site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मध्यरातमा बुद्धको विद्रोह

बर्खे झरी नलाग्दै
हलुवाबेदका हाँगाहाँगामा
पाखण्ड र व्यभिचार
झुल्दै गएपछि
एकाबिहानै मौसम
समयको फेदमा बसेर
कटुवाल फुक्छ– होसियार,
पातकीहरू जुर्मुराउँदै छन् !

हिजै राति
भट्टीवाल्नीको चोलीगुन्युमा
पिङ खेलेर थाकेको
लाहुरेको एकथान बर्दी
आज हिमाल नापेको
फुइँ लाउँछ !
तब मध्याह्न चिच्याउँछ– होसियार,
बेइमानहरू हुँकारिँदै छन् !

Argakhachi Cement Island Ad

एक मुट्ठी हाँसो बन्धकी राखेर
पैँचो मागेको एकथान
जडौरी पहेँलो पटुकी
कम्मरमाथि गुन्युको
बार्दलीमा उभिएर
भक्कानो छोडिरहेछ !

डनवाद र धनवादको मैदानमा
नैतिकता बेचेर किनेको
इस्टकोटको खल्तीमा रोइरहेछन्
एक जोर स्वाभिमानका प्रमाणपत्र !

भ्रष्ट, डकैत, लुटतन्त्र
अपराध र छाडातन्त्रको लोखर्के
सहर पसेको उहिले हो !
त्यसले खानु खायो
छानु चपायो
दलिन, धुरीखामो
डाँडाभाटाधरि छोडेन !

सदन तिनकै
सडक तिनकै
मञ्च तिनकै
आँगन र पिँढी तिनकै
सिर्जनाको सप्तरंगी
इन्द्रेणी तिनकै पेवा
लेक, बेँसी र मैदान
तिनकै दाइजो
हेरेर यसैयसै
फुरुंग छ 
मकै चोर्ने ढंग समेत
नभएको पारि वनको ढेडु
मदारीको चालमा !

जसैजसै सिर्जनाको
रानी तलाउमा
फक्रेका सुकोमल
कमलका थुँगामाथि
बलात्कारको नचरी चल्छ !

शनैःशनैः
स्वयम्भूको चैत्यमा
भैरव जाग्छन्
स्वान्त सुखाय
स्वप्निल ध्यानस्थ बुद्ध
थर्थराउँदै जुरुक्क उठ्छन्
र, मध्यरातमा तल
सडकमा ओर्लेर
राँको नचाउँछन्– होसियार,
बापतीहरू डुक्रिँदै छन् ।

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  १२:४६
प्रतिक्रिया दिनुहोस्