site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आवेदन र ट्रायलमा सरकारले ढिलो गरे आफैं अनुमति दिने विभागको तयारी 

काठमाडौं । सरकारले सवारी चालक अनुमति पत्रको नयाँ आवेदन र परीक्षा सञ्चालन गर्न विभागलाई अनुमति नदिँदा विभागले आफैं अनुमति दिने तयारी थालेको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र जिल्ला प्रशासनको निर्णय पर्खंदा अन्योल बढेको भन्दै आफैं लाइसेन्सको नयाँ आवेदन र रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी गरेको विभागले जनाएको हो । 

विभागका महानिर्देशक नमराज घिमिरेले साउन अन्तिमदेखि नयाँ आवेदन, लिखित र ट्रायल परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । ‘‘सरकारको निर्णय कुर्दै आएका छौँ । अब करिब १५–२० दिन अझै सरकारकै निर्णय कुर्छौं । त्यसपछि पनि सरकारबाट अनुमति नआए विभागले अनुमति दिइ रोकिएका ट्रायलको परीक्षा, नयाँ आवेदन सञ्चालन गर्छ,” महानिर्देशक घिमिरेले भने, ‘‘त्यतिञ्जेलसम्म केही अनुमति नआए विभागले अनुमति दिनेछ । नयाँ नियम कार्यान्वयनका लागि साउन २६–२७ गते देशभरका यातायात कार्यालय प्रमुखलाई काठमाडौं बोलाएका छौँ । नयाँ ट्रायल र लिखित परीक्षाको निर्देशिका अनुसार परीक्षा सञ्चालन गर्न सुझाव दिइनेछ । नयाँ नियम लागु गर्ने परामर्श गरेर यातायात व्यवस्था विभागका सबै कार्यालयहरु तयार भइसकेपछि विभागले सूचना जारी गरेर अनुमति दिनेछ ।”
 
दोस्रो लहरको कोरोना महामारीको चेन ब्रेक गर्न भन्दै सरकारले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो । अहिले चरणवद्ध निषेधाज्ञा खुकुलो हुँदै आएको छ । सबै किसिमका सार्वजनिक सवारी साधन पनि सञ्चालनमा आइसकेका छन् । त्रिभुवन विश्व विद्यालय अन्तर्गतका परीक्षाहरु पनि सञ्चालनमा भइरहेका छन् । तर विद्यालय, सवारी चालक अनुमतिपत्र, सिनेमा हल, जिमखाना, मठमन्दिर खोल्न लगाइएको रोक जारी छ । वैशाख १६ गतेदेखि नै नयाँ लाइसेन्सको आवेदन बन्द गरिएको थियो ।
 
महानिर्देशक घिमिरेका अनुसार अहिले सवारी लाइसेन्सको नयाँ आवेदन र परीक्षाहरु रोकिएको करिब ४ महिना भएको छ । ‘‘पहिले नै ट्रायल परीक्षाका लागि आवेदन दिएका करिब ६ लाख परिक्षार्थीहरु लिखित र ट्रायल परीक्षाको पर्खाइमा छन् । निषेधाज्ञाका कारण देशभरका यातायात व्यवस्था विभागका कार्यालयहरुबाट सेवाग्राही बञ्चित भएका छन्,” महानिर्देशक घिमिरेले भने, ‘‘सरकारको संशोधन गरेको नयाँ नियम बमोजिम साउन १ गतेदेखि परीक्षा सञ्चालन गर्ने भनेका थियौँ, उक्त नयाँ नियम पनि सञ्चालन हुन सकेन । अब यो नियम पनि साउन अन्तिमबाटै सञ्चालनमा ल्याउने तयारी गरिहेका छौँ ।”

नयाँ नियम लागु गर्न सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि–२०७७ संशोधान गरिएको छ । नयाँ नियमका लागि विभागले ५०० ओटा प्रश्नहरु वेबसाइटमा राखेको छ । उक्त प्रश्नहरुबाट २०–२० ओटा प्रश्न परीक्षामा सोधिनेछन् । एउटा प्रश्न मिलाए बापत ५ नम्बर दिइनेछ । नयाँ नियम अनुसार लिखित परीक्षामा ८० र ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने व्यवस्था गरिएको छ । पुरानो नियममा लिखित परीक्षामा ५० र ट्रायल परीक्षामा १०० अंक ल्याउनु पथ्र्यो । 

अनलाइन आवेदन भरी लिखित परीक्षा नदिएका आवेदकलाई नयाँ नियम 
महानिर्देशक घिमिरेका अनुसार पहिला सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन दिनेहरुले पनि नयाँ नियम अनुसार परीक्षा दिन पाउँनेछन् । ‘‘अनलाइन आवेदन भरिसकेका तर लिखित परीक्षा नदिएका आवेदकले नयाँ नियम अनुसार लिखित र ट्रायल परीक्षा दिन पाउँनेछन,” उनले भने ।
 
लिखित परीक्षा दिई ट्रायल दिने आवेदकलाई पुरानै नियम 

महानिर्देशक घिमिरेका अनुसार लिखित परीक्षा दिइसेकाहरुलाई पुरानै नियम अनुसार परीक्षा लिइनेछ । ‘‘लिखित परीक्षा दिइसकेका आवेदकलाई दुई–दुई ओटा परीक्षा लिन मिल्दैन । त्यसैले लिखित परीक्षा दिएका तर रोकिएका आवेदकलार्ई पुरानै नियम लागु हुनेछ ।”

महानिर्देशक घिमिरेका अनुसार नयाँ परीक्षा मापदण्ड अनुसारै परक्षाहरु सञ्चालन गरिनेछ । ‘‘स्मार्ट कार्डको अभावले हाल लाइसेन्स छपाइ पनि बन्द छ । पुरानै लाइसेन्स छाप्न पनि सकिरहेका छैनौँ । स्मार्ट कार्ड खरिदका लागि दोस्रो लहरको कोरोना महामारी अघि नै प्रक्रिया अघि बढाएका थियौँ, तर कोरोना महामारीका काारण स्मार्टकार्ड ल्याउन सकिएन,” उनले भने, ‘‘विभागसँग दैनिक ६ लाखदेखि ८ लाख लाइसेन्स प्रिन्ट गर्न सक्ने क्षमता भए पनि स्मार्ट कार्डको अभावले प्रिन्ट हुन सकेको छैन । अत्यावश्यक  लाइसेन्स प्रिन्ट गर्नका लागि ३० हजार मात्रै स्मार्ट कार्ड बाँकी छ । ड्राइभिङ पेशा गर्न विदेशिने नागरिकलगायत अत्यावश्यक लाइसेन्स प्रिन्ट गरेर वितरण गरिरहेका छौँ ।”
   
विभागले अबको दुई साताभित्र स्मार्ट कार्ड ल्याइने जनाएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  १४:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro