य भइरहेको छ । र यो उत्साहजनक नै देखिन्छ ।
यसै सन्दर्भमा राष्ट्रिय परीक्षा बोर्ड अहिलेको कक्षा १२ को परीक्षाको सबै प्रकिया पूरा गरी परीक्षा सञ्चालनको पर्खाइमा रहेको देखिन्छ ।
यसअगाडि नै हरेक परीक्षा हलमा २५ जनाभन्दा बढी विद्यार्थी नराख्न र उनीहरूलाई निर्धारित दूरीमा राख्न, विद्यार्थीले मास्क र फेससिल्ड अनिवार्य लगाउनुपर्ने, परीक्षा केन्द्रमा सेनिटाइजरको व्यवस्था गर्नुपर्ने र परीक्षा सञ्चालन गर्नुभन्दा अगाडि र पछाडि हललाई निर्मलीकरण गर्न निर्देशनसमेत गरिसकिएको थियो ।
विद्यालयहरुले पनि सोही अनुसार तयारी गरिरहेका थिए ।
यति हुँदाहुँदै पनि काठमाडौंलगायतका सहरी क्षेत्र र केही जिल्लामा कोभिडको संक्रमण ह्वात्तै बढेको र अझ बढ्ने जोखिमसमेत हेरेर कतै कक्षा १२को परीक्षा नै कोभिडको तेस्रो लहर फैलाउने कारण बन्ने त होइन भन्ने आशङ्का बढेपछि परीक्षा स्थगित गरिएको हुनुपर्छ ।
परीक्षाभन्दा पनि जीवन महत्त्वपूर्ण हुन्छ र जीवन नै नरहे परीक्षाको के काम भन्ने विचार पनि व्यक्त भएको पाइन्छ । विद्यार्थी र अभिभावकहरूलाई समेत यिनै चासो र चिन्ताले सताइरहेको देखिन्छ । कतै परीक्षा स्थगित नभएको भए हुन्थ्यो भन्ने विचार प्रकट भएको पाइन्छ भने कतै परीक्षा स्थगित भएको ठीकै हो भन्ने विचार पनि देखिएका छन् ।
स्थगित परीक्षा कहिले सञ्चालन हुन्छ भन्ने प्रश्नले सबै सरोकारवाला तथा सम्बन्धित पक्षलाई पिरोलिरहेको देखिन्छ । कतिपयले खोप सुुनिश्चित गरी परीक्षा सञ्चालन गर्नुपर्ने सुझाव पनि दिएको सुनिन्छ । यद्यपि, खोप लगाएका विद्यार्थीहरू पनि कोभिडबाट पूरै सुरक्षित हुन्छन् भनी ढुक्क हुने स्थिति पनि देखिन्न ।
खोप लगाएको केही समयपछि मात्र यसले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने कार्य गर्छ भन्ने विज्ञहरूको भनाइप्रति पनि ध्यान दिन जरूरी देखिन्छ । विश्वका कतिपय मुलुकमा खोप लगाएका मानिस पनि कोभिडको चपेटामा परेको सुनिन्छ ।
तैपनि, परीक्षा सञ्चालन हुनुअगाडि कोभिड सङ्क्रमणको स्थिति, विद्यालयको भौतिक अवस्था, अभिभावक र विद्यार्थीलाई यसको पूर्ण जानकारी, पालना गर्नुपर्ने नियम, भिडभाडमुक्त परीक्षा केन्द्रको व्यवस्थाजस्ता कार्य गर्न अनिवार्य हुन्छ ।
यसो हुन नसकी कदाचित परीक्षा हलमा कुनै एक जना विद्यार्थी सङ्क्रमित भएको खण्डमा त्यसबाट सम्पूर्ण विद्यार्थी सङ्क्रमित हुने जोखिम हुन्छ । यसका लागि विद्यार्थीहरूको पहिचान गरी उनीहरू बसेका ठाउँ, घरपरिवार र त्यसआसपासमा कोभिडे सङ्क्रमणको अवस्थाको जानकारी लिनु जरूरी हुन्छ ।
विद्यालयले पनि परीक्षा अवधिभर विद्यार्थीहरूको ज्वरो नाप्ने, सेनिटाइजर, मास्क, पञ्जा, फेससिल्डको प्रयोग अनिवार्य गराउने गर्नुपर्ने हुन्छ । परीक्षाहलमा विद्यार्थीको बसाइसमेतलाई ध्यान दिएर परीक्षा अगाडि र पछाडि हुनसक्ने जमघटसमेत व्यवस्थित गरी परीक्षा सञ्चालन गर्नु उचित हुन्छ ।
वर्तमान सरकारको मुख्य प्राथमिकता पनि खोप नै भएको हुनाले यसको सुनिश्चितता पनि जरूरी छ । विद्यालय उमेरका विद्यार्थीहरूलाई भ्याक्सिन दिने प्रक्रिया चाँडै सुरू भएको अवस्थामा विद्यार्थी र अभिभावकको आत्मबल बढ्ने देखिन्छ ।
यसका लागि सरकारले स्वास्थ्यकर्मीमार्फत स्थानीय विद्यालयमा नै विद्यार्थीहरूलाई खोप लगाउने व्यवस्था गर्न र सबैले समान ढङ्गले खोप प्राप्त गर्नसक्ने वातावरण मिलाउनुपर्छ ।
यसमा स्थानीय सरकार, अभिभावक, विद्यालय र सम्बद्ध पक्षले सहयोग गर्नु जरूरी हुन्छ । अनिमात्र सबै परीक्षा सुरक्षितरुपमा सञ्चालन गन सकिनेछ ।