काठमाडौं । अविरल वर्षाका कारण बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना ‘ध्वस्त’ भएको करिब डेढ महिना बितिसकेको छ । तर, अहिलेसम्म आयोजनाको कुनै काम अगाडि बढ्न सकिरहेको छैन ।
बाढीका कारण खोनपानी आयोजनामा करिब २ अर्ब बराबरको क्षति भएको छ । आयोजना पुनः लयमा कहिले फर्किन्छ भन्ने अनिश्चित बनेको छ ।
आयोजनाका प्रवक्ता राजेन्द्र पन्त वर्षाका कारण आयोजनाको काम सुरु हुन नसकेको बताउँछन् । ‘‘क्षतिको सबै विवरण अझै आइसकेको छैन । बाढीले ध्वस्त बनाएको मेलम्चीको पानी काठमाडौं उपत्यकासम्म ल्याइपुर्याउन अनिश्चित भएको छ । अहिले वर्षा नै भइरहेकाले त्यहाँ गएर काम सुरु गर्न सकिने अवस्था छैन,” प्रवक्ता पन्तले भने ।
२२ वर्षको लामो प्रतीक्षापछि ‘काकाकुल’ उपत्यकावासीले मेलम्चीको पानी पिउन पाएका थिए । तर वर्षायामको अविरल वर्षाले आयोजना वगरमा परिणत भयो । लामो समय लगाएर ठुलो खर्चमा बनाइएका संरचनाहरूमा क्षति पुगेको छ । अम्बाथान हेडेबक्सतर्फको ८ किलोमिटर सडक र याङ्गी तर्फको ६ किलोमिटर सडक अवरुद्ध भएको छ ।
बाढीले हेडबक्सका अधिकांश संरचनाहरू पुरिदिएको छ । अब उक्त संरचना पुुनर्निर्माण गर्न आयोजना अन्योलमा छ । विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूसँग समन्वय गरेर मात्रै काम सुरु गर्नुपर्ने भएकाले आयोजना अन्योलमा देखिएको हो ।
‘‘अरू थप क्षतिको विवरण आउन बाँकी नै छ । सुरुङमा सामान्य क्षति पुगेको छ । अन्य अस्थायी र स्थायी संरचनाहरू पूरै पुरिएका छन् । अहिले यी अस्थायी र स्थायी संरचनाहरूमाथि नै खोला बगिरहेको छ । त्यसैले पनि क्षतिको पूरै विवरण अहिले नै भन्न सकिने अवस्था छैन,” प्रवक्ता पन्तले भने ।
आयोजनाका अनुसार अब खानेपानी पुरानै लयमा फर्काउन र अध्ययन अनुसन्धान गर्न मेलम्चीमा प्राविधिक टोली खटिएको छ । यसको अध्यन अनुसन्धान जारी छ । अर्कातर्फ कहिलेदेखि काम सुरु गर्ने भन्नेबारे पनि छलफल चलिरहेको छ । हेडबक्स स्थलसम्म सडक अवरुद्ध र पहिरोका कारण सम्भव नभएको आयोजनाले जनाएको छ । वर्षायाम सकिएलगत्तै काम सुरु गर्नेगरी कार्ययोजना बनाउने आयोजनाका प्रवक्ता पन्तले जनाए ।
सरकारसँगको दीगो कार्ययोजना बनाएर मात्रै आयोजनाको काम सुरु गरिने प्रवक्ता पन्तको भनाइ छ । वैकल्पिक पानी पथान्तरण प्रक्रियामा क्षति पुगेको र पथान्तरण प्रक्रिया पुरानै लयमा फर्काउनुपर्ने छ ।
काठमाडौं उपत्यकाका धाराधारामा चैत १५ गतेदेखि पानी परीक्षणका लागि पठाइएको थियो । त्यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । करिब तीन महिना पाइपलाइन र चुहावट परीक्षणका लागि पठाइएको थियो ।
असार १ गतेदेखि सुरुङ परीक्षणका लागि धारामा पठाइएको पानी पथान्तरण प्रणाली बन्द गरिएको थियो । तर पानी बन्द गरेकै दिन अविरल वर्षाका कारण बाढी आयो । अब सरकारले मेलम्ची खानेपानी आयोजनालाई प्राथमिकताका साथ अगाडि नबढाए उपत्यकाका पानी आउने समय नजिक छैन ।
सरकारले प्राथमिकताका साथ काम गराए समयमै पानी ल्याउन सकिने आयोजनाको भनाइ छ । भत्किएका अस्थायी पुल र सडकको काम गर्न सडक विभागलाई जिम्मा दिने प्रस्तावना रहेको आयोजनाले जनाएको छ । यसबारे सडक विभाग तयार रहेको जनाएको छ । नेपाली सेनाको टोली परिचालन गरी पुरिएका संरचनाको उकास्न र निर्माणको व्यवस्थापन मिलाउन आयोजनाले प्रस्तावना बनाइसकेको छ । अब दुई महिनाभित्रमा कहिले के काम गर्ने भन्नेबारे कार्ययोजना बनाइ काम सुरु गरिने आयोजनाले जनाएको छ । तत्काल सेनाको हेलिकप्टरबाट एक्जाभेटर लिएर काम सुरु गर्ने भनिए पनि उक्त काम हुन सकेको छैन ।
आयोजनाका अनुसार वर्षातको समय सकिए पछि असोज दोस्रो सातादेखि मात्रै काम गर्न सकिने छ । आयोजनाको अवस्था हेर्ने हो भने अझै दुई महिनापछि देखि मात्रै काम सुरु हुने देखिएको छ ।