काठमाडौं । त्यति बेलाको सोभियत युनिएन र हालको रुसले विश्वमै पहिलो भूउपग्रह ‘स्पुतनिक–वान’ अन्तरिक्षमा छाडेर संसारमा सनसनी फैल्यायो । यो घटना थियो, सन् १९५७ अक्टोबर ४ को ।
त्यो समाचार सुनेर उत्साहित थिए, बाराको कलैयामा जन्मेका सीताराम ब्याहुत । त्यति बेला न त उनलाई अन्तरिक्षबारे कुनै जानकारी थियो, न त शक्तिशाली देश सोभियत युनियनबारे नै । उनी सम्झन्छन्, “हाम्रोमा टेलिभिजन थिएन, रेडियो मात्रै । त्यो पनि तीनजनाको घरमा मात्रै ।”
रक्सौलको रेलवे स्टेसनमा ब्याट्री चार्ज गरेर ल्याई रेडियो बजाउँथे । रेडियोको प्रयोग बढी समाचार सुन्नलाई हुन्थ्यो । कलैयामा उति बेला रेडियो नेपाल केहीले मात्र सुन्थे । धेरैले रेडियो पटना सुन्थे । “हाम्रो नेताको भन्दा जवाहारलाल नेहरू र भारतीय नेताको भाषण बढी सुन्थ्यौँ,” उनले सुनाए ।
त्यति बेला कलैयामा नेपाली पत्रिका गोरखापत्र आउँदैनथ्यो । वीरगन्जसम्म गोरखापत्र आउने गरेको उनलाई अझै याद छ । तर, कलैयामा धेरैजसो हिन्दी पत्रिका भेटिन्थ्यो, पटनाबाट प्रकाशित ।
उनले स्पुतनिकको परिक्रमा त्यही रेडियो पटनाबाट सुनेका थिए । त्यो बेला उनको उमेर ६ वर्ष तीन महिना थियो । त्यो घटनाले अमेरिकालाई स्तब्ध बनायो । त्यसपछि अमेरिका र रुसबीच अन्तरिक्षमा को पहिले पुग्ने भनेर ‘स्पेस रेस’ अर्थात् होडबाजी नै सुरु भयो ।
स्पुतनिकले ८६ मिनेट लगाएर पृथ्वीको परिक्रमा गरेको थियो । “म बच्चै थिएँ । सायद, दुईमा पढ्थे कि ! आकाशमा हेर्दा ताराहरू देखिन्छ, ती तारामा सबैभन्दा छिटो जुन हिँड्छ, त्यही नै स्पुतनिक हो भनेर बुझाइयो,” उनले भने, “वास्तवमा त्यो सही पनि हो ।” त्यति बेला अँध्यारो भएपछि उनको काम हुन्थ्यो आकाशमा हेर्ने ।
त्यसपछि अमेरिकाले आफ्ना सबै स्पेस कार्यक्रमलाई तीव्रताका साथ अघि बढायो । अमेरिका र सोभियत युनियन अरू धेरै उपग्रहको पृथ्वीको परिक्रमा गर्न निस्के । सन् १९५९ मा पहिलोपटक चन्द्रमामा यान छोड्ने सोभियत युनियन नै हो । उसले ‘लुना–१’ र ‘लुना–२’ पठाएको थियो । त्यसको उद्देश्य थियो, चन्द्रमा यान्त्रिक गाडी अवतरण गराउने । त्यस बेला क्र्यास ल्यान्डिङ मात्र हुन्थ्यो । ‘लुना–१’ र ‘लुना–२’ ले चन्द्रमाको परिक्रमा गर्दै क्र्यास ल्यान्डिङ गर्न सफल भए । लुना भनेको ल्याटिन भाषामा चन्द्रमा हो ।
सन् १९६२ मा अमेरिकाले ‘रेन्जर फोर’ यान छोड्यो । र, त्यो पनि हार्ड ल्यान्डिङ (कठिन अवतरण) नै गर्न सफल भयो । रुसले १९६६ मा ‘लुना नाइन’ र ‘लुना–१३’ पठाउन सफल भयो र भूउपग्रहले पहिलोपटक ‘सफ्ट ल्यान्डिङ’ ग¥यो । उक्त भूउपग्रहले आफ्नो क्योमराबाट फोटो खिचेर पठाउन सफल भयो । सोही वर्ष अमेरिकाले सर्भेयर भन्ने यान सफ्ट ल्यान्डिङ गराउन सफल भयो । त्यसपछि धेरै यानले पृथ्वीको परिक्रमा गरे । रुसले सन् १९७० मा ‘लुना–१६’, सन् १९७२ मा ‘लुना–२०’ पठायो । लुना–२० ले चन्द्रमा हिँड्ने खालको लुनाखोद गाडी अवतरण गरेर चन्द्रमाको सतहको धेरै खोज गर्यो र चट्टान ल्याएर आएको थियो ।
चन्द्रमामा मानव पाइला
पहिलो भूउपग्रह, पहिलो सफ्ट ल्यान्डिङ सबै कुरामा जितिरहेको रुसलाई पछार्न अमेरिकाले चन्द्रमामा पहिलो मानव पाइला टेक्ने घोषणा गर्यो । तत्कालीन अमेरिकी राष्ट्रपति थिए, जोन एफ केनेडी । युवा नेता केनेडीले रुसको सफलतालाई चुनौतीको रूपमा स्वीकारेर यो शताब्दीको अन्तसम्म ‘मान्छे ओराल्छौँ’ भनेर घोषणा गरेका थिए । उनले चन्द्रमामा पाइला टेक्ने सम्पूर्ण जिम्मा उपराष्ट्रपतिलाई दिए । तत्कालीन उपराष्ट्रपति थिए, लिन्डन बिल्ड जोनसन, जो निकै महत्वाकांक्षी थिए ।
वि.सं. २०२६ साल साउन ६ गते अर्थात् सन् १९६९ जुन २० मा पहिलोपटक ‘एपोलो–११’ बाट चन्द्रमामा मानव पाइला पुगेको थियो । चन्द्रमामा मानव पाइला पुगेको अहिले ५२ वर्ष पुगेको छ । जति बेला मानव पाइला चन्द्रमामा पुग्यो, त्यति बेला ब्याहुत रुसमा थिए । सन् १९६८ मा उनी सोभियत पढ्न गएका थिए । सुरुमा उनलाई रुसको लेनिनग्रायाडमा पठाइयो । पछि खार्कोमा भौतिक विज्ञान पढ्न थाले । हाल खार्को युक्रेनमा पर्छ । त्यति बेला युक्रेन सोभियतको एउटा राज्य थियो । खार्को सोभियतकै ठूलामध्येको एक औद्योगिक क्षेत्र थियो र खार्को विश्वविद्यालय एकदमै चर्चित थियो ।
त्यो जुन २० को कुरा सम्झँदै उनी भन्छन्, “जुलाईमा कोर्स सकेको, हामी गर्मीको छुट्टीमा थियौँ । मसहित पाँच नेपाली विद्यार्थी लेलिनगार्डमा ब्याडमिन्टन खेल्दै थियौँ । हामीलाई मुन ल्यान्डिङ समय थाहा थियो ।”
त्यति बेला रुस विश्वका समाचारका लागि त्यति उदार थिएन । तैपनि, मुन ल्याडिङको समाचार भने रुसले पनि देखायो । कार्यक्रम सुरु हुने बेला उनी हतारिँदै कोठामा गए । त्यो बेला उनीसँग एउटा रेडियो थियोे, जसबाट बीबीसीको प्रत्यक्ष प्रसारण करिब सात मिनेट सुने । प्रफुल्लित हुँदै दगुरेर साथीभाइलाई समाचार सुनाएको उनी अझै सम्झिन्छन् ।
एपोलो–११ मा तीनजना एस्ट्रोनट गएका थिए । निल आर्मस्ट्रोङ, एडविन बज अलड्रिन र माइकल कलिन्स । कलिन्सको यसै वर्ष मृत्यु भयो । आर्मस्ट्रोङचाहिँ एपोलो–११ का कमान्डर थिए । चन्द्रमा ओर्लने मोडुलको पाइलट थिए, बज अलड्रिन र कमान्ड पाइलट थिए, कलिन्स । चन्द्रमाको सतहमा आर्मस्ट्रोङ र बज अलड्रिन ओर्लिए । उनीहरू चन्द्रमामा केही समय सतहमा डुलेका थिए । कलिन्सचाहिँ मदर स्पेससिपमा बसेका थिए । उनले चन्द्रमाको वरिपरि चक्कर लगाए, तर सतहमा खुट्टा राखेनन् । सतहमा फेला परेका चिज यानमा ल्याई सफलतापूर्वक उनीहरू पृथ्वीमा पनि फर्के ।
पछि रुसी रेडियो र टीभीमा पनि त्यो समाचार बज्यो । अमेरिकाले विश्वभर नै प्रचार गर्यो । त्यस बेला चन्द्रमामा पाइला टेकेपछि आर्मस्ट्रोङले बोलेको ‘यो मानिसको सानो कदम हो, मानवताका लागि ठूलो छलाङ’ विश्वभर प्रसिद्ध भयो । त्यसपछि मान्छेको धेरै कदम चन्द्रमामा पर्यो ।
अरु पाँचवटा मानवसहितको विमान चन्द्रमा पुगेको प्रा. डा. ब्याहुत सुनाउँछन् । एपोलो १२, १४, १५, १६, १७ गरी जम्मा ६ वटा मिसन अन्तरिक्षमा गए । हरेकबाट २–२ जना गरी अहिलेसम्म १२ अमेरिकीले चन्द्रमामा पाइला टेकिसकेका छन् । “अब भने चन्द्रमामा देश बनाउने होड चलिरहेको छ,” उनले भने ।
कतिपय देशले अमेरिकाको सो कदमलाई रुचाएनन्, विशेषगरी रुसले । उनी रुसको त्यस बेलाको प्रतिक्रिया सम्झँदै भन्छन्, “सोभियतको सोचाइ के थियो भने, मेसिनले जति खोज गर्न सकिन्छ, मेसिनले गरौँ ।” किनकि, मान्छे पठाउँदा धेरै खर्च लाग्ने र ज्यानको सुरक्षाको पनि कुरा थियो ।
अहिले पनि पृथ्वीमा भइरहेको भोकमरी, गरिबी अशिक्षा र रोगसँग नलडेर अर्बौँ रकम अन्तरिक्षमा खर्च गर्नुको तात्पर्य नरहेको भन्दै आलोचना गर्ने थुप्रै छन् ।
प्रा. डा. ब्याहुतका अनुसार त्यति बेला मेसिन अहिलेको जस्तो एड्भान्स थिएन । तर, यान्त्रिक नियन्त्रण गाडीहरू भर्खर आउँदै थिए । चन्द्रमामा रिमोर्ट कन्टोलले पनि चलाउन सकिन्छ भन्ने कुरा थियो । अमेरिकाले चन्द्रमामा मान्छे अवतरण गर्न धेरै लगानी गर्यो । प्रविधिको विकास गर्यो र त्यसको उचित लाभ पनि उठाएको उनको भनाइ छ । अन्तरिक्ष जाने होडबाजीमा कयौँ प्रविधिको विकास भयो, जसले ९० प्रतिशत प्रत्यक्ष मानव सभ्यताको विकासका लागि फाइदा भएको उनको दाबी छ । “तर, मेरो व्यक्तिगत विचारमा त्यति बेलाको प्रविधिमा मान्छेलाई चन्द्रमामा ओरोल्नु हुँदैनथ्यो,” उनी थप्छन् ।
उनका अनुसार अहिले चन्द्रमामा मान्छेले नै अनुसन्धान गर्नुपर्ने परिस्थिति तयार भइसकेको छ । अलिहेको स्पेसको रेसमा अमेरिका र चीन अगाडि छन् । रुस पछाडि परे पनि प्रविधिको मामिलामा अझै शाक्तिशाली रहेको उनी बताउँछन् । गरुंगो सामान पठाउन सक्ने रकेटहरू अहिले पनि रुससँग नै छ । अमेरिकासँग अनुभव र पेलोडको प्रविधि छ । चीनले अनुभव बटुल्दै छ । ऊ प्रविधिमा शक्तिशाली बन्दै गएको छ । हाल यी तीन राष्ट्रले स्पेसमा नेतृत्व लिइरहेका छन् ।
चन्द्रमामा मान्छे ओराल्नु किन महत्वपूर्ण छ ?
यदि, मान्छेलाई पृथ्वीभन्दा बाहिरको अन्तरिक्षमा जानु छ भने चन्द्रमा पृथ्वीको सबैभन्दा नजिकको स्टेसन हुन्छ । बाहिर किन जानुपर्यो भन्ने प्रश्नमा प्रा. डा. ब्याहुत भन्छन्, “बाहिर जानुपर्ने कारण तड्कारो देखिएको छ । पृथ्वीको सबै प्राकृतिक साधन खतम हुँदै छन् । भौतिक रूपमा हामीलाई बाहिरी अन्तरिक्षको सम्पदा चाहिन्छ ।”
पृथ्वीको सबैभन्दा नजिकका ग्रह मंगल र शुक्र हुन् । दुइटैको राम्रै खोज र अनुसन्धान भएको थियो र हुने क्रममा पनि छ । चीनले मंगलमा मान्छे ओराल्ने संकल्पका साथ चन्द्रमामा आफ्नो बेस बनाउने संकल्प गरेको छ । “त्यो सायद चाँडै केही वर्षभित्र पूरा हुन्छ,” उनले भने, “दोस्रो कुरा, मान्छेको अन्तरिक्षमा पठाउने कुरा जनसंख्या हो । पृथ्वीले हाम्रो बढिरहेको आवादीलाई यही रूपमा या अरू थपिँदै जाँदा धान्न कठिन छ । पृथ्वीले खास धान्न सक्ने पाँचदेखि ६ अर्ब हो, तर हामी आठ अर्ब पुग्न लागिसक्यौँ ।”
यस्तै, उनका अनुसार बाहिर जानुको अर्को कारण सुरक्षा र बाहिर जीवन छ कि छैन भन्ने पनि हो ।
स्पेस रेसमा बाँकी विश्व कता ?
युरोपियन युनियनले युरोपियन स्पेस एजेन्सीको स्थापना गरी स्मार्ट वान यान सेम्टेम्बर २००६ मा पठायो । युरोपबाट जर्मनी स्पेसमा पुगेको छ भने एसियाबाट जापानले हिटेन भन्ने यान पठायो, १९९३ मा ।
भारतले सन् २००८ मा चन्द्रयान–१ पछि चन्द्रयान–२ पठायो । पहिलो यान हार्ड ल्यान्डिङका लागि सफल भयो । दोस्रो सफ्ट ल्यान्डिङको लागि पठाएको यान चन्द्रमाको सतहबाट साढे दुई किलोमिटर माथि हुँदा सम्पर्क टुट्यो, त्यसले कस्तो अवतरण गर्यो, अहिलेसम्म पत्ता लगाउन सकेको छैन । बल्ल रकेटको स्थान भने भारतले पत्ता लगाएको छ ।
यस्तै, चीनले चाङ–१, चाङ–३ र चाङ–४, मार्च २००९, २०१३ र २०१९ मा क्रमशः पठायो । चाङ–१ कन्ट्रोल क्रयास, चाङ–३ ले सफ्ट ल्यान्डिङ र चाङ–४ ले कसैले नगरेको चन्द्रमाको अर्को भागमा ल्यान्ड गरेको छ । इजरायलले पनि सन् २०१३ मा चन्द्रमाको सतहमा क्रयास ल्यान्डिङ गराएको थियो ।
यसैगरी, वैज्ञानिकहरूले शुक्र र मंगल ग्रहलाई नजिकबाट नियाल्ने काम गरिरहेका छन् । शुक्रमा मान्छे बस्न मिल्दैन । तर, खनिजपदार्थ धेरै भएको बताइन्छ । मंगल ग्रहमा भने बस्न मिल्ने कुरा वैज्ञानिक खोज, अनुसन्धानमा देखिएको छ । त्यसपछि बृहस्पति ग्रह । यसमा पनि मानव बस्न त मिल्दैन, तर बृहस्पतिको एउटा चन्द्रमामा भने बस्न मिल्न सक्ने देखिएको छ । प्रा. डा. ब्याहुत भन्छन्, “किनकि, त्यहाँ हावा र पानी दुवै छ । जुन जीवित प्राणीको लागि जरुरत हो ।”
यसबाहेक अरू सबै ग्रहको वरिपरि यान पठाइसकिएको छ । सूर्यको अगाडि पनि यान पठाएइको छ भने दुइटा यान सौर्यमण्डलभन्दा बाहिर पठाइएको र अन्य तारामा पुग्ने कोसिस गर्दै छन् । त्यसको नतिजा अझै भविष्यमा खुल्नेछ ।
अन्तरिक्षको दौडमा नेपालको प्रत्यक्ष योगदान नरहे पनि शून्य योगदान भने नरहेको प्रा. डा. ब्याहुत बताउँछन् । “हाम्रो देश सानो र स्रोत–साधन कमी भएकाले सिधै अन्य देशको जस्तो स्पेसमा जान सक्दैनौँ,” उनी भन्छन्, “तर, प्रविधिको विकासमा नेपाली विद्यार्थीको योगदान छ । के कति भन्ने अर्को कुरा होला ।”
चन्द्रमामा मानवले आफ्नो बेस बसाउन सुरु गरेको ७० को दशकदेखि नै हो । प्रविधिमा शक्तिशाली देश मिलेर काम गर्दा बढी सफलता प्राप्त गर्न सकिन्छ भनेर त्यस बेला इन्टरनेसनल स्पेस स्टेसनको अवधारणा आएको प्रा. डा. ब्याहुत सुनाउँछन् ।
प्रा. डा. ब्याकुतका अनुसार चीन आफ्नै तरिकाले एक्लै बढ्दै छ । “रुसको हैसियत पुरानोजस्तो छैन । तर, प्रविधिको हैसियतचाहिँ राम्रो छ,” उनले थपे । सबै मिलेर मानवताको नाताले मिलेर काम गर्यो भने थोरै खर्चमा सबै राम्रो काम हुन सक्ने उनको भनाइ छ । उनी भन्छन्, “यदि, १० वर्षमा चन्द्रमामा वेस बनाए, अबको ५० वर्षमा मंगल ग्रहमा बेस बनाइसक्छौँ जस्तो लाग्छ ।”