site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
कालीगण्डकी : जलाधार र मार्गान्तरण (डाइभर्सन) 

कालीगण्डकी - तिनाउ     मार्गान्तरण (डाइभर्सन) आयोजनाको कार्यालय स्थापनासँगै त्यस आयोजनाको सकारात्मक तथा नकारात्मक पक्षका विवेचना हुन थालेका छन् | अन्तरजलाधारयस्तो आयोजना हामीकहाँ संचालन नभएको हुनाले पनि यसमा चासो र चिन्ताको क्रम बढेको हुनुपर्छ । साथै, कालीगण्डकी नदी र यसको ऐतिहासिक, सांस्कृतिक, धार्मिक अनि वातावरणीय पक्षको चर्चा पनि यसैसँग जोडिएर आएको छ | 

कालीगण्डकी नदी उत्पत्तिस्थल  :  

कालीगण्डकी नेपालका तीनवटा नदी प्रणालीमध्ये एक गण्डकीअन्तर्गत नारायणीको सहायक नदी हो | चितवन र तनहुँको संगम देवघाटधाम नजिक गएर कालीगण्डकी नारायणी नदीमा मिसिन्छ | कालीगण्डकी नदीको सुरू नेपालको मुस्ताङ जिल्लाको  न्युबिन हिमाल हिमसंचित क्षेत्रबाट भएको हो |  यसक्षेत्रको उचाइ २० हजार ५४६ फिट अर्थात् ६ हजार २६८ मिटर छ | यो क्षेत्र नेपाल र तिब्बतको सिमानामा छ । स्थानीय स्तरमा सुरुको धारालाई  छुमा खोला भन्ने गरेको पाइन्छ | यो धारा दामोदरकुण्डसँगै रहेको छ | त्यसपछि कालीगण्डकी लोमन्थाङ क्षेत्रमा झरेको छ । लोमन्थाङ क्षेत्रमा नझर्दै यसलाई निछु  र छोरोउ खोला पनि भन्ने गरेको पाइन्छ । लो मन्थाङमा झरेपछि काली गण्डकी दक्षिणपश्चिममा बग्छ । त्यस स्थानमा यसलाई मुस्ताङ खोला पनि भन्ने गरेको पाइन्छ | मुक्तिनाथ क्षेत्रमा आएपछि कालीगण्डकीमा झोङ खोला, काक खोला र कृष्णा नदीको  नामका प्रमुख सहायक नदी कालीगण्डकीमा मिसिन्छन् ।

KFC Island Ad
NIC Asia

त्यसपछि नदी कालीगण्डकी घाटी वा अन्धा गल्छी भनिने पहाडको र धौलागिरी पहाडको (८,१६७ मिटर उचाइ )  पश्चिममा र अन्नपूर्णा १, ( ८,०९१ मिटर उचाइ) पूर्वमा हुँदै दक्षिणतिर बग्छ । यही घाटी नै संसारको गहिरो गल्छी हो । यो गल्छी २ हजार ५२० मिटर गहिरो छ | 

कालीगण्डकी तत्पश्चात गहिरो गल्छी हुँदै  दक्षिणतर्फ लाग्छ | यो नदी गलेश्वरको राहुघाट खोला, बेनीको म्याग्दी खोला, कुस्मा नजिकैको मोदी खोला र रिडी बजारमाथि रुद्रवेनीमा बडीगाडसँग मिल्छ । 

Royal Enfield Island Ad

त्यसपछि नदी महाभारत क्षेत्रको  उत्तरी किनारबाट  बग्न थाल्छ । दक्षिणतर्फ फर्किँदै गर्दा महाभारतलाई छेडेर काली गण्डकी त्यसपछि देवघाटसम्म पुग्दा प्रमुख सहायक नदी  त्रिशुली, पूर्वी राप्ती नदीसँग मिलेर नारायणी हुँदै अगाडि बढ्छ । देवघाटबाट नदी गैँडाकोटको दक्षिणपश्चिममा बग्छ । पछि यो नदी दक्षिण पूर्वतर्फ फर्कन्छ र भारतमा प्रवेश गर्दा यसलाई गण्डक भनिन्छ ।

यसरी नारायणीसम्म आइपुग्दा कालीगण्डकीको कुल लमाइ ३१६ किलोमिटर छ भने नारायणी भएपछि कुल लमाइ ८१४ किलोमिटर हुन्छ | यस्तै नारायणी नदीसहितको कुल जलाधार क्षेत्र ४३ हजार वर्गकिलोमिटर छ | कालीगण्डकी नदी हिमालय क्षेत्रबाट सुरु भै बहने हुनाले यसको बहाव औसतमा समान प्रकृतिको हुन्छ | यसको सरदरत पानीको मात्रा १ हजार ७६० घनमिटर प्रतिसेकेन्ड  मापन गरिएको छ |

हिन्दु धर्म र कालीगण्डकी : 

हिन्दु पुराणहरूमध्ये देवी भगवतीको महात्म्य लेखिएको "देवी भागवत" पुराणमा कालीगण्डकीमा मात्रै पाउने शालिग्राम बारेमा एउटा कथा छ । भक्तलाई प्रशन्न बनाउन तुलसी अवतार लिएकी लक्ष्मी कृष्णको प्रेममा डुबेको पछि उनीहरूको विवाह भयो । कृष्णले आफूलाई सालावर्ग  (शालिग्राम) र तुलसीलाई गण्डकी (कालीगण्डकी ) नदीको रूपमा बदलेर सधैँ सँगै रहने व्यवस्था मिलाएको वर्णन देवी भागवतमा छ । आज पनि शालिग्राम कालीगण्डकी नदीमा मात्र पाइन्छ ।

यसैगरी स्वस्थानी व्रत कथाअनुसार जालन्धर पत्नी बृन्दाको श्रापबाट विष्णुले ढुंगाको रूपमा शालिग्राम भएर रहनु परेको हो |   

यसबाहेक कालीगण्डकी नदीको सुरुदेखि भारतसम्म पुग्ने क्रममा ऋषिमुनिको पवित्र तपोभूमि रहेका छन् | दामोदरकुण्डदेखि मुक्तिनाथ, कागवेनी, गलेश्वरधाम, बाग्लुङ कालीका, मोदीवेनी धाम, जैमुनीघाट, बेलबगर, रुद्रबेनीहुँदै देवघाटसम्म आइपुग्दा दर्जनौ ऋषिमुनिको तपस्यास्थल रहेका छन् | यसैगरी यही जलाधार क्षेत्रभित्र नै रहेर वेदव्यासले चार वद लेखेको जनविश्वास छ | साथै कालीगण्डकी क्षेत्र कैलाश क्षेत्रसम्म पुग्ने छोटो बाटो पनि हो | 

विभिन्न हिन्दु धार्मिक धर्मग्रन्थमा कालीगण्डकीमा स्नानमात्रले पनि कैयौं पाप बाट मुक्त हुने वर्णन गरिएको छ | हिन्दु धर्म र सभ्यताअनुसार कुनै न कुनै रूपमा हिन्दु सभ्यताको थालनी यही कालीगण्डकी किनारामा विकास भएका बस्ती, धार्मिक स्थल, मठमन्दिर तथा स्नान गर्ने घाटहरूमा भएको देखिन्छ । सँगै यिनले यो नदीको पवित्रता तथा महत्त्व देखाउँछन्  |    

बौद्ध धर्ममा कालीगण्डकी 

कालीगण्डकीको उद्गम बौद्धहरूका लागि पनि पवित्र स्थान हो । यसलाई चुमीग ज्ञानात् भनेर चिनिन्छ । यसको तिब्बती अर्थ "सयौं पानी" हो। हिन्दुहरूले यस ठाउँलाई मुक्तिनाथ र मुक्तिक्षेत्र भन्छन् । यसको शाब्दिक अर्थ "मुक्तिको ठाउँ" हो।
इसापूर्व दोस्रो शताब्दीमा लुम्विनीदेखि लोमाङ हुँदै चीनसम्म बुद्ध दर्शनले प्रवेश पाएको तथ्य फेला परेको छ । नेपालमा बुद्ध दर्शनको विकास भएको छ भन्ने सुन्ने पहिलो चाइनिज चाङ् चिङ् थिए । हान वंशका सम्राट मिङ् तीले सन् ६८ मा बुद्धबारे सपना देखेर बुझ्न उनका एक कर्मचारी काय युङलाई दक्षिण एसियातिर पठाए । उनी तीन वर्षपछि आफूले फेला पारेको तथ्य तथ्याङ्क बुद्धका प्रतिमासहित २ जना बौद्ध स मो यङ् र छ फा लानलाई साथमा लिएर फर्के । उनीहरूले मिङ्दीको दरबारमा बसेर बुद्ध दर्शनको प्रचार गरे ।  ती दुवै व्यक्तिहरू नेपाली बौद्धमतावलम्वी हुनुपर्छ । मुस्ताङ बुद्ध गुम्बाहरूको महत्त्वपूर्ण प्राचीन ऐतिहासिक स्थल हो । पुरातात्विक वस्तुहरूको खोजी हुँदैछ । आज संसारको ध्यान मुस्ताङम केन्द्रित हुँदैगएको छ । बुद्ध मत लिएर पहिलोपटक चीन जाने दुई बौद्ध भिक्षु मुस्ताङी हुनुपर्छ । तिब्बतदेखि मुस्ताङ हुँदै लुम्बिनीसम्मको सजिलोबाटो कालीको किनारबाहेक अरू सम्भव थिएन ।  

वातावरणीय पक्ष :

कालीगण्डकी जलाधारले  मात्रै  लगभग ११ हजार ७७०  वर्गकिमी  समेट्छ | यसको उचाइगत अन्तर १८८ मिटरदेखि ८१४७ मिटर छ | यसको २३.४ प्रतिशत भूभाग खाली जमिन छ भने २३.६ प्रतिशत भूभाग कृषिजन्य प्रयोजनको लागि प्रयोग भएको छ |

वन तथा अन्य बुट्यानले ढाकेको भूभाग ५१.३ प्रतिशत छ र ०.४ प्रतिशत भूभाग पानीले ढाकेको छ | यस्तै १.३ प्रतिशत भूभाग हिउँले ढाकेको छ |  यति धेरै  भौगोलिक विविधतायुक्त कालीगण्डकीको क्षेत्र जलवायुगतरूपमा पनि विविधतायुक्त छ | टुंड्रा अल्पाइन हुँदै समशितोष्ण र उष्ण प्रकृतिको हावापानी पाइन्छ | जलवायुको पक्षमा हेर्दा वार्षिकरूपमा २७५ मिलिलिटर देखि ६ हजार २३८ मिलिलिटरसम्म वर्षा हुने गरेको तथ्यांक जल तथा मौसम विज्ञान विभागसँग छ | विभिन्न अनुसन्धानले जलवायु परिवर्तनको कारण यस क्षेत्रमा पानि पर्ने तथा जल बहावमा परिवर्तन हुँदैआएको देखाएको छ |  

डाइभर्सन आयोजनाको विवरण :

कालीगण्डकी-तिनाउ मार्गान्तरण आयोजनाअन्तर्गत सिद्धार्थ राजमार्गको रामदीको पुलभन्दा २.३ किमी तल्लो क्षेत्रमा बाँध  निर्माण गरी २७ र ७ किलोमिटर लामो दुईवटा सुरुङ निर्माण गरिनेछ | यी दुईवटा सुरुङबाट कुल ८१ घन मिटर पानी बेल्बास र दोभान गाउँमा निकालिने छ |  प्रस्तावित परियोजना क्षेत्र  क्रमशः २७ °४१ ’३३ '” देखि २७° ५४ ’ २८  उत्तरी तथा  ८३° २५’ ५४'' देखि ८३° ३९ ’३५ पूर्वी देशान्तरबीचमा छ । यो आयोजनाको लक्ष्यअनुसार १२६ मेगावाट विद्युत तथा करिब १ लाख ७ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा प्राप्त हुनेछ | प्रारम्भिक अनुमानअनुसार आयोजनाको कुल बजेट १३८ अर्ब छ | यो अनुमान अझै बढ्ने देखिन्छ | 

आयोजनाको प्रभाव बारेमा प्रश्नहरु : 
क .  कालीगण्डकी नदी र सभ्यता माथिको प्रश्न  

यो सांस्कृतिक, धार्मिक तथा वातावरणीय महत्त्व बोकेको कालीगण्डकीको पानीलाई जलाधार नै परिवर्तन गरेर अर्को जलाधारतर्फ लैजाँदा यसको सांस्कृतिक महत्त्वमा क्षतिपूर्ति हुनै नसक्ने असर पर्छ | आस्थासँग जोडिएको नदीको पानी नै अर्को खोलामा हाल्ने गरी लैजाँदा तल्लोतटीय क्षेत्रमात्र होइन उपल्लो तटीयक्षेत्रको पनि महत्त्व ह्वात्तै घट्ने देखिन्छ | विकासपश्चात् पुनः प्रकृतिमाथि फर्किने समयमा अन्य प्रकारको लोभमा फसेर फेरि सभ्यता र संस्कृतिमाथि आक्रमण हुन सक्ने बाटो बन्ने त होइन यो आयोजना भन्ने प्रश्न उठेको छ |

ख . कालीगण्डकी दोहनको पक्ष  

नदीको प्राकृतिक स्रोत मूलतः नदीको बहावसँगै बहेर आउने ढुंगा, गिटी, बालुवाको स्थानीय तहले गर्दै गरेको अधिक दोहनले कालीगण्डकी नदी यसै पनि क्षतविक्षत भएको छ | यसले नदीको दिगोपन घटाई नदीजन्य विपत्ति बढाउँछ | झनै कालीगण्डकीजस्तो जन्मेदेखि मृत्युसम्मका सबै परम्पराको स्रोत र स्थलमा हुने अत्यधिक दोहन अस्वीकार्य नै हुन्छ | आयोजनाको चर्चाले त्यस्ता प्रवृत्ति अझै बढ्ने देखिन्छ | यो पनि विस्तारित गर्नुपर्ने विषय हो | 

ग . कालीगण्डकी किनारामा भए गरेका सिँचाइ तथा आश्रितहरूको अवस्था 

नदी र पानीको स्रोतमा प्रत्यक्ष आश्रित समुदाय धेरै प्रकारका हुन्छन् | कालीगण्डकीमा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा आश्रित जनसंख्या ठूलो छ | नदीको जलाधार नै परिवर्तन गरेर लग्दा तल्लो तटीय क्षेत्रको यति ठूलो जनसंख्याको रोजीरोटी तथा पानीको प्रयोगमा पर्ने अप्ठेरोको सम्बोधन अर्को महत्त्वपुर्ण विषय हो | 

घ.    जलाधार परिवर्तनको वातावरणीय प्रभाव 

जलाधार परिवर्तन गरी पानीलाई अर्कै जलाधारमा लगेर प्रयोग गर्ला धेरै वातावरणीय पक्षमा असर पर्ने गर्छ | पारिस्थितिकी प्रणाली, वन बुट्यान, हावापानी, भूगोल, भूबनोट, जनावर तथा समाज विकासको पक्षमा पनि नदी र त्यसमा बग्ने पानीले महत्त्वपूर्ण प्रभाव पारिरहेको हुन्छ | यो वैज्ञानिक पक्षलाई हृदयंगम गर्दा अर्को पक्ष के पनि हेर्नुपर्छ भने त्यस क्षेत्रको वातावरणीय पक्षमा पर्न सक्ने प्रभावको मिहिन अध्ययन  गरिएको छैन । यसको सम्बन्ध सोचे जस्तो सजिलो छैन | प्रकृतिको विविधरूपलाई बुझेर गरिने प्रभावको व्यवस्थापन जटिल छ |

ङ . लागत र त्यसको परिणामको तुलनात्मक पक्ष 

प्रस्तावित क्षेत्रभन्दा उपल्लो तटीय क्षेत्रमा कालीगण्डकी बहुउद्देश्यीय जलविद्युत आयोजनाको अध्ययन हुँदैछ | कालीगण्डकी जलविद्युतको लागि उपयुक्त नदी हो | यस्तो अवस्थामा उक्त नदीको जलाधार परिवर्तन गर्ने आयोजनाको कुल लागत १३८ अर्बभन्दा बढी देखिएको छ | यो लगानी स्वतः बढ्ने देखिन्छ | यत्रो लगानी र प्रतिफलका अन्य विकल्प खोज्ने हो भने पनि त्यसको उपयुक्त लागतमा विकल्प हुन सक्छ | 

च . समग्र जलाधार र क्षेत्रीय प्रभाबको पक्ष 

जलाधार परिवर्तन भनेको स्थानीय कार्यमात्रै होइन । यसका क्षेत्रीय तथा अन्य प्रभाव पनि हुन्छ | यससँग जोडिएका जलवायु, हावापानी अनि भूगर्भ, माटो, चट्टान इत्यादि तथा त्यो सँगसँगै समाजसँग जोडिएको विभिन्न विषय पनि यो र यति ठूलो वातावरणीय प्रभाव पर्नसक्ने आयोजनाले मिहिनरूपमा हेर्न सक्नुपर्छ | 

निष्कर्ष : विकासको लागि प्रकृति प्रदत्त स्रोतको समुचित उपयोग हुनु त पर्छ तर ती स्रोतको उपयोग गर्दैगर्दा त्यसका विवध पक्ष हेर्नु अनिवार्य हुन्छ | सबै पक्षलाई समुचितरूपमा हेर्ने पद्धतिलाई वातावरणीय प्रभाव मूल्याकन भन्ने गरिन्छ | यो आयोजना अधिक लागतको त हो नै सँगसँगै उच्चतम वातावरणीय तथा सांस्कृतिक, धार्मिक, आर्थिक, सामाजिक प्रभाव पार्ने आयोजना हो | यसले तत्काल,  मध्यम समय तथा दीर्घकालीनरूपमा स्थानीय, क्षेत्र तथा क्षेत्रीय अनि सामान्य र जटिल प्रभाव पार्न सक्ने सबै पक्षको उचित मूल्यांकन गरी तिनको कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने सम्बोधन हुनु जरुरी छ | तत्पश्चात मात्रै आयोजना अघि बढाउने वा नबढाउने निर्णय हुनुपर्छ | अन्तर्राष्ट्रिय प्रचलन पनि यही नै हो |  

(कालीगण्डकी जलाधारका बारेमा विद्यावारिधि शोधार्थी )


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro