काठमाडौं । काठमाडाैंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल र प्रसूति गृह अगाडिको हिलाम्मे सडकमा दैनिकजसो एम्बुलेन्स, जिप, मोटरसाइकल फसिरहन्छन् । उसो त पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुनु काठमाडौंका सडकको परिचय नै हो ।
सडक हिलाम्मे हुँदा अस्पताल जाने बिरामीहरूले सास्ती व्यहोर्दै आएका छन् । जसका कारण प्रसूति गृहमा उपचार गराउन जाने सुत्केरी, गर्भवती र अन्य बिरामीले निरन्तर हैरानी खेपिरहेका छन् ।
काठमाडौं महानगरपालिकाको ध्यान नजाँदा उक्त सडक हिलाम्मे बनेको हो । नर्भिक अस्पताल र प्रसूति गृह देशकै ठूला अस्पतालहरू मध्येका हुन् । तर, त्यहाँसम्म पुग्ने सडकको अवस्था भने दयनीय छ ।
स्वास्थ्यकर्मी, बिरामी कुरुवा, बिरामीका आफन्तहरू ओहोरदोहोर गर्ने मुख्य सडक नै यही हो । वर्षायामबाहेक अरू समयमा पनि उक्त सडक यस्तै हुन्छ ।
काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोल वर्षायाममा उक्त सडकखण्डको ढल व्यवस्थापन र सडक पिच गर्न नसकेको बताउँछन् । ‘‘उक्त सडकखण्ड हामीले ढल व्यवस्थापन गरी पिच गर्न लागेका थियौँ । तर, वर्षायाम सुरु भएसँगै उक्त काम अगाडि बढाउन सकिएन । अब वर्षायाम सकिएपछि असोज कात्तिकतिर मात्रै उक्त सडकखण्ड पिच हुनेछ । अहिले वर्षाका कारण ढल व्यवस्थापन र सडक पिच गर्न सकिने अवस्था छैन । यसका लागि महानगरले डेढ करोडदेखि २ करोडको बजेट छुट्याएको छ,” उनले भने ।
विद्युतका तार भूमिगत तथा मेलम्ची खानेपानी आयोजनाको नाममा खनिएका सडक समयमै नपुरिँदा र ढल व्यवस्थापन नहुँदा यस्तो समस्या आएको महानगरले सडक विभागले जनाएको छ । सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले उपत्यकाका सडक खन्दै छाड्ने क्रम हाबी रहेकाले प्रगति नदेखिएको बताए । नेपालीले अन्य निकायले सडक बिगारेर आफूले भार खपिरहनुपरेको सुनाए ।
‘‘अन्य निकायहरूले सडक खनिरहेका छन् । हामीले पटक–पटक पत्राचार गर्दा पनि वास्ता छैन । त्यसैले सडकको अवस्था यस्तो भएको छ,” प्रमुख नेपालीले भने ।
महानगरपालिका अन्तर्गत आठ मिटरभन्दा साना सडकखण्ड पर्छन् । बर्खायाम सुरु हुँदा विभागले सडक खन्न रोक लगाएको छ । समस्या पहिला खनिएका सडक नपुरिँदा आएको प्रमुख नेपालीको भनाइ छ । पहिले डिभिजन कार्यालयले मेलम्ची खानेपानी आयोजनाका कारण खनिएका सडक समयमै नपुरिँदा आपत्ति जनाएको थियो । त्यस्तै नेपाल विद्युत् प्राधिकरणले पनि भूमिगत गर्नुपर्ने तार सडकमा असरल्ल रूपमा छरेर राखेको छ । जथाभावी खनेका सडक पनि पुर्न सकेको छैन ।
प्रमुख नेपालीका अनुसार बर्खायाम सकिएपछिमात्रै सडक मर्मत सम्भारको काम अघि बढ्नेछ । ‘‘सरोकारवाला निकायबीच समन्वय नहुँदा यस्तो अवस्था आएको छ । यद्यपि, सडक विभाग अन्तर्गतका अधिकांश खाल्डाखुल्डी पुरिसकेका छौँ । काम निरन्तर भइरहेकै छ,” प्रमुुख नेपालीले भने ।
यसरी नै काठमाडौं उपत्यकाका अधिकांश सडक यतिखेर हिलाम्मे बनेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका ट्राफिकलाई उक्त सडकखण्डको जाम खुलाउन हम्मेहम्मे परिरहेको छ । हिलोमा सवारीसाधन फस्दा यात्रु चालक लामो समय घण्टौसम्म जाममा बस्नु परेको छ ।
तस्बिर : सुनिल प्रधान