‘‘अहिलेलाई भो प्रोपगण्डा गर्न पर्दैन
कोभिडको भ्याक्सिन दिए पुग्छ
समृद्धिको स्वैर कल्पना हैन
जनताको चुलो बले पुग्छ
अलिकति स्नेहले छोएर
च्यातिएको मन जोडिदिए पुग्छ ।”
नेपालको सामाजिक सेवाको क्षेत्रमा प्रसिद्धि एवम् प्रतिष्ठा आर्जन गरेकी एकजना ख्यातिप्राप्त व्यक्तिले हालै सामाजिक सञ्जालमा – “मलाई देउवा मनपर्छ“ भन्दै पोष्ट गरेकी एउटा सन्देशमूलक भिडियोक्लिप निकै चर्चामा रह्यो । त्यसैगरी पश्चिमतिरका एकजना सामान्य नेपालीले पनि देउवाको प्रशंसा गर्दैगरेको भिडियो क्लिप सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । यी दुवै भिडिओहरुमा सामान्यरुपमा हेर्दा व्यक्तिले आफ्नो भावना व्यक्त गरेको विषय व्यापक जनचासो या सरोकारको विषय नहुनु पर्ने हो । तर भयो ।
सरोकारको विषय हुनु र चर्चामा रहनुको कारण थियो प्रधानमन्त्रीको निजी खर्चमा उनकै निजी सचिवालले व्यक्तित्व निर्माणको लागि भनी ‘प्रोपगन्डा’ गर्ने तरिकाले सामाजिक सञ्जालको प्रयोग गरिनु । यो लेख यसै चर्चाको सेरोफेरोमा रहेर लेखिएको छ ।
साथै, किन राजनीतिक नेताहरु प्रसिद्धी कमाउन प्रोपगन्डाको सहारा लिन पुग्छन् भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास गरिएको छ ।
माथि भनिएका भिडियोक्लिपलाई दुईवटा कोणवाट हेर्दा महत्त्व राख्ने किसिमका छन् । झट्ट हेर्दा सामान्य लाग्ने यो प्रकरण सुविचारित, योजनाबद्ध र उद्धेश्यमूलक तरिकाले निर्माण गरी प्रचारप्रसार गराइएको देखिन्छ । यसमा रहेको महत्त्वपूर्ण तीन तत्त्वले प्रोपगन्डासम्बन्धी सिद्धान्त तथा व्यवहारले अंगीकार गरेको सैद्धान्तिक एवम् व्यावहारिक पक्षसँग तादात्म्य राख्छ ।
पहिलो, यो प्रतिष्ठित व्यक्तिको मुखबाट बोलाइएको छ । यसको अर्थ हो देउवाको व्यक्तित्वबाट नेपालका प्रतिष्ठित उच्च प्रभावशाली व्यक्तिहरु पनि प्रभावित छन् भन्ने देखाउनु । दोस्रो, साधारण किसानको मुखबाट व्यक्त विचारबाट सामान्य नेपालीले रुचाएका व्यक्ति वा नेता हुन् भन्ने सन्देश र तेस्रो सर्वसाधारण नागरिकहरुको धारणा आफूप्रति आकर्षित गरी सकारात्मक र सर्वस्वीकार्य व्यक्तित्वको निर्माणको लागि सामाजिक सञ्जालको प्रयोग ।
यसलाई जनसम्पर्कको विधि भन्दा पनि हुन्छ । जनसम्पर्कको विभिन्न विधि एवं माध्यमको प्रायः सबैले प्रयोग गरेका हुन्छन् ।
खासमा व्यक्तित्व, विचार, धारणा, उद्धेश्य, र कार्यक्रम प्रवर्धनका लागि ठूलो धनराशि खर्च गरिन्छ । कर्पोरेट अर्थात् व्यावसिक दुनियाँमा त यसको धेरै ठूलो महत्त्व रहेको छ ।
हामीले हेर्ने टेलिभिजनका पर्दामा देखिने विभिन्न प्रकारका विज्ञापन सामग्री र तिनमा प्रयोग भएका भाषा, संगीत तथा चित्र सबै जनसम्पर्क वा प्रोपगन्डाका हिस्सा हुन् । व्यावसायिक दुनियाँमा प्रोपगन्डा वस्तु तथा सेवा विक्रीका लागि गरिन्छ भने राजनीतिमा व्यक्तित्व र विचार सम्पे्रषण गर्दै जनाधार बनाउन प्रयोग गरिन्छ ।
जनसम्पर्क र प्रोपगन्डा सम्पूरकरुपमा प्रयोग गरिने गरिए पनि यिनीहरु दुईबीचको केही विषयमा तात्त्विक भिन्नता रहेकाछन् ।
जनसम्पर्कको माध्यम प्रयोग गर्दा मुख्य व्यक्ति वा संस्था र सर्वसाधारणबीचमा दोहरो संवादलाई महत्त्व दिइन्छ । साथै विषयवस्तुको सत्य, तथ्य, र तथ्यांकलाई यथारुपमा आकर्षकढंगले प्रस्तुत गरिन्छ । तर, प्रोपगन्डाको माध्यमबाट जनसमर्थन आर्जन गर्न चाहनेहरुले भने अर्धसत्यमात्र राख्छन् । साथै, तथ्य र तथ्यांकलाई आफ्नो किसिमले तोडमरोड गरेर प्रस्तुत गर्छन् ।
प्रोपगन्डा एउटा राजनीतिक अस्त्र हो । राजनीतिक विचारधारालाई संस्लेषण गरी, प्रचार गरेर वैचारिक धारणा निर्माण गर्नु यसको प्राथमिक उद्देश्य हो ।
साथै, समर्थकहरुको आधार तयार गरी सर्वसाधारण नागरिकको भावना आफूप्रति आकर्षित गरेर विरोधी र शत्रु पक्षलाई परास्त गर्ने ध्येयसहितको नीति अख्तियार गरिएको हुन्छ यसमा । प्रायः अधिनायकवादी चरित्र भएका शासन व्यवस्था र शासक भएका मुलुकमा अथवा युद्धको समयमा शत्रुपक्षको ज्यादती, उपद्रव, दुष्कर्म, र दुर्नियतहरुविरुद्ध आफ्नो पक्षमा जनमत तयारीको लागि विशेष प्रोपगन्डा संयन्त्रको निर्माण गरेर शत्रुपक्षको मानमर्दन गर्न नियोजित किसिमले प्रचारप्रसार गरिएको हुन्छ ।
मन पर्नेहरुको देवत्वकरण र विरोधीहरुको दानवीकरण गर्न पनि जनसञ्चारका माध्यमलाई सक्रियरुपमा प्रयोग गरिएको हुन्छ ।
लोकतान्त्रिक मुलुकहरुमा भने ‘जनसम्पर्क’को माध्यमलाई प्राथमिकता दिइन्छ । जनसम्पर्कको माध्यमबाट राजनीतिक दलको सैद्धान्तिक अवधारणा, उद्देश्य, नीति तथा कार्यक्रमहरु सञ्चार एवं सम्प्रेषण गर्दै जनसमक्ष लगिन्छ । साथै नेताको व्यक्तित्व निर्माणको लागि दलको आफ्नै संयन्त्र, कार्यकर्ता र मिडिया प्रयोग गरिन्छ ।
नेपालको सत्ताबाट भर्खरै बहिर्गमनमा परेका केपी ओलीको सरकारले अधिनायकवादी शैलीमा कानुनी प्रावधानमा संशोधन गरी जनसञ्चारका माध्यममाथि नियन्त्रण गर्न गरेको प्रयास, ‘हनुमानदस्ता’ र ‘अरिङ्गाल’ समूहको निर्माणलगायत पोलपोलमा तस्बिर टाँगेर राजामहाराजाको शैलीमा गरिएको प्रचारबाट वाक्क र दिक्क भएका थिए ।
तिनै जनसाधारण ओली सरकारको बहिर्गमनबाट भर्खरै शान्तिको सास फेर्दै गर्दा उस्तै आचरण र आवरणको नक्कल गरेर नयाँ सरकार प्रमुखबाट पनि पुरानै ढर्रा पछ्याउँदै आफ्नो प्रतिष्ठा वृद्धिको लागि गरिएको प्रोपगन्डा शैलीको प्रचारलाई पचाउन सकिरहेका छैनन् ।
प्रधानमन्त्री देउवाको निजी सचिवालयबाट भिडियो निर्माण गरी सामाजिक सञ्जालमार्फत प्रचार गरिएको स्वीकारिएको छ ।
धुमिल भएको देउवाको छविलाई चम्काउने उद्देश्यले गरिएको उक्त प्रचारवाजीप्रति उनैको दलभित्रका आफ्नै सहकर्मी तथा शुभेच्छुकलेसमेत सार्वजनिक असहमति जनाएका छन् । व्यक्तित्व प्रवद्र्धन गरी समर्थकहरुको बलियो जनाधार निर्माणको लागि यस किसिमको प्रयास सामान्य नै भए पनि समय सन्दर्भ, परिस्थिति, अनुकूलता र आवश्यकतासहितको रणनीतिक चातुर्य नहुँदा यो अभ्यास ढंग नपुगेको चित्रकारले कोरेको बेढंगी चित्रजस्तो देखिन गयो ।
गोएबल्स शैलीको प्रचारवाजीमा सिद्धहस्त नेपालका कम्युनिस्ट दलहरुको प्रचार अभ्यासलाई नेपाली कांग्रेसले अंगीकार गर्नु रणनीतिकरुपमा कमजोर देखिनु पनि हो । लोकतन्त्रमा विश्वास राख्ने जनमत थोरै समयको लागि दुष्प्रचारबाट प्रभावित भए पनि कालान्तरमा त्यसप्रति आकर्षित हुँदैन । अतः यस्तो जनतामा हाधारित (मास बेस्ड) पार्टीले सत्य र निष्ठाको राजनीतिबाट भ्रमित हुनुहुँदैन थियो ।
कुनै एउटा निर्वाचनमा हार भएकै कारण पार्टीका पक्षमा जनमत छैन भन्ने धारणा बनाउनु पनि ठीक होइन । शीर्ष नेतृत्वको व्यक्तित्व वा आकर्षण स्खलित हुँदै गएको छ र नेतृत्व परिवर्तन पनि भएको छैन भने जनताले विश्वास कायम राख्ने आधार गुमाउँछन् । यसतर्फ भने ध्यान दिनु आवश्यक छ ।
भर्खर सरकारको नेतृत्व गरेको र मन्त्रिपरिषदलाई पूर्णतासमेत दिन नसकेको अवस्था एकातिर छ भने कोरोना कहरबाट आक्रान्त र महामारीको पीडाले छटपटाइरहेका जनताको सरकारप्रतिको आशा एवं आकांक्षा चुलिँदो छ । एकपछि अर्को सरकार असफल हुँदैगएको देखेका नेपाली जनताले “जुन जोगी आए पनि कानै चिरेको” भन्ने अवस्था नआओस् भन्ने कामना गर्नुसिवाय अहिले जनतासँग अर्को उपाय छैन ।
राजनीति नेताहरुले मुलुक र मुलुकवासीको समृद्धिको सपना देख्नु ठीकै हो । तर, सपना ‘सोम शर्मा कथा यथा’ प्रवृत्तिको पनि हुनु त भएन नि !
सरकार कथा वाचकभन्दा कर्मवीर आएको हेर्न चाहन्छन् नेपाली जनता । धेरै हाँसियो, सरकार प्रमुखको प्रहसन कलाको तारिफ पनि गरियो । राष्ट्रियताको रेल चढेर उत्तरदक्षिण, पूर्वपश्चिम हुँदै नेपालको भूगोललाई मनमस्तिष्कमा नै राखियो । भो, अब सपनाबाट ब्युँझिऊँ र विपनाको यात्रा गरौँ ।
नयाँ सरकारबाट जनताले के अपेक्षा राखेका छन् ? त्यही पुरानै शैलीको गफका गन्थन त पक्कै होइन । ‘अहम् ब्रह्मास्मि’ म नै सबै जान्ने भन्ने अहंकार प्रदर्शन पनि पक्कै होइन होला । धेरै त नेपालीले मागेकै छैनन् ।
हाम्रो स्वाभिमान बचाई देऊ भनेका न हुन् । बिग्रेभत्केका पुलपुलेसा बनाइदेऊ, भत्किएको सरकारी संयन्त्रलाई मर्मत गरेर दुरुस्त गर, लिकबाट बाहिर जानलागेको संविधानलाई लिकमा हिँडाऊ । यही न भनेका हुन् । कर्मकाण्डी भन्दा सहृदयी भइदेऊ, नाङ्गो आङ, भोको पेट, प्राकृतिक विपदले बेघरबार भएकालाई ओत र छानो यति न भनेका हुन् । दरबार मागेका त छैनन् । महामारीको चपेटामा परेका जनताले यसबाट त्राण खोजेका न हुन् । जिजीविषा न जनअपेक्षा हो बाँच्ने आधारसम्मको ।
जनताका यिनै पीडा सम्बोधन गर्न आधारभूत विषयमा सरकारले प्राथमिकता देओस् भन्ने चाहना हो । हिजोको सरकार हिँडेकै बाटोमा उसैको नक्कल गरेर पोलपोलमा तस्बिर राख्दै, सामाजिक सञ्जालमा साइबर सेनाबाट महिमा गान गर्न लगाउँदै र विपक्षीको मानमर्दन गर्दै हिँड्ने हो भने वा आफूलाई निर्विकल्प नेताको रुपमा प्रस्तुत गर्दै ओलीकै झल्को दिने गरी आफ्नो झुन्डहरुको “दाइ’ अथवा ‘काका’ बन्ने मेसो गर्ने हो भने वा ‘मलाई देउवा मनपर्छ“’ भन्दै स्तुति गान गराउनैमा रमाउने भने जति नै प्रोपगण्डा मेसिन चलाए पनि इन्जिन चल्दैन ।
जनताले चाहेर नै पाँचपाँचपटक प्रधानमन्त्री भएको मान्छेलाई फेरि ‘मलाई देउवा मनपर्छ‘ भन्ने प्रचार अभियान चलाउनै किन पर्यो ? यसतर्फ पो सोच्ने हो कि ?
पार्टी महाधिवेशनको तयारी चलिरहेको समयमा आएर मुलुकको कार्यकारी प्रमुख र दलको सभापतिसमेत भएको व्यक्तिबाट अपनाइएको यस किसिमको प्रचार शैलीलाई लिएर नेपाली कांग्रेसभित्रैका अरु नेताहरु पनि झस्किएका छन् ।
कांग्रेसको वर्तमान दुर्दशाका लागि सभापतिलाई जिम्मेवार मान्दै आएका केही नेता दलको नेतृत्व परिवर्तनको पक्षमा झिनो नै भए पनि आवाज उठाइरहेको अवस्थामा नेतृत्वमा पुनः पुरानै अनुहारको बाहुल्य हुने हो कि भन्ने चिन्तामा परेको भान हुन्छ ।
वैयक्तिक स्वभावजन्य गुण अवगुणको मात्रा केही तलमाथि मानवीय विशेषता हो । कोही पनि सर्वगुण सम्पन्न हुँदैन । यसबाट कांग्रेस सभापति पनि अपवाद हुने कुरै भएन ।
व्यक्तिगत सम्बन्धमा खरो स्वभावका देखिए पनि, व्यवहारमा केही कठोर देखिए पनि राजनीतिक संकटको अवस्थामा व्यवस्थापकीय दक्षता देखाउँदै उनले नेतृत्व दिएका छन् । आफ्नै दलको पूर्णबहुमत सहितको सुबिस्ताको सरकार चलाउने अवसर बिरलै रह्यो यिनका लागि । संयुक्त सरकार सञ्चालनमा भने विशिष्टता नै हासिल गरेका छन् ।
उनका बानीबेहोरालाई लिएर विरोधी पक्षले जति नै उछित्तो काटे पनि सरल स्वभावका भएको हुँदा देउवा छलछामको राजनीतिभन्दा व्यवहारलाई प्राथमिकता दिन्छन् ।
मुलुकलाई दृढतापूर्वक स्पष्ट दिशानिर्देश गरी सफल राजनेताको रुपमा मुलुकलाई समृद्धिको यात्रामा लिएर जाने राजनेताको रुपमा दरिन नसके पनि राजनीतिक जटिलताको समाधानमा उनले योगदान गरेका छन् । त्यसैले विरोधीहरुको पनि विश्वास जित्न सफल भएका छन् । तर अब जनसाधारणको मन जित्न आवश्यक छ ।
वर्तमान अवस्थामा संविधान नै संकटमा परेको र २०६२/६३ को जनआन्दोलनले निश्चित गरेको राजनीतिक उपलब्धि संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशितामात्र होइन र लोकतन्त्र नै धरापमा पर्न लागेको छ ।
यस्तो समयमा यसको संरक्षण गर्दै जनतालाई कोभिड महामारीको संत्रासबाट मुक्त गरेर काम गरी खान पाउने वातावरण मात्र बनाइदिए रणनीतिकरुपमा तयार पारिएको भिडियो सन्देश सामाजिक सञ्जालवाट प्रचार गरेर व्यक्तित्व प्रवर्धन गर्न आवश्यक पर्दैन । जनताले यसै जयजयकार गर्नेछन् ।