लज्जा स्वाभाविक मानवीय प्रवृत्ति हो । व्यक्ति वा समाज लज्जाहीन हुन सक्दैन । प्रकृतिविपरीत स्थितिले मात्र मानिस लाज नभएको (नकच्चरो) बन्न पुग्छ । स्वाभाविकरुपमा मानव समाज लाजरहित हुने कल्पना नै अप्राकृतिक हुन्छ । प्राकृतिक र सांस्कृतिक बनेर लज्जाले सामाजिक मर्यादा कायम गरेको छ ।
प्रश्न गर्न सकिएला – लाज प्रकृति हो कि सभ्यताको विकासको क्रममा मानिसले अपनाएको प्रवृत्ति क्रमशः स्थायी चरित्र भएको हो ? निश्चय पनि यो प्राकृतिक गुण नै हो र विकास विस्तार भने सभ्यताको क्रममा भएको हुनुपर्छ । प्रकृतिको भू्रण सन्देशलाई विकास र विस्तार गर्ने चेतनाले सभ्यताको ‘क्याराभान’ सिलसिलामा मानिसले अरु प्राणी जगत्लाई उछिनेको हो ।
यही क्रम र उपक्रममा मान्छे सम्बद्ध संघ, संस्थाको पनि लाज स्थापित गरिएको र भएको हो । लाज छोपिनुमा मात्रै सीमित छैन ।
अपितु लाज त मर्यादा हो, चरित्र र प्रवृत्तिको पर्याय पनि हो । सिद्धान्त र व्यवहारमा मर्यादा केले निर्धारण गरेको होला ? लाजको सीमाले । यो सधैँ छोपिँदैन, पारदर्शी पनि हुन्छ । अर्थात् लाजले छोपिनु र खोलिनु दुवै स्थिति कायम हुने रहेछ ।
यसरी हेर्दा सबै पेसा व्यवसायको मर्यादा छ । अनि जहाँ मर्यादा त्यहाँ लाज । लज्जाले इज्जत दिने हो र नजान्दा बेइज्जत पनि ।
कुराकानी राजनीतिको गर्न खोजिएकोले राजनीतिमा लाज हुने वा नहुने ? हुने । तर, भए कस्तो कसरी र किन ? यही जिज्ञासामा वर्तमान नेपाली राजनीतिको इज्जत मापन गर्न मन लागेको हो ।
जसरी ‘राजनीतिलाई सबै नीतिको मूल स्रोत’ भनिन्छ त्यसरी नै सिद्धान्त, व्यवहार र नागरिक मर्यादाको स्रोत सम्मान पनि राजनीतिलाई नै मान्नुपर्ने हुन्छ । यसरी हेर्दा अहिलेको नेपाली राजनीति कति लज्जाबोधले गरिँदै छ त ? माथि पनि भनियो लाज नै मर्यादासमेत हो । अर्थात्, नागरिकसँग लाज, नागरिकको मर्यादा र राजनीतिको इज्जतको लागि । तर, राजनीति यस दृष्टिले यहाँ अहिले लज्जाहीन छ ।
अहिलेका केही उदाहरणतिर हेरौँ । सबैभन्दा पहिले, दुई तिहाइ सांसद् समर्थनको लाज बचाउन नसकेको कम्युनिस्ट एमाले ।
संसद्को लाज जोगाउन नसकेको कम्युनिस्ट अहिले प्रतिपक्षी दल एमाले भएको छ । राजनीतिमा इज्जत, मर्यादा वा लाज बचाउन नसकेको परिघटनाका प्रमुख पात्र यही एमालेका अध्यक्ष केपी शर्मा ओली हुन् ।
लज्जाहीन राजनीतिको परिणाम सिलसिला रोकिएको छैन र शीघ्र रोकिने छाँट पनि देखिँदैन । नेपालको राजनीतिमा हुर्कँदै गरेको प्रवृत्तिमाथि टिप्पणी गर्न संस्कृतको एउटा भनाइ सन्तनेता कृष्णप्रसाद भट्टराई (किसुनजी) बारम्बार उद्धृत गर्नुहुन्थ्यो – ‘एकं लज्जां परित्यज्य सर्वत्र विजयी भवेत्’ ।
अर्थात्, लाज भन्ने एउटा कुरा त्यागिदिए सबैतिर विजयी होइने भावमा । एमाले अध्यक्ष ओली यही भावधारामा बगे । जननिर्वाचित सार्वभौम संसद् दुईदुई पटक विघटन गर्दिने धृष्टता नेपाली राजनीतिमा असीम लज्जाहीन प्रयास थियो । आफैँले प्रहार गरेर निस्तेज बनाएको तर न्यायालयले वैधानिक जीवन तेज दिएको संसद्मा प्रहारक यिनै ओलीले एक महिनापछि कटु शब्द वाण बर्साए । कतै लज्जाबोध थिएन, गल्ती महसुस गरेनन् । लाज हुँदो हो त एमाले अध्यक्ष ओलीले भन्नसक्नु पथ्र्यो– गल्ती भए छ, आत्मालोचित छु र आफैँले समाप्त गर्नखोजेको संसद् सामु बोल्दै छु । खोइ लाज ? मर्यादा ?
थपिदिए अदालतलाई गाली । दिए अरुलाई उपदेश । डा. बाबुराम भट्टराईले ठीकै भनेछन् ‘जो चोर उसैको ठूलो स्वर’ । एमाले नेता ओलीले त्यही संसद्मा बाँकी सबै औँला आफैँतिर फर्काएर चोर औँला अरुतिर उज्याएर प्रश्नैप्रश्नको वर्षा गरे । ती प्रश्नलाई दुईतिहाइको गद्दामा सिरानी हालेर तीन वर्ष मस्त मुद्रामा उनै ओलीले बिताएका थिए । खोइ लाज, मर्यादा ?
यस्तो लाजहीन राजनीतिको बाटो अब कोही कसैले कहिल्यै नहिडोस् । कामना गरौँ, लज्जाहीन राजनीतिको यात्रा कम्युनिस्ट नेता ओलीमै टुंगियोस्, अन्त्य होस् ।
अर्को उदाहरण, केही दिनअघिको प्रमुख प्रतिपक्ष र अहिले सरकारको नेतृत्व गर्नेे नेपाली कांग्रेसको । दलको महाधिवेशन गर्ने सबै वैधानिक समय सीमा नाघ्दै गरेको नेपाली कांग्रेस र नेतृत्वको यो कृत्य पनि लज्जाहीन राजनीतिकै परिणति होइन र ?
ऐतिहासिक दल कांग्रेस नै विघटन हुने अवस्था चिन्ताजनक लाज र मर्यादाको स्खलन नै त हो । पार्टी जीवनको लागि कुनै छिद्र उपायको तलास लज्जाहीन होइन र ?
कम्युनिस्ट माओवादी केन्द्रसँग लाज र मर्यादाको के बात मार्नु ? जुन दलले नैतिकता नंग्याउनुलाई नै राजनीति मान्यो । लाज, मर्यादा र नैतिकता अन्योन्याश्रित नै देखिन्छन् । माओवादी केन्द्रसँग त्यो नै थिएन, अब रहोस् । मधेसवादी भनिने तराई केन्द्रित दल त दल नै बनी सकेका छैनन् । अहिलेसम्म सत्ताको धुरीमा ती कहिले यता, कहिले उता फन्फनी घुमी रहेका छन् । अरुको के कुरा गर्नु व्यर्थ ।
समग्रमा नेपालका राजनीतिक दलहरुले सिद्धान्तको लाज, मर्यादा बचाएका छैनन् र देखिन्छ बचाउने ध्येय पनि यतिबेलासम्म राखेका छैनन् । भनिसकियो लज्जाहीन व्यवहारको संक्षिप्त उदाहरण माथि नै । पुनः कामना, लज्जाहीन राजनीतिको यात्रामा अब पूर्ण विराम लागोस् । यसका अग्रणी कम्युनिस्ट नेता ओलीमा नै यो प्रवृत्ति समाहित समाप्त होस् । बाँकी पनि उनै ओलीलाई मात्र लज्जाहीन राजनीति गर्ने आत्मस्वतन्त्रता प्राप्त होस् ।
राजनीतिमा लाज भनेको सिद्धान्तको मर्यादा हो । नागरिकप्रतिको दायित्व हो । तर, नेपाली राजनीतिले यो यात्राको गोरँेटोसम्म कोर्न नसकेको अहिलेको सत्य हो । हिजोको सोच र व्यवहार चाहिँ अहिलेको भन्दा विपरीत भए पनि । राजनीतिमा नसुध्रने पात्र पनि हुन्छन् । त्यस्ता पात्र आउँछन्, जान्छन् र आइ रहन्छन पनि । यति भनिसकेपछि अहिले त्यस्तापात्र चिनाउनै परेन, चिनारी भइसक्यो ।
नेपाली राजनीतिको लाज जोगाउन दुई तिहाइ, बहुमत, अल्पमतभन्दा गठबन्धन दलीय संस्कार, संस्कृति बसाल्नु बाध्यता हो ।
अपनाइएको मिश्रित निर्वाचन प्रक्रियाले काकतालीबाहेक बारम्बार दिने परिणाम गठबन्धनतिरै हुन सम्भव र सहज देखिन्छ ।
बहुध्रुवीय सिद्धान्तबीच मिश्रित व्यावहारिक दलीय गठबन्धन । तब प्रणालीको स्थायित्व, सरकारको आवधिक स्थिरता र विकासको अपेक्षाको मर्यादा रहनेछ ।
के नेपालका दलहरु यस्तो सुसंस्कार बसाउन सक्षम हुनेछन् ? प्रतीक्षा छ । बहुमतमा पनि, गठबन्धनमा पनि मर्यादित राजनीति ।
मर्यादाले नै लज्जाहीन राजनीतिमा विराम दिनेछ । अहिलेको गठबन्धनसँग यस्तो औसर छ । जति भयो लज्जाहीन राजनीति अब विराम लाग्नै पर्नेछ । लज्जाहीन नहुनु भनेको अति लज्जा होस् वा छोप्नै पर्नेमात्र वा छाडै हुने भनेको चाहिं होइन नि !