चैतको उच्चाटलाग्दो महिनामा एक दिन सुनीता आफ्नो आठ वर्षको छोरो गोपाललाई सम्झाइरहेकी थिइन्—
“तिमी त्यस बेला एक वर्षको थियौ... बुवा परदेशमा जानुभा’थ्यो ...।” यही शब्द, यही वाक्यलाई सुनीता बारम्बार दोहर्याइ तेहर्याइ भनिरहेकी थिइन् ।
अलि झिँजो मानेझैँ गोपालले सोध्यो, “त्यसपछि के भो त...?”
त्यसपछि के भो, स्वयम् सुनीतालाई पनि थाहा थिएन । त्यसैले अगाडि भन्ने कुरोको सामग्री नपाएर उनी एउटै कुरालाई घुमाइरहेकी थिइन् । केही बेरपछि गोपाल आमाको कुरा नपत्याएजस्तो गरी खेल्न दगुर्यो ।
बाहिर मानिसको शरीरलाई आलस्य तुल्याउने घाम लागिरहेको थियो । सामुन्ने घरको छानामुनि एउटा कौवा छिनछिनमा विरागयुक्त आवाजले कराइरहेको थियो । धारा सुकेकोले जमेको फोहोर पानीमा केही केटाकेटीहरू छ्याप्लाङ–छुप्लुङ गरी खेलिरहेका देखिन्थे ।
सबभन्दा नरमाइलो दृश्य एउटा गाइनेको थियो, जो धेरै बेरदेखि भित्तामा अडेस लगाई सारंगीको निराला सुरमा आफ्नो झिनो आवाज मिलाइरहेको थियो । उसको संगीतले सुन्ने मानिसहरूको हृदयमा एक प्रकारको खल्लो–खल्लो भावना बिझाउँथ्यो । जसमध्ये कोही निदाउँथे, कोही टोलाएको टोलायै एकै वस्तुलाई हेरिरहन्थे, आकाश, बारी, भित्ता तस्बिरतिर...!
सुनीता भित्तामा टाँगेको पतिदेवताको तस्बिरलाई टोलाएर हेरिरहेकी थिइन् । करिब सात वर्षअघि एक दिन साँझमा उनका पति बाहिर निस्केका थिए । आजसम्म उनी घर फर्केका छैनन् । कहाँ छन्, के गर्दै छन्, के भए... कसैलाई अत्तोपत्तो छैन ।
त्यसो त मानिसहरू उनको विषयमा थरीथरीका कुराहरू गर्छन्– बिचरा फलानाको आशंका परेका थिए... पागल भए रे... होइन, हरिद्वारमा छन् रे... सन्न्यासी भए रे...! पोहोर साल शिवरात्रिको मेलामा एउटा उनीजस्तै अनुहार भएको जोगी पनि आएको थियो, उनै हुन् कि... आ, के को हुन्थ्यो ! फौजमा भर्ती भए रे आसाममा ।
कुनै पनि सूत्र भरपर्दा थिएनन् । खालि अडकल, अनुमान अनि रे...। यस्तै सूत्रबाट उनी लडाइँमा मारिए भन्ने पनि एकपटक सुनिएको थियो ।
तर, सुनीताको मनमा पालिएको आशाले क्रमशः विश्वासको रूप धारणा गर्दै आएको थियो । उनलाई लाग्यो कि एक दिन उनका पति नआई छोड्ने छैनन् । मनको कुना–कुनामा उनको यो विश्वास बलियो हुँदै गएको थियो ।
त्यसैले उनको चोट खाएको चेहरामा सदा एकाग्रता र तपस्याको झल्को नै बढी मात्रामा देखापर्थ्यो । आफ्ना तमाम प्रवृत्तिहरूलाई उनले एउटै प्रतीकमा जोडेकी थिइन् र त्यो हो उनको पतिदेवताको तस्बिर, जुन हराउला भन्ने डरले उनले अत्यन्त हिफाजतपूर्वक राखेकी थिइन् । किनभने, पतिको सम्झना चिह्नमा केवल यही एक वस्तु उनको साथमा थियो ।
एक प्रकारले भन्ने हो भने, यो तस्बिर उनको लागि पतिदेवभन्दा पनि प्यारो भइसकेको थियो ।
गाइनेको आवाज निरन्तर आइ नै रहेको थियो । तस्बिरतिर हेर्या–हेर्यै सुनीताको आँखा पनि लाग्ला–लाग्लाजस्तो भो । यस्तैमा उनलाई ठिक–ठिक होस भएन त्यो मान्छे को हो, जसले उनको कानैनिर एउटा कुरा भन्यो, जसबाट उनको मानसिक क्रिया बिलकुलै भिन्न रूपले प्रवाहित हुन थाल्यो । पूरा घडाको पानी खन्याउँदा निस्कने फिँजझैँ उनी उन्मादिनी भइन् ।
एकदम आमाकहाँ पुगेर भनिन्, “आमा...आमा, उनी आउँदै छन् रे...।” सुनीताकी आमाले केही बेरसम्म छोरीको मुख हेरी सोधिन्, “को आउँदै छन् भन्या...?”
सुनीता अल्मलिइन् । को आउँदै छन् भन्ने, कसरी भन्ने ! उनी भित्रभित्रै खिन्न भइन् । मानिसहरू झट्ट कुरा बुझिदिँदैनन् । आफूलाई जन्माउने आमाजस्तीले पनि टप्प कुरा नसमाती को, कहाँ, कसरीतिरै अल्मलिएको देख्दा उनलाई साह्रै दिक्क लाग्यो । उनको श्वासमा तीव्र कम्पन छुटिरहेको थियो ।
“कस्तो कुरा बुझेर पनि नबुझेजस्तो गर्नु’भा...” खप्नै नसकी सुनीताले भनिन्, “हजुरको ज्वाइँ आउँदै हुनुहुन्छ रे क्या...।”
सुनीता तल दगुर्दै गइन् । फेरि माथि आइन्, कहिले चोटामा, कहिले कोठामा, कहिले दलानमा त कहिले झ्यालमा, एवम् रितले कहीँ गए पनि उनको आसन स्थिर भएन । के गरूँ, के गरूँ, कुनै वस्तु हराए पनि हुन्थ्योझैँ लाग्यो । कुनै कुरो खोज्न पाए अहिले उनलाई साहै्र आनन्द आउँथ्यो होला ।
तर, हराएको पनि त केही छैन । सम्पूर्ण कुरो पाएपछि हराउन मन लाग्छ, अर्थात् हराए पनि हुन्थ्योजस्तै लाग्छ । केही अभाव, केही कमी पूर्ण आनन्दको लागि आवश्यक हुँदो रहेछ भन्ने कुरा उनलाई बोध भइरहेछ ।
सुनीताले गोपाललाई बोलाइन् । उसको गालामा म्वाइँ खाँदै भनिन्, “बुवा आउनुभो रे...”
“को बुवा ?”
गोपाल अन्योलमा पर्यो । सुनीतालाई असल भो । गोपालले आफ्नो बुवालाई पनि चिनेन । अलिकता पनि खुसी प्रकट गरेन । हातबाट ऊ फुस्कन मात्र चाहन्छ । उसको चेहरा कहीँ हराएको जस्तो देखिएको थियो ।
“तिम्रो बुवा... हाम्रो बुवा... घरको बुवा” सुनीताले बुसर्टको टाँक लगाइदिँदै भनिन्, “तिमी सानै थियौ, एक वर्षको थियौ त्यस बेला... बुवा परदेशमा जानुभएथ्यो...अहिले आउनुभो रे...”
गोपाल केही बेर टोलायो । अकस्मात् आँखा ठूलठूलो गरेर उसले भन्यो, “को हाम्रो बुवा, घरको बुवा, मेरो बुवा ? हो, खै आमा खै त खै ?”
गोपालले बुवालाई चिन्यो । खुसीले सुनीताको शरीरभर रोमाञ्च छर्यो । काखीमा कुत्कुतीझँै लाग्यो । गोपालको गालामा म्वाइँ खाँदा–खाँदा उनले रातै पारिदिइन् । उसलाई अँगालोमा च्यापेर फन्फनी घुम्न थालिन् । सुनीता नाच्न थालिन् । वरिपरिका चिजबिज पनि घुम्न थाले ।
आनन्दको गोलाकारमा उनी त्यसै गरी घुमिरहेकी थिइन् जसरी पृथ्वी, आफ्नै कक्षमा घुमेर सूर्यको परिक्रमा गर्छ । गोपाललाई रिङ्टा लाग्यो । आमाको छातीमा मुख गाडेर उसले करायो, “आमा, मलाई रिङटा लाग्यो... रिङटा लाग्यो भन्या...!”
सुनीता घुमिनै रहिन् । नाचिरहिन् ।
भुइँमा पछारिएको गोपाललाई बोकी सुनीता घर गइन् । जाँदा उनकी आमाले हृदयका तमाम आशीर्वादहरू थुपार्दै भनिन्, “बाबा, सुनी बाबा, केही दुःख भयो, पर्यो भने आमालाई सम्झे, भने है ।”
सुनीताले आफ्नो घरको कोठा खोलिन् । झट्ट भित्र पस्ता उनलाई केही वस्तुले छोपेझैँ लाग्यो । एक सूक्ष्म क्षण उनलाई यस्तो पनि लाग्यो कि कसैले उनको बाहु, वक्ष, सम्पूर्ण शरीरलाई झ्याम्म अंगालो मार्यो । सुनीता भयभीत भइन्, बाहिर आइन् ।
कोठाभित्रको दूषित हावा बाहिर आइरहेको थियो । हावाको गन्धबाट थाहा हुन्थ्यो कि त्यो कोठा धेरै कालदेखि बन्द थियो, औ त्यसमा कसैको प्रवेश भएको थिएन । अचानक त्यहाँको स्तब्ध वायु सल्बलाउँदा सुनीतालाई कसैले छोपेको भान हुनु आश्चर्यजनक थिएन ।
बाहिर मटानमा बिहानको घाम छरिएको थियो । वायुमा मिलेर आएका धुलिकणहरू त्यहाँ टल्किरहेका थिए । यस्तो लाग्यो– मानौँ आजीवन कैदमा परेका अपराधीहरूलाई कुनै आकस्मिक महोत्सवमा मुक्त गरिदिँदा जुन प्रकारले लुगा–फाटो टक्टकाई आँखा मल्दै बाहिर निस्कन्छन् ।
केही बेरपछि सुनीता फेरि भित्र पसिन् । यसपटक उनलाई उस्तो डर लागेन । सरासर गई बलपूर्वक झ्याल खोलिन् । कोठाभित्र प्रकाश छिर्यो । सुनीताले चारैतिर दृष्टि दौडाइन् । अतीतका कल्पना र कुत्कुतीले उनको हृदयभित्र असंख्य रेखा कोर्यो । यही कोठा हो, जहाँ उनको सुहागरात बितेको थियो । र, त्यसपछि प्रणयका कतिपय मधुर रात उनले पतिका साथ यस कोठामा बिताएकी थिइन् ।
उनलाई यस्तो भान पर्यो कि उनका पति केही क्षण भो बाहिर गएका र उनी अहिले आउन्यै बेला भो । उनको पति हुँदा यस कोठामा जति सामान थिए, ती सबै अहिले पनि मौजुद छन्, जहाँको तहीँ ।
यहाँसम्म कि उनका पतिको लबेदा, सुरुवाल, कोट, जुत्ता आदि उनले व्यवहार गर्ने वस्तुहरू कसैको दीर्घ प्रतीक्षामा रहेझैँ देखिएका थिए । टेबुल, कुर्सी, मेच, दराज पनि जहाँको तहीँ थियो ।
सबै सामानहरूमा धुलो जमेर रूप करिब–करिब नदेखिने भइसकेको थियो । एक प्रकारको अव्यक्त उदासी हरेक वस्तुको बान्कीमा छाएको थियो ।
सुनीताले धेरै बेर हेर्न सकिनन् । आफूले ओढेको खास्टो झिकी धुलो झार्न थालिन् । कोठाभर धुलराशिको साम्राज्य व्याप्त भो । हरेक सामानमाथि सुनीता खास्टो झटार्दै गइन् ।
उनलाई यस काममा यति उत्साह र जोस चढेर आयो कि नाक, मुखबाट धुलो गएको पनि पत्तो भएन । केशभर धुलो जम्यो, चेहराको रूपरङ बदलियो ।
उनलाई हेर्दा यस्तो लाग्थ्यो कि उनी त्यस कोठामा एक कण पनि धुलो राख्न चाहन्नन् । धुलो र उनको बीच त्यस कोठामा संघर्ष चलिरहेको भान पर्यो ।
यस्तै क्रियाको सिलसिलामा एकबाजि उनले झ्यालमा जमेको धुलो हटाउँदा संयोगवश एउटा माउसुली उनको केशमा खस्न पुग्यो । शिरमा केही चल्मलाएको भान परी उनले हात लगाइन् ।
उनको मुट्ठीमा माउसुली छटपटायो । यसो हेरी झयालबाट उनले यस्तो सहज एवम् स्वाभाविक ढंगले फ्याँकिदिइन् मानौँ त्यो माउसुली थिएन, सुकेको कुन पातपतिंगर थियो अथवा माउसुली नै भए पनि त्यसप्रति उनको कुनै बखत मोहप्यार बसेको थियो ।
माउसुलीलाई फ्याँकिसकेपछि उनको हातको पन्जा फेरि सल्बलायो । हेरिन्, हातमा त केही छैन । अनि, झट्ट थाहा भो उनलाई एकै छिनअघि त्यही हातले उनले माउसुली फ्याँकेकी थिइन् ।
सुनीताको छाती एकदम ढक्क फुल्यो । हातमात्र के, अब त उनको पिँडौला, तिघ्रा, आङ, कुम सम्पूर्ण अंगमा केही चलेझैँ, केही सरेझैँ प्रतीत हुन थाल्यो । उनी भयले उत्ताल भइन् । दुवै हातले फरिया झार्दै कोठाबाहिर दौडिन् ।
“के भो नानी, के भो ?” भर्याङबाट ओर्लिरहेका बूढा ससुराले आश्चर्य मानी सोधे ।
सुनीताको शारीरिक परिमाण जो केही बेरअघि आफ्नो पूर्ण फैलावमा थियो, अहिले खुम्चेर यति साँघुरो देखियो मानौँ उनी पुसको जाडोले कठ्यांग्रिएकी छिन् ।
कसैले साफसँग चुटेझैँ उनको वस्तुस्थितिलाई देखेर बूढा ससुराको चाउरी परेको गालामा तातो आँसुका थोपा चुहिए । सुनीता एक हातले छाती, अर्कोले फरिया सार्दै कुनामा टाँस्सिन पुगिन् ।
“भन न, के भो, नानी...” बूढा ससुराले केही पर सर्दै फेरि सोधे, “कसैले केही गर्यो कि...?”
“होइन, केही होइन, त्यहाँ कोठामा बहार्न लागेकी थिएँ, आङमा कीरा पर्यो...” सुनिताले केही हडबडाएर जवाफ दिइन् ।
“ए...! किन आत्तिएकी त त्यसरी” भन्दै बूढा बिस्तारै कोठातिर सर्दै गए । कोठाको सम्पूर्ण निरीक्षण गरिसकेपछि उनले भने, “नानी, तिम्रो भक्ति र श्रद्धाले आज ऊ आइरहेछ...तिम्रो जय होस् नानी, आएपछि उसलाई कतै जान नदिए, बन्धनमा बाँधेर राखे, चारैतिर छेकबार लगाए ।”
बूढा ससुराको काँपेको आवाजमा भनिएका यी कुराहरूले सुनीताको हृदय आद्र्र भयो । ठूलो झ्यालखानाभित्र अदृश्य कोर्रा खाएर छट्पटाएझैँ बिचरा बूढा कहिलेकाहीँ मध्यरातमा जुरुक्क उठ्छन् रे अनि के मनमा लाग्थ्यो, बिस्तार लट्ठी टेकी तल ओर्लेर छोराको बन्द कोठामा थपथप हान्दै भन्दछन् रे, ‘बाबु, ए बाबु...राजा ।’
सफा तन्नाले कस्सिएको बिछयौना अत्यन्त आकर्षक देखिएको छ । सरसामान सबै आफ्–आफ्नो ठाउँमा मर्यादापालन गरी बसेका छन् । झ्याल खुला रहेकोले दूरदूरसम्म फैलेको खेत आनन्दप्रद देखिन्छ । शुद्ध हावाले गर्दा कोठाको वातावरण नै बेग्लै तुल्याएको छ । सुनीताको कानमा कुनै संगीतको ध्वनि उठेझैँ भइरहेछ ।
आफ्नो मुलायम हातले उनी कमिजमा टाँक सिइरहेकी छिन् । भित्तामा टाँगेको तस्बिरलाई हेरेको हेर्यै गोपालले सोध्यो, “आमा, यो तस्बिरको मान्छे को हँ ?”
“बुवा त हो नि...तिम्रो बुवा...परदेश जानुभएको बुवा...अब आउने बेला हुन लाग्यो !”
गोपालले प्रश्नमाथि प्रश्न थप्तै गयो, “यो के आमा, ऊ के आमा...” इत्यादि । कमिजमा टाँक सिएको सियै सुनीताले बालक छोरोलाई जम्मै कुराको बोध गराउँदै गइन् । ह्यांगरमा झुन्डिएको ओभरकोटलाई औँल्याएर गोपालले सोध्यो, “यो कसको नि आमा...!”
“बुवाको...” अलि झर्केजस्तो गरी सुनीताले भनिन्, “तिम्रो बुवाको, यो दराज ऐना, टेबुल, कुर्सी, पलङ, किताब, जुत्ता, मोजा यहाँको सब चिज तिम्रो बुवाको त हो नि...!”
“हो...आमा !” गोपाललाई कस्तो आश्चर्य लाग्यो । सबै उसको बुवाको । ‘मेरो बुवाको’ यो वाक्यबाट उठ्ने गमकले उसको हृदय घन्क्यो । एकै छिनमा ऊ यति गम्भीर देखियो मानौँ ऊ कुनै दार्शनिक हो । फेरि उसले ओभरकोट हल्लायो । ओभरकोटको भद्र झुलाइ उसलाई आनन्दप्रद लाग्यो । उतैतिर हेरी–हेरी उसले भन्यो, “हेर्नुस् आमा, कस्तो मजासँग झुलेको...झुल बाबा, झुल झुल...!”
‘धत् उल्लु’ भनेर सुनीता खिस्स हाँसिन् । गोपालले जब अति गर्न लाग्यो अनि ‘नगर न, बुवाको कोट बिग्रिँदैन’ भन्दै उसलाई तानेर बसालिन् ।
सुनीताको सिउने क्रम...जारी नै थियो । एक्कासि उनको औँलामा सियोको टुप्पोले घोच्यो । पछिल्तिरबाट कसैको छाया सर्दै आएको देखी फर्केर हेरिन्, मंगला रहिछ ।
“के गर्न लाग्नुभो, भाउजू ?”
“अँ, यसै बसिरहेको... आउनुस् न, बस्नुस्...” औँलाको रक्तबिन्दु पुछ्दै सुनीताले भनिन् ।
“ओहो ! हजुरले त कोठाको रूपरङ नै बदलिदिनुभएछ...” कोठाको चारैतिर सरर्र हेर्दै मंगलाले भनी, “साँच्चि भाउजू हेर्नुस् न, दाजु गएदेखि यो कोठा खोल्दै खोलेको थिएन । बन्दको बन्दै थियो । भित्र सामान यता–उतासम्म पनि गर्न दिनुभएन बुवाले । ‘ऊ आउँछ, उसका सामान त्यहाँ केही नगरे, कोठा खोल्यौ भने म निको मान्ने छैन’ भन्दै सबैलाई चेतावनी दिनुभएको थियो ।”
मंगलाले यस्तै कुराबाट आफ्नो घरको कुरा, पोइको बयान, बाबुलाई बुढेसकालमा परेको पीर अनि बाबुको पीर हटाउन ऊ माइत बसेको हो भन्ने कुराको गुलाफी वर्णन परिपक्व ढंगले गर्दै गई ।
उसको कुरा गराइमा ‘हो त नि’ भन्ने भएपनि छिनछिनमा तनक्क तन्किने मुख र अस्थिर आँखालाई देख्ता कस्तो–कस्तो नभए पनि शंका गर्न कर लाग्छ । फेरि वाक्य पिच्छे ‘साँच्चि–साँच्चि’ भन्ने उसको बानी पनि निकोलाग्दो थिएन । कुरा गर्दा उसको कानमा झुन्डिएको इयर्लिङ हल्लिन थाल्छ ।
त्यस घरको रेखदेख गर्ने नै आजकाल उही भएकी छ, बूढाकी कान्छी छोरी मंगला । उमेर करिब सत्ताइस वर्षकी, शरीरमा न दुब्ली न पातली, केही डल्लीजस्ती ! साना–साना धारिला आँखा, धेरै बोल्दा–बोल्दा पाच्छिएको ओठ । उसैको रोब–रवाफ, घरकी मालिक्नी नै उहीजस्ती ।
कुरा गर्दागर्दै उसको आँखा सजल देखियो । केही हिक्काजस्तो छोड्दै उसले भनी, “साँच्चि भाउजू, साँच्चि भन्या, दाजु गएदेखि यो घरको उज्यालो हरायो । दाजुजस्तो मान्छे त पाउनै गाह्रो छ, साँच्चि, कस्तो मान्छे, अहँ रिसराग, छलकपट भन्या त शून्य ! जोसित पनि हाँसी–हाँसी कुरा गर्ने, साहै्र उदार छाती भएको मान्छे...। साँच्चि भन्या भाउजू, झन् मलाई त असाध्यै माया गर्ने । जे भने पनि लौ, ‘नाइँ’ त मुखैमा छैन । पछि–पछि त आफैँलाई नै संकोच लागेर आयो तर नभने पनि के गर्नु र, मन्सा झट्ट बुझिहाल्ने ।”
मंगलाको आँखाबाट आँसु आइ पनि हाल्यो । फेरि एकाएक झल्याँस्स केही सम्झे गरी उसले भनी, “ए साँच्चि, किन दिक्क भा कि म हगि ! भोलि त आइहाल्नुहुन्छ नि । हेर्नुस् अब यस्तो छ यी... ज्यादै खुसी लागेपछि सुर पनि हराउँदो रहेछ ।” उसले हाँस्ने उपक्रम गर्नै परेन खिलिलिल्ल हाँसो फुट्यो ।
मंगलाको तुरुन्तै आँसु अनि तुरुन्तै हाँसो मिलेको अनुहार देख्दा सुनीताको मुटु नै खोक्रो भएर आयो । उनलाई मंगला गइदिए हुन्थ्यो झैँ लाग्यो ।
सुनसान चारैतिर रातको सन्नाटा छायो । सुनीताको मनमा कुरा खेल्न थाल्यो । भोलिको मिलन, यो कल्पना उनको लागि अत्यन्त सुखद भइरहेछ । रातको पांग्रा पनि कति ढिलो गरी चलेको... झट्ट बिहान भइदिए !
यस्तैमा झ्वाट्ट–झ्वाट्ट कुनै आक्रणमसरि मंगलाको हाँसो उनको कानमा ठक्कर खान्छ । अनि त उनलाई रातको पर्दा नै स्वार्र च्यातिदिऊँजस्तो लाग्छ । मनको यस्तै अन्यमनस्कतामा उनको आँखा भित्तामा झुन्डिएको ओभरकोटमा —जो अन्सारले मात्र छुट्ट्याउन सकिन्छ— गएर अड्किन्छ । केही बेरअघि मात्र गोपालले कोट हल्लाई ‘झुल, बाबा झुल’ भनी खेलेको उनले सम्झिन् ।
तर, अहिले त्यो कोट उनलाई ठिंग कुनै मान्छे उभिएजस्तै लाग्यो । एक छिनपछि हल्लिएजस्तो पनि भो । ओभरकोटको कलरमा टक्क शिर अडेको उनले देखिन्...आँखा झिमझिम, ओठमा मन्द मुस्कान अनि बाहुला बाहिर हातेऔँला पनि देखिए...टकटक खुट्टा टेक्तै आयो...चेहरा उनकै पतिको हो...हँसिलो, रसिलो, राम्रो ! हरे छि...यो के...किन यसरी बिस्तारै उनीतिर सर्दै आएको टकटक, मेसिनको मान्छेझैँ !
सुनीताले गोपाललाई आफूतिर तानिन् । ऊ निदाएको थियो । उसलाई छातीमा च्यापिन् । ओभरकोट उनीतिरै सर्दै आयो, नजिक–नजिकै, ओभरकोटको मान्छेले छोडेको खित्का भित्तामा ठक्कर खायो । सुनीताको व्याकुल हृदयले भगवान्को नाम लियो । आज उनलाई उनकै पतिदेवको रूपले किन यसरी तर्साइरहेछ, किन भित्रभित्रै खाइरहेछ, माडिरहेछ, मर्काइरहेछ...।
०००
बारबार कानमा ठक्कर खाइरहने मंगलाको हाँसो बिर्सन उनले आफूलाई काममा लगाइन् । सफासँग गोपालको कपाल साबुनले नुहाइदिइन्, उसलाई हाफपाइन्ट र बुसर्ट लगाइदिइन् । गोपालले प्रफुल्ल मुद्रामा सोध्यो, “आज त बुवा आउने हगि ?”
‘अँ’ भन्दै सुनीता बगैँचातिर लागिन् । रंगीचंगी फूलहरूलाई देखेर उनको मन प्रफुल्ल भयो । उत्निखेरै उनलाई एउटा ठूलो चटारो परेको पनि बोध भयो । जाई, जुही, चम्पा, चमेली फूलका थुंगाहरू टिप्तै जान थालिन् ।
अनि, ती सबलाई उनेर एउटा सुन्दर माला तयार पारिन् । एकाग्रताले उनको मन ताजा गुलाफको फूलजस्तै भयो । पतिदेवको तस्बिरमा माला चढाएर प्रणाम गरिन् । तस्बिरमा सुनीताका पति अप्रकटित मुस्कान लिएर हेरिरहेछन् । सुनीताको आँखासँग आफ्ना आँखा जुधाइरहेछन् । सुनीता झिमिक्क पनि गर्दिनन् ।
उनको तमाम ऐन्द्रिक शक्ति सायद कसैले तानिरहेछ, खिचिरहेछ । एकबाजि उनले अत्यन्त मिठो स्वरमा ‘हजुर’ पनि भनिन् । मानौँ, उनका पतिदेव उनलाई बोलाइरहेछन्, उनीसित कुरा गरिरहेछन् । साँझको बखत क्षितिजमा छरिने लालीझैँ सुनीताको मुखमण्डल लाल भइरहेछ ।
“भाउजू, साँच्चि यो तस्बिर मलाई है...?”
