site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
त्रिविधका एक विद् विजय !

के बोलूँ ? के लेखूँ ? स्तब्ध छु । बज्रपात भएको छ मुटु । छियाछिया हुनपुगेको छ एउटा वाणीले ।

“सर, विजय सर त रहनुभएन छ नि ! फेसबुक वालमा देखेँ मैले । हो होइन ? तपाईंलाई त पक्का थाहा होला, के कसो हो ?,” एक हितैषी मित्रको आवाज थियो फोनमा ।

म अवाक् भएँ । स्तब्ध भएँ । हिजो छोडी अस्ति त हो फोनमा कुरा भएको विजयसँग । यति छिट्टै बिलाऊलाझैँ लाग्दैनथे । अनुहार हसिलै थियो । सात दिनअघि भेट्न जाँदा आउँदो असारमा जन्मोत्सव धुमधामले मनाउने योजना हौसिँदै सुनाउँदै थिए । हामीलाई नआई नहुने उर्दी नै जारी गरेका थिए ।

Argakhachi Cement Island Ad

पाँच दशक हाराहारीको लामो सहयात्रा र सहकार्य । आत्मीयतामा चुर्लुम्मै डुबेका छौँ हामी । हामी अर्थात् विजय, अमर र म । अनि, हाम्रा तीनै परिवार । पारिवारिक सम्बन्धझैँ जेलिएका छौँ हामी । अनि, नाइँनास्ति गर्ने कुरै थिएन । हामी बचनबद्ध भएथ्यौँ ।

आज के सुन्दै छु म ! एकछिन रन्थनिएपछि भाइ महेन्द्रसँग यथार्थ जान्न चाहेँ । महेन्द्रले बिहान १० बजेतिर अकस्मात् ब्रह्मलीन भएको पुष्टि गरिदिए । हत्तारियो मेरो मन, अत्तालियो मेरो मन । स्तब्ध र अशान्त !

त्रिविधका तीन विद् हौँ हामी विजय, अमर र तेज – भन्छन् सबै साथीभाइहरू । हाम्रो संयुक्त कथासंग्रह हो, ‘त्रिविध’ । त्यसमा आ–आफ्ना अनुभूतिहरू पस्केका थियौँ हामी तीनैजनाले । अनि भन्न थालेका हुन् साथीहरूले त्रिविधका तीन विद्हरू ।

“त्रिविधका कथाकार त्रिवेणी हुन्– अमरकुमार प्रधान, तेजप्रकाश श्रेष्ठ र विजय चालिसे । यी तीनै कथाकारहरू त्रिविध भए पनि यिनमा साझा बेहोरा पनि मनग्यै पाइन्छ ।” समालोचक मोहनराज शर्माको भनाइ (त्रिविध, २०४४, भूमिका) अहिले पनि सम्झिरहेछु म । हो, हामी त्रिविध भएर पनि एक हौँ । एक भएर पनि त्रिविध हौँ ।

झन्डै पाँच दशक लामो सहयात्रा, सहकार्य र सत्संग गरेका छौँ हामीले । विभिन्न उतारचढावमा पनि सदा साथ दिँदै आएका हौँ हामी । हाँसो र आँसुमा चुर्लुम्म डुबेका छौँ हामी । तीन ज्यान एक आत्माझैँ सहयात्रा र सहकार्यमा जुटेका छौँ हामी । २०३५ सालमा जोडिएको हाम्रो मितेरी झ्यांगिँदै थियो झपक्क ।

हामी तीनको मिलनविन्दु बनेको थियो गोदावरी क्याम्पको रा.वि.से पूर्वसेवाकालीन तालिम ।

मित्र विजयको भनाइ सम्झिन्छु, “२०३५ सालको माघ १० गते त्यहाँ पुग्दा सबैतिर नियमित विद्यार्थीहरूको रजगज थियो । उनीहरू एक आपसमा परिचित थिए ।

