काठमाडौं । चाङ्गन अटो ग्रुपले नेपाली बजारमा आउने घोषणा गरेको छ । नेपालस्थित एमएडब्लु वृद्धि अटोकर्पसँगको व्यापारिक साझेदारीमा चिनियाँ कम्पनीले नेपालमा आफ्नो उत्पादन विक्री वितरण गर्न लागेको हो ।
सन् २०२१ मा चाङ्गन ब्रान्डका प्यासेन्जर गाडीहरू चीनमा सबैभन्दा बढी विक्री भएका थिए । सन् २०२० मा यस ब्रान्डबा २० लाख वटा गाडीहरू विश्वका ६० मुलुकमा विक्री भएको जनाइएको छ । चीनमा विक्री र त्यहाँबाट निर्यात हुने अधिकांश फोर्ड र माज्दा गाडीहरू चाङ्गन अटो ग्रुपले उत्पादन गर्ने जनाइएको छ ।
एमएडब्लु स्कोडा, जिप, जेसीबी, यामाहा, फोटोन र एमएएन जस्ता अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डहरूको नेपालस्थित एक मात्र आधिकारिक विक्रेता हो । यो अटोमोबाइल क्षेत्रमा काम गर्ने देशकै दोश्रो ठुलो कम्पनी रहेको पनि जनाइएको छ ।
सेडान, पिकअप, एसयुभी र ईभीको साथसाथै अवार्ड विनिङ युनिआई श्रेणीका ब्राण्डहरु उत्पादनकर्ता चाङ्गनले नेपाली बजारमा आफ्नो बेग्लै छवि बनाउने एमएडब्लुका अध्यक्ष विष्णु अग्रवालले बताए ।