अकस्मात् कोठाभित्र प्रवेश गरी, केही बेर तस्बिरलाई हेरिसके पछि मंगलाले भनी । उसले जति सहज र सरल तरिकाबाट यो कुरो भनी उत्तिकै सुनीताको निम्ति कठोर प्रतीत भो । मंगला उनको पतिदेवको त्यो तस्बिर माग्छे, जसमाथि भर्खर उनले फूलको माला चढाएकी थिइन् ।
“है भाउजू, है, है...” मंगलाले तस्बिरमा हात बढाउँदै भनी, “साँच्चि, हेर्नुस् न आफूलाई त्यति माया गर्ने दाजुको एउटा तस्बिर पनि राख्न पाएकी छैन । झल्झली सम्झँदा यस्सो आड लिने वस्तु भएन भने कस्तो हुन्छ, हजुरलाई त थाहै छ नि । तर, अब हजुरलाई किन चाहियो र यो... दाजु नै आइरहनुभएको छ नि... बोल्ने, हाँस्ने तस्बिरको अगाडि यो के काम... । छि, हुन्छ भन्न पनि कति गाह्रो भएको, लगेँ है मैले त यो...”
यति भन्दै मंगलाले किलामा टाँगेको तस्बिर झिकी । कस्तो लडकपनका साथ साहसपूर्वक उसले यो काम गरी ! उसको हावभाव, क्रियाकलाप सब देखेर सुनीता छक्क परिन् । उनको मनमा आयो, दाजु र बहिनीको यो कस्तो माया...कस्तो प्रेम !
सुनीताले ‘हुन्छ’ भन्न पनि सकिनन्, ‘नाइँ’ भन्न पनि गाह्रो भो । घाँटीबाट कुनै कुरो पनि निस्केन केवल कस्सियो मात्र । तर, मंगला त साँच्चि नै तस्बिर लिएर गई । ऊ कोठाबाहिर गइसकी । अचानक ठूलो भुइँचालो गएजस्तो प्रतीत भयो ।
“होइन नानी..., ए नानी...यता हेर्नुस् न,...यता त हेर्नुस्...” ।
सारा घर हल्लियो । जमिन भास्सिएझैँ भो । “ना...नी” सुनीता चर्को स्वरमा चिच्याइन् ।
भर्याङको खुड्किला चढ्दा उनको श्वास तीव्र वेगले बढिरहेको थियो । अनि सुनीतालाई ठिकठिक होस भएन, उनी बेहोस भएर पछारिइन् अथवा कसैले धक्का दियो ।
उनको आँखा क्रमशः खुल्दै आयो । त्यस बेला उनको मनका वृत्ताकार लहरहरू केन्द्रमा फर्किरहेका थिए । बाहिर घाम धेरै पर सरिसकेको थियो । कागको विरागयुक्त आवाज अहिले थिएन । गाइने पनि उठिसकेको थियो । धारामा चार बजेको पानी खुलिसकेकोले आइमाईहरू तँछाड–मछाड गर्दै गाग्रा थाप्तै थिए ।
आफ्ना हात–गोडा छामिसकेपछि सुनीताले थाहा पाइन्, सपना रहेछ ! सपना उनी निद्रामा प्रायः सधैँ देख्छिन् । तर, आजको सपना ! अन्तर्मनमा सहसा एक प्रश्न उठ्छ, मंगला किन उनको पतिदेवको तस्बिर खोस्न आएकी ? एक्कासि जुरुक्क उठी साबिकको ठाउँबाट तस्बिरलाई झिकेर सुनीता भित्ताको कुनापट्टि किला ठोक्न लागिन् ।
(पोषण पाण्डे–तीर्थ सदनको स्वीकृतिमा प्रसिद्ध कवि/कथाकार पोषण पाण्डेको ‘आँखीझ्याल’ कथासंग्रहको पाँचौँ कथा । यस कथासंग्रहका सम्पूर्ण कथाहरू धारावाहिक रूपमा हरेक शनिबार प्रकाशित गर्दै जानेछौँ ।)