नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विवाद अहिले सर्वाधिक चर्चाको विषय बनेकाे छ । एमालेमा माधव नेपाल र केपी ओलीबीच पार्टी नेतृत्वको लडाइँ पुरानो नै थियो । नेपाल पक्ष कमजोर हुनाले एमालेमा ओलीकै एकलौटी चलेको देखिन्थ्यो र एक किसिमले एकता पनि । तर, एमालेभित्रका दुई पक्षको द्वन्द्व भने भुसको आगोजस्तो भित्रभित्र सल्किरहेको रहेछ ।
खड्गप्रसाद ओली र पुष्पकमल दाहाल दुवै महत्त्वाकांक्षी र सिद्धान्तभन्दा आफूलाई केन्द्रमा राखेर अगाडि बढ्ने व्यक्ति हुन् । थुप्रै चुनावकाे अंकगणित हिसाबकिताब गरेपछि कम्युनिस्टहरू एक भएर चुनावमा जाँदा स्पष्ट बहुमतको सरकार बनाउन सकिने उनीहरूले आकलन गरे । एक्लै जाँदा माओवादीको त चुनावपछि अस्तित्वकै संकट देखिन्थ्यो ।
यही लाभकाे हिसाब र महत्त्वाकांक्षाले वैचारिक र वैयक्तिक प्रतिस्पर्धीलाई एकै ठाँउमा उभ्यायो । अन्ततः पार्टीको नीति, विधान, सिद्धान्त सबै थाती राखेर ओली र दाहालको चुनावी गठबन्धन भयो । चुनावको सफलताबाट हौसिएर पार्टी एकताको घोषणा पनि गरे ।
एकता त गरे तर सैद्धान्तिकरूपमा न त माओवादीका सबै नेताले स्वीकार गरेका थिए न त माधव नेपाल पक्षले । ओलीको हेपाइबाट मुक्तिको आशामा नेपाल पक्षले भने स्वीकार गरे । यसरी हेर्दा नेपाल, ओली र दाहाल तीनै थरीले एकतालाई पार्टीमा वर्चस्व कायम गर्ने रणनीतिको रूपमा एकतालाई लिएको देखिन्थ्यो ।
एकतापछि दुवै पक्षका कार्यकर्ता पार्टी सत्तामा जाने र ‘राज’ गर्न पाउने लोभले उत्साहित थिए । जनतामा कम्युनिस्ट सरकार बनेमा जीवनस्तरमा परिवर्तन हुने अपेक्षा देखिन्थ्यो । त्यसैले एमाले- माओवादी गठबन्धनले सोचेभन्दा धेरै बढी जित हासिल गरेको थियो ।
ओली र दाहाल भने प्रजातन्त्र, संघीयता र नयाँ संविधानलाई संस्थागत गर्नेभन्दा पनि नेकपाको रूपमा खडा भएको पाटीलाई आफू कब्जा गर्ने र एक अर्कोलाई किनारा लगाउने योजनामा थिए । एमालेमा ओलीको हेपाइ खेपेका माधव पक्ष दाहाललाई प्रयोग गर्ने र पार्टीमा ओलीलाई तर्साउने खेललाई अगाडि बढाउँदै दाहालसँग नजिकिए ।
ओलीको हैकमबाट निराश दाहाललाई नेकपा कब्जा गर्ने रणनीतिमा नेपाल पक्षको सहयोगले उत्साहित बनायो । फलस्वरूप, आरोपप्रत्यारोप पत्रको शृंखलाबीच दाहाल नेपाल पक्षले ओलीलाई साधारण सदस्यताबाट समेत निष्कासन गरे । यो घटना दाहालको पाटी कब्जा गर्ने योजनाको अन्तिम अस्त्र थियो । प्रतिनिधि सभा विघटन गर्ने निर्यण बदर भएपछि पार्टीभित्रै अल्पमतमा परेका ओलीलाई एमाले र माओवादीको अस्तित्व बिउँताउने सर्वोच्च अदालतको फैसलाले प्राण दियो । नत्र, ओली पक्ष आज कि त नेपाल- दाहालको हेपाइ सहेर पार्टीमा बस्नुपर्थ्यो नभए सूर्य चिह्न विना अर्को पार्टी खोलेर निस्कनुपर्ने थियो ।
यसरी हेर्दा दाहालको बुइमा नेपाल पक्षले जितको उल्लास मनाइरहेको देखिन्छ तर यो यथार्थमा नेपाल पक्षको मीठो सपनाजस्तै हो । दाहालले अहिले जसरी फकाई रहेकाछन् उनको स्वार्थ पूरा भएपछि त्यसरी नै मिल्काउने निश्चितै छ । दाहालसँग पनि नेपाल पक्ष कालान्तरमा हेपाइ सहेरै बस्नुपर्ने देखिन्छ ।
यसैले एमाले अब एक हुन सक्ने देखिँदैन । नेपाल पक्षसँग कानुनी तबरबाट पार्टी छुट्याउन पाउने अवस्था हुन्थ्यो भने एमाले दुई भइसक्ने थियो । तर, संसद पदकै कारण नेपाल पक्षले कानुनीरूपमा पार्टी फुटाउन सक्ने देखिँदैन । जिल्लादेखि स्थानीय सबै तहमा नेपाल पक्षले समानान्तर कमिटी बनाइसकेकाे छ र चुनावभन्दा ६ महिना अगाडि पार्टी फुटेको घोषणा हुनसक्छ ।
एमालेको दुवै पक्ष एकले अर्कोलाई स्वीकार गर्ने अवस्था देखिँदैन । यद्यपि, ओली पक्ष एकताको नाटक गर्दै नेपाल समूहका नेता तथा कार्यकर्ता फकाउन लागेकाे भने नेपाल पक्ष पनि एकता भन्दै समानान्तर संगठन बनाउने, ओली पक्षका नेतालाई सत्ताको लोभमा आफ्नो पक्षमा ल्याउने प्रयास गर्ने खेलमा रहेको देखिन्छ । नेपाल पक्ष मूलतः सांसद पद जोगाउन पनि तत्काल नयाँ पाटी घोषणा गर्नसक्ने अवस्था देखिँदैन ।
एमालेभित्र नेताहरूबीचको कुण्ठा, अहंकार र इखको कारण एमाले एक हुनसक्ने आधार सकिएकाे देखिन्छ । अहिले दुवै पक्षले फुटपछिको मार्गचित्रको तयारी गर्दैछन् र उपयुक्त समयको खोजी गरिरहेकाछन् । सम्भवतः अहिले देखिएको एमाले एकताको नाटकको छिटै पटाक्षेप हुनेछ ।