कोरोनाका कारण करिब १८ महिनादेखि देश सकसमा छ । विश्वभर फैलिएको संक्रमणबाट हाम्रो देश पनि जोगिन सकेन ।
कोरोना संक्रमण नियन्त्रणका विश्वमा र नेपालमा भएको तयारीको चर्चा यस लेखमा गर्ने जमर्को गरेको छु । महामारी कसैलाई भनेर आउँदैन र यस्ले सानो, ठूलो, धनी गरिब केही पनि छुट्याउँदैन । तर, सचेत भए यसको जोखिम भने कम गर्न सकिन्छ ।
विश्वका शक्तिशाली राष्ट्र अमेरिका, बेलायत, चीन, भारतजस्ता देशहरुलाई समेत कोरोना महामारीले आच्छु आच्छु बनाइरहेको छ । पर्याप्त तयारी र जिम्मेवारीका कारण पछिल्ला दिनमा भने यिनमा संक्रमण केही मत्थर भएको छ । हामीले भने अझै पनि कहर सहिरहेका छाैँ । अझै कतिपय क्षेत्रमा बन्दाबन्दीको मार सहिरहनु परेको छ ।
यो महामारी नियन्त्रणको अहिलेसम्म थाहा भएको प्रमुख उपाय खोप लगाउन मिल्ने जतिलाई खोप दिनु नै भएको देखिएको छ ।
विकसित देशहरुले व्यापकमात्रामा खोप दिएर महामारीलाई नियन्त्रणमा लिइरहेका छन् । तर हाम्रो देशले पर्याप्त मात्रामा खोप दिन नसक्दा कोरोना संक्रमण नियन्त्रण गर्न सकिएको छैन ।
खोपको उत्पादन गर्न नसके पनि पर्याप्त मात्रामा खोपको जोहो गरी न्यायोचित व्यवस्थापन र वितरण गर्न नसक्नु सरकारको कमजोरी हो । केही समयसम्म नेपाली जनता खोपप्रति आश्वस्त हुनसकेका पनि थिएनन । कतिपय त विकसित देशहरुले निर्माण गरेको खोपलाई नेपालमा परीक्षणमात्रै गरिरहेका हुन् भन्ने भ्रममा थिए । यो भ्रम लामो समयसम्म भने रहेन । अहिले नेपाली जनता खोपप्रति विश्वस्त त देखिएका छन् तर राज्यले पर्याप्त खोप उपलब्ध गराउन सकिरहेको छैन । भएको खोप पनि व्यवस्थित तरिकाले बाँड्न सकिरहेको छैन ।
हुनत, विकसित देशका पनि कतिपय नागरिकहरु खोप लाउन मानिरहेका छैनन् । तर, उनीहरुको स्वास्थ्यको राज्यले जिम्मेवारी लिन्छ । त्यसैले उनीहरुले खोपलाई प्राथमिकतामा नराखेको हुनसक्छ । राज्य भने रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु नै उचित ठानेर विभिन्न प्रलोभन दिएर पनि खोप लगाउन जनतालाई प्रोसाहित गरिरहेको छ । अमेरिकाले खोप लगाउने नागरिकलाई प्रोत्साहन स्वरुप नगद पुरस्कारको व्यवस्था गरेको छ भने हङकङले फ्ल्याटको चिठ्ठा योजना ल्याएको छ । हाम्रो देशमा भने बिहानदेखि बेलुकीसम्म लाममा बस्ता पनि अन्तिममा खोप नपाई फर्किनुपर्ने अवस्था छ ।
गरिब राष्ट्र हुनुमात्रै खोप उपलब्ध हुन नसक्नुको कारण होइन । नागरिकप्रतिको जवाफदेही र कुशल व्यवस्थापनको अभाव यसको प्रमुख कारण हो । यसको उदाहरण भुटान भएको छ । भुटानमा करिब आठ लाख जनसंख्या छ । त्यसमा करिब २ हजार ५०० जनालाई मात्र कोरोना संक्रमण भएको छ भने २ जनाले मात्र ज्यान गुमाएका छन् । हालसम्म २ पटकमात्र निषेधाज्ञा लगाइएको छ । भारतसँगको सीमा भने अहिलेसम्म बन्द छ । भुटान प्रवेश गर्नेले अनिवार्य २२ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम छ । खोप लगाउन मिल्ने उमेर समूहका ९५ प्रतिशतले खोप लगाइसकेका छन् भने खोप केन्द्रसम्म आउन नसक्नेका लागि घरघरमै खोप लगाउने व्यवस्था गरिएको छ । यसलाई पो भन्छन् – कुशल व्यवस्थापन ।
तर हाम्रोमा भने खोपमा पनि राजनीति र भ्रष्टाचार हुने गरेको छ । शासकका आसेपासे र राजनीतिक कार्यकर्ताको भाग पुगेपछि मात्र सर्वसाधारणको पालो आउँछ । खोप केन्द्रबाट खोप लुटेर लगी होटलमा बेचेको भेटिन्छ । सर्वसााधारणले पक्रेर बुझाउँदा उनीहरुलाई बचाउन पार्टीका नेता अगाडि सर्छन् । यसभन्दा विडम्बना के हुनसक्छ ?
राज्यले निषेधाज्ञाका नाममा जनतालाई कोठामा थुनेर देशको अर्थतन्त्रलाई थिलोथिलो पार्नुलाई पौरख ठानेको छ । यसरी जनतालाई घरभित्र थुन्दा देशको अर्थतन्त्र कति वर्ष पछि पर्छ भनेर सामान्य हेक्कासमेत राख्न सकेको देखिँदैन । जनतालाई निषेधाज्ञाका नाममा घरभित्र थुन्ने अनि जयजयकार गर्ने कार्यकर्ताको भिड अगाडिपछाडि लगाएर आफू लोकप्रिय भएको दम्भ पाल्ने सोचको सरकारको नेतृत्व थियो । तसर्थ जनताले खोप होइन सास्ती पाइरहेका हुन् ।
भर्खरै देशमा नयाँ सरकार बनेको छ । सरकारले पहिलो प्राथमिकता खोप रहेको बताएको छ । त्यसका केही लक्षणहरु पनि देखिँदैछ । आशा गरौँ, सरकारले खोपलाई पहिलो प्राथमिकतामा राखेर जनताको जिउधनको सुरक्षा गर्नेछ । वर्तमान सरकारले आजको पहिलो आवश्यकता जनताको स्वास्थ्य सुरक्षा हो भन्ने सम्झी काम गरेर खोप लगाउन मिल्ने योग्य नागरिकलाई पर्याप्त मात्रामा खोपको व्यवस्थापन गर्न सक्यो भने जनताले राज्य हाम्रा लागि हो भन्ने महसुस गर्नेछन् । सरकारको लोेकप्रियता यसै बढ्नेछ ।