हामी केही प्राइभेट विद्यार्थी भने कुहिरोको काग बन्थ्यौँ । संयोगले त्रिचन्द्र कलेजमा सँगै प्राइभेट परीक्षा दिएका तेजप्रकाश श्रेष्ठ, अमरकुमार प्रधान, विश्वनाथ भेटवाल, टीका सुब्बा र अरू केही साथी यहीँ रहेछन् । त्यसैले थोरै भए पनि पूर्वपरिचित भएको हुनाले हामी एउटै समूहमा आबद्ध भयौँ ।

अमरबाहेक हामी सबै जागिरे । तेज महालेखापरीक्षक कार्यालय (विजयले उल्लेख गरेझैँ हैन, म त्यति बेला त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत थिएँ), भेटवाल कृषि विकास बैंक, टीका सुब्बा शिक्षा मन्त्रालयमा काम गर्थे । तेज, अमर र म तीनैजना साहित्यमा रुचि राख्ने हुँदा चाँडै घनिष्ट सम्बन्ध बन्यो ।” (जीवनका वक्ररेखा) ।

गोदावरीकोे हाम्रो सहमिलन रमाइलो र उपलब्धिमूलक रहेको तथ्य पछि हाम्रै सक्रियतामा २०३८ सालदेखि ‘साँ–ग्रिला’ त्रयमासिक पत्रिका प्रकाशनले प्रमाणित गरिदिएको थियो ।

साँ–ग्रिला पत्रिकाको प्रकाशनको आफ्नै कथा झलझली सम्झिरहेछु । मूर्धन्य आख्यानकार बाबा रमेश विकल (विजयका पूजनीय पिता) को सदाशय नभेटेको भए सायद साँ–ग्रिला त्रयमासिक पत्रिका जन्मिने नै थिएन ।

प्रारम्भमा हामी तीनजना र टीका सुब्बा समेतको सम्पादक समूह रहेको थियो । भेटवाल र चौलागाईंको सहयोग पनि उलेख्य रह्यो । पछि आफ्नो कार्यव्यस्तताले गर्दा टीका सुब्बा र अरू मित्रहरूले निरन्तरता दिन भ्याएनन् । तर, हामी – विजय, अमर र मैले साँ–ग्रिलालाई २७औँ अंकसम्म तन्कायौँ ।

मलाई लाग्छ, त्यस कार्यमा विजय र अमरको सक्रियता अतुलनीय रहिरह्यो । त्यसपछि हामीले पनि साँ–ग्रिलालाई निरन्तरता दिन सकेनौँ । साहित्यिक पत्रिकालाई बचाइराख्न फलामको चिउरा चपाउनुझैँ कठिन हुँदै गयो । धान्न सकेनौँ ।

यसैक्रममा २०४४ सालमा हामी तीनजनाको संयुक्त कथासंग्रह ‘त्रिविध’ प्रकाशित भएको हो ।

यसरी जोडिएको हाम्रो मित्रतालाई आज हामी दुईलाई चटक्क छोडेर विजय महाप्रस्थानमा लागिदिँदा रित्तोरित्तो बन्न पुगेको छ मन ।

हुनत, शिखर यात्री हो विजय ! विजय अर्थात् विजयकुमार चालिसे अथवा विजय चालिसे । वरिष्ठ साहित्यकार तथा पत्रकारका साथै कुशल प्रशासक हुन् उनी ।

साँ–ग्रिला त्रयमासिकका प्रधानसम्पादक, मुना मासिकका सम्पादक, मधुपर्कका प्रधानसम्पादक, गोरखापत्रका प्रधानसम्पादक र गोरखापत्र संस्थानका अध्यक्ष समेतको अभिभारा बोकिसकेका हाम्रा परम मित्र विजयले शिखरमा पुगेरै विश्रान्ति लिएकोे देख्दा भने सन्तोष लाग्छ ।

तैपनि, उनको साहित्यिक यात्रा अझै लम्बिन सकेको भए हामी अझ ढुक्क हुन्थ्यौँ र रमाउँदै पाइलामा पाइला मिलाउँदै अघि बढ्न पाउँथ्यौँ ।

अपशोच यसैमा छ, अब उनीसँग सहयात्रा र सहकार्य गर्न पाउने छैनौँ । स्मृतिमा समेट्नुबाहेक बाँकी के रह्यो र !

अहिलेसम्म उनको सामीप्यमा हामी रमाइरहेका थियौँ, उनको उपादेयतामा मक्खिरहेका थियौँ । अझ मैले साहित्यिक यात्रामा उनको भरथेग पाइरहेको थिएँ । आशा थियो पाइरहनेछु ।

मेरा प्रत्येक साहित्यिक रचनाको प्रथम पाठक र आलोचक विजय नै हुन्थे भने उनको साहित्यिक रचनाका पहिलो पाठक र आलोचक म पनि बन्न पाउँथे । उदाहरणकै रूपमा भन्ने हो भने उनको अन्तिम उपन्यास ‘युगसन्धि’ र मेरो हालसम्मको अन्तिम उपन्यास ‘माखाल’मा एकार्काको श्रमपसिना मुछिएकै छ ।

म झलझली सम्झिरहेछु, आख्यान विधामा आफूलाई समर्पित गर्न रुचाउँथे विजय । उनका प्रौढ साहित्यमा उपन्यास, कथा, नियात्रा तथा आमसञ्चारसम्बन्धी पुस्तकहरूले मलाई पनि कुत्कुत्याउँथे । पत्रकारितामा केही सोच्न बाध्य गराउँथे ।

विजयका ‘होटल राँकीमा हत्या’, ‘अनि कुइरो फाट्छ’ र ‘युगसन्धि’ उपन्यासहरू, ‘त्रिविध’ (संयुक्त), ‘प्रयोग/प्रत्यारोपण’, ‘भग्न आस्थाका खण्डहर’, ‘अग्निचक्र’, ‘विज्ञानका कैदी’, ‘खोसिएको सुख’ आदि कथासंग्रहहरू, ‘अप्रिलको फूल’, ‘मनका तुलिकामा स्मृतिका विम्ब’ र ‘ओ नेपारु...’ नियात्रासंग्रहहरू तथा ‘डोटेली लोकसंस्कृति र साहित्य’, ‘मरुभूमिको फूल’, ‘सर्पदंशित मेरो वर्तमान’, ‘परिशीलन’ आदि विभिन्न पुस्तकहरू खोतलखातल गरेको छु । पढेको छु अधिकांश । अनि, उनी साहित्यिक शिखरमा उक्लेको अनुभूत गरेकोे छु ।

विजयका पत्रकारिता सम्बन्धित पुस्तकहरू ‘समाचार लेखन तथा सम्पादन’, ‘आमसञ्चारका विविध पक्ष’, ‘समाचार संकलन तथा सम्पादन’, ‘आमसञ्चार, द्वन्द्व र आतंकवाद’ तथा ‘आमसञ्चारका सिद्धान्तहरू’ले मलाई पत्रकारिताको कखरा सिकाएको छ ।

बालसाहित्य भनेपछि हुरुक्कै हुने म ! उनले दर्जनौँ बालसाहित्यको कृतिहरू बालबालिकासामु पस्किएको पाउँदा गदगद भएको छु । बालबालिकाका प्रिय लेखक विजयको पहिलो प्रकाशित बालसाहित्यको पुस्तक हो, ‘दयालु राजकुमार’ । यो एउटा बालचित्रकथा हो ।

अन्य चित्रकथामा ‘लोखर्केको जिद्दी’, ‘म नेपाली’, ‘का का काग’, ‘चंखे मन्त्री’, ‘चिँचीको र्‍याफ्टिङ’, ‘नयाँ साथी’ आदि हुन् । बालकथासंग्रहहरूमा ‘हराएको मूर्ति’, ‘टाटेपांग्रे’ (संयुक्त), ‘किसानबाट शिक्षा’, ‘चटकीको बाँदर’, ‘अमूल्य उपहार’ (संयुक्त), ‘यती, अन्तरिक्ष र गाउँघरको कथा’, ‘विजय चालिसेका बालकथा’ आदि बालपाठकहरूले रुचाएको पाएको छु ।

यसका साथै ‘मंगल ग्रहमा विज्ञान’, ‘मुस्ताङको गुफा’, ‘लालुको यात्रा’ जस्ता बालउपन्यास र ‘बादलका बुट्टाहरू’ (बालनाटकसंग्रह), ‘हाम्रा वरवरका विज्ञान’ (बालप्रबन्ध), ‘सेवाका प्रतिमूर्ति’ (जीवनी), ‘अनौठो भूमिमा एलिस’ (अनूदित उपन्यास), ‘विश्वप्रसिद्ध बालकथाहरू १’ र २’, ‘प्रसिद्ध चिनियाँ बालकथाहरू’, ‘विश्वका बालकथा’, ‘क्याप्टेन कुक’ आदि उनका अनूदित बालपुस्तकहरूले बालबालिकालाई विश्व चिनाएका छन् ।

वरिष्ठ साहित्यकार विजयले साहित्यका विविध विधाहरूमा कलम चलाएका छन् । म पनि साहित्यका धेरै विधालाई अपनाउँदै आएको छु । मलाई लाग्छ, साहित्यिक यात्रामा विजय शिखरोन्मुख थिए । म अझैँ पाइला चाल्दै छु ।

विक्रम संवत् २००८ असारमा पिता रामेश्वर चालिसे (रमेश विकल), माता सुशीला चालिसेका कोखबाट जन्मेका परम मित्र विजय चालिसेले गोरखापत्र संंस्थानमा पत्रकारिताका लागि लामो समय पसिना बगाए । हालै उनी गोरखापत्र प्रकाशनको १२५ वर्ष तथा गोरखापत्र संस्थानको ६३औँ वार्षिकोत्सवको अवसरमा ‘कुलचन्द्र इन्दु पत्रकारिता पुरस्कार, २०८२’ बाट पुरस्कृत हुनु गौरवको क्षण रह्यो । आफू पनि पुरस्कृत भएको अनुभूत गरिरहेको छु ।

साझा बालसाहित्य पुरस्कार, नेबासास बालसाहित्य उत्कृष्ट लेखन पुरस्कार, रोनाष्ट जीवनी लेखन पुरस्कार, गोकर्णेश्वर नपाको गोकर्णेश्वर साहित्य पुरस्कारजस्ता थुप्रथुप्रै पुरस्कार र सम्मानबाट सम्मानित विजयले ७४ वर्षको उमेरमा २०८२ जेठ १६ मा महाप्रस्थान गरेर हामीलाई स्तब्ध तुल्याएका छन् ।

नेपाल बालसाहित्य समाज, नेपाल विज्ञान लेखक संघ, बन्धु पुस्तकालय, प्रेस चौतारी, रमेश विकल साहित्य अध्ययन प्रतिष्ठानजस्ता दर्जनौँ साहित्यिक, सामाजिक संघसंस्थामा आबद्ध बहुविद् साहित्यकार विजयको असामयिक निधनले नेपाली साहित्य तथा पत्रकारिताजगत्मा ठूलो क्षति पुगेको अनुभूत गरिरहेछु म ।

दिवंगत आत्माको चिरशान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली ! अन्जु, अरुण, आलोकका साथै सबै परिवारजनमा हार्दिक समवेदना !

विजय तेजोमय बन्दै अमर रहून् ।

(चन्द्रागिरि नगरपालिका–१५)

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  ११:३२
प्रतिक्रिया दिनुहोस्