-1749271214.jpg)
विक्रम संवत् २०४२ साल । भदौ महिना । खेतको मैजारो गरिसकेर बुवाले ६५ रुपैयाँमा काटिदिएको टिकट लिएर ‘शुभयात्रा’ रात्रिबसमा चढेँ । एउटा सानो झोलामा आफ्ना फेरफारे लुगा र एसएलसीको लब्धांकपत्र बोकेर क्याम्पसको फर्म भर्न काठमाडौं हिँडेको थिएँ ।
मेरा साइँला मामाका जेठा छोरा महेन्द्रप्रसाद भेटवाल एक वर्षअघि नै काठमाडौंं आएर पढदै हुनुहुन्थ्यो । दाइकै सल्लाहमा मैले पनि काठमाडौं पढ्ने विचार बनाएँ । अनि, हिँडेको थिएँ राजधानीतिर ।
पुगनपुग एक हप्ताजति बसेर पाटन संयुक्त क्याम्पसमा आईएको फर्म भरेर म घर फिरेँ । दसैँतिहारