नेपाली कांग्रेसको महाधिवेशन केमा अड्कियो ? कांग्रेसको १४ औं महाधिवेशनको घोषित उद्घाटन मिति आउन अब २५ दिनमात्र बाँकी छ । विधान, संविधानले दिएको सबै समय भोग गरेर अन्तिम डिलसम्म धकेलिएको महाधिवेशन अब सार्ने सुविधा छैन । कुनै छिद्र र ‘अनहोनी’ उपायको सहारामा महाधिवेशन सारियो भने नेतृत्वको क्षमता मान्ने कि के ?
कांग्रेसजस्तो ऐतिहासिक पार्टीको यो दुर्दशा देख्नेलाई समेत लाज भएको छ । कुन्नि नेतृत्वतहले निर्वस्त्र लज्जामा कस्तो परम पदानन्द लिइरहेको छ ? कांग्रेसको यात्रा आर्यघाटतिर हो कि ? कतै प्राणेश्वर भेटिन्छ वा अब अझै केही महिना वा वर्ष ‘भेन्टिलेटर’मा सुताइन्छ ? कसैलाई थाहा छैन । किनभने कांग्रेस नेतृत्वतह नै निरुत्तरित अनभिज्ञ सुनिन्छ र आआफ्नै पदाशक्तिमा कांग्रेसलाई घिटीघिटीमा पुर्याइएको छ ।
पच्चीस दिन बाँकी रहँदा प्रारम्भको खुड्किलो सक्रिय सदस्यता निक्र्योल भएको छैन । जिम्मा शीर्ष मानिने तीन नेताकै काखमा गएको छ । यिनले जिम्मा पहिले नै पूरा गरेको भए कांग्रेसले इतिहासमा यस्तो अध्याँरो दिन देख्नुपथ्र्यो र ? तर यो अध्याँरो यात्राको मुख्यतः जिम्मा सभापति शेरबहादुर देउवाकै हुन्छ । अरुले पन्छने शब्द होलान्, सभापतिसँग छैन ।
फेरि भनौँ नेतृत्वतहको आन्नन्द के हो ? सात दशकभन्दा लामो ऐतिहासिक प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसलाई डिलपछि भिरालो गर्तको अँध्यारोतिर अर्थात् उज्यालो इतिहासबाट कालो अन्धकार आशंकामा पुर्याएर नेतृत्वतहले कस्तो गौरव वा आफ्नो उपादेयता देखेको होला ? पदभोक्ताहरुले नै जानून् ।
अड्किएको महाधिवेशन प्रतिबद्धताअनुसार नहुने नै भयो भन्न अझै दिन केही बाँकी छ । नेतृत्वको इमान र भरोसामा आशा बाँकी छ । तर, दिनदिनै यति दिनभित्र सक्रिय सदस्यताको विवाद टुङ्याउने खबर आइरहेछन् । यी पंक्ति लेख्दा आजबाट तीन दिने म्यादमा शीर्ष नेता समहम भए रे । कुन्नि यी तीन दिनमा समाधान आउने वा अड्किएको खबर नै बाहिरिने हो ?
सतहमा सुन्दा महाधिवेशन संरचनाको पहिलो खुड्कििलो सक्रिय सदस्यतामा नै अड्कियो रे । सत्य यतिमात्रै होला ? नेतृत्वको इच्छाशक्ति, पदाशक्ति वा इमान र नियत, नियतिमा पनि कतै गाँठो परेको हो कि ? जे होस्, अब हतारको लतपतमा घोषित मितिले उद्घाटन पायो भने नि इतिहासमा लागेको दाग मेटिनेछैन ।
भनेको मितिमा सदस्यता विवाद टुंग्याएर घोषित महाधिवेशन भएन भने नेतृत्वतह वा जिम्मा पाएको शीर्ष तीन नेताले थप असफलताको भारी बोक्नुपर्ने भयो । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला । त्रयको काखमा जिम्मा । अड्की रहे, यिनले पार्टीको, नेतृत्वको वा स्वयंको सान्दर्भिकतामा स्वयं सिर्जित प्रश्नको घेरामा उभिने दःुखद वर्तमान बनाएको मानिने छ । त्यसबाट जोगिने अवसर थोरै भए पनि सकिइसकेको भने छैन । सजग भए हुन्छ ।
फेरि भनौ नेतृत्वको परमानन्द के हो ? अड्काउनुमा कि, सुल्झाउनुमा ? उनीहरुको आनन्द उनीहरु नै जानून् तर कार्यकर्ताको छटपटी, भविष्य बोल्ने वर्तमानको अँध्यारो र इतिहासको घिटिघिटीप्रति जिम्मेवार को ? चिन्तित को ? ओहो, कांग्रेसको दिशाहीन दुर्दशा !
सौभाग्य, नेपाली कांग्रेस सरकारी सत्ताको नेतृत्वमा पनि पुगेको छ । स्वयं सभापति देउवा प्रधानमन्त्री यो ‘सौभाग्य’ले देश, जनता र स्वयं कांग्रेसको सौभाग्य ल्याओस् । बहुल दलीय सद्भाव मौलाओस् । दुर्भाग्य नबनाइयोस् । सौभाग्य नै होस् र संविधान उज्यालिओस् । विधिको बाटो फराकिलो बनोस् र लोकतन्त्रको जराले नउखेलिने गरी मुलुकको माटो समाओस् ।
नेपाली काँग्रेसको गतिमतिप्रति चिन्ता, चासो कार्यकर्ता, शुभेच्छुक र राजनीतिक चिन्तकमा मात्रै सीमित छैन, चेतनाको सीमा समग्रतामा छ । कारण, कांग्रेससँग उज्यालो इतिहास छ, लोकतन्त्रप्रतिको प्रतिबद्धता छ र विवेक स्वतन्त्रताको सम्मानमा देश, जनता सन्निहित छ । यही सैद्धान्तिक धरातलको कारण कांग्रेसप्रति चासो छ । कतै खुच्चिङगर्ने धारे हात होलान् पनि । तर, कांग्रेस नेतृत्वको सैद्धान्तिक चिन्तन व्यावहारिक अभिव्यक्तिमा कसरी अनूदित हुने हो ?
इतिहास निर्माण त हुन्छ नै सुखद वा दुःखद, उज्यालो वा अँध्यारो । दायित्व बढी नेतृत्वमा नै हुन्छ, त्यसैले नेता चाहिएको हो नीति मानिएको हो । नीतिले नेता बनाउँछ, नेताले नीतिमा प्रभाव पुर्याउँछ । प्रश्न कस्तो भन्नेमात्र रहन्छ । तर, इतिहास बनाउने घडी सधैँ आउँदैन, पाइँदैन । कहिले काहीँ दुर्लभजस्तै टप्किन्छ ऐतिहासिक घडी । कांग्रेसले अहिले पनि आफूलाई यतै कतै भेट्नु पर्ने हो । केही पर्खौँ, हेरौँ ।
इमानमा मानिसले के शंका गर्नू ? त्यो मिल्छ नै भन्नेछैन, आशंकामै असत्य पनि हुन्छ । तर, समयले प्रमाणित गर्ने चाहिँ अकाट्य प्रमाण बन्छ । चासोमा विश्वास बोल्न खोज्दा कांग्रेसले जे होस् अन्ततः घोषित २०७८ भदौ १६ मा महाधिवेशन उद्घाटनको ताली देशभर गुञ्जित गर्ने नै छ । यसपछिका साता दिनभित्र नयाँ नेतृत्वको निर्वाचनसमेत कांग्रेस नयाँ जोसमा ब्युँझिनेछ । के यस्तो विश्वास गलत हो ?
अब पनि महाधिवेशन टार्ने, सार्ने कुनै छुद्र, छिद्र बहाना खोज्नुले पद धारित जीर्ण वस्त्रमा सौन्दर्य थप्नेछ र ? कोरोना, वर्षालाई इज्जतको खोल बनाउन खोजियो भने त्यसले कांग्रेसको इतिहासलाई देदीप्यमान बनाउँछ र ? मुख छोपेर रुनेहरुलाई रुवाउने छ, अनुहार छोपेर खित्का लुकाउनेहरुलाई मज्जा हाँसो दिनेछ । यस्तो दोसाँधमा किन पुर्याइयो कांग्रेसलाई ?
सच्चाइ त कांग्रेस बुझ्नेहरु सबैमा अहिले आशंका सुनिन्छ । जिल्लादेखि सम्पर्क आउने सबैले प्रश्न हामीजस्ता अदनालाई पनि गर्छन् के भदौमा महाधिवेशन हुन्छ त ? के उत्तर दिनु, के विश्वास बाँड्नु ? खासगरी कांग्रेस कार्यकर्ता वा आफ्नो तहका नेता नै प्रश्न गर्छन् । कोही त भविष्य वक्ताजस्तै सम्मान दिएर पत्रकारलाई थाहा होला नि भन्छन् विचरा ! हे नेता हो, के भन्दिने यी सोध्नेलाई ? फरक धारका त अलि मुख बँग्याएर खिस्याउने गरी पनि सोध्छन् ।
अहिले हामीले सोध्ने प्रश्नको ठेट उत्तर छैन । आशा र विश्वासको बोलीमात्र छ । त्यो सत्य नै हो भन्नसक्नु छ्रैन । नेपाली कांग्रेसको नेतृत्व वा दिशा र दशाले गहिरो भुमरीबाट अहिले पार पाओस् । यसको काँधमा देशको भारी आएको छ, पार्टीको भविष्य काखमा छ । अबको भदौपछि १५ औं महाधिवेशनको उज्यालो यात्रा तय होस् । अहिलेलाई शुभेच्छुक शुभकामना ! चेतना भए होइन नेतृत्वमा जाग्रत चेतना घनीभूत नै छ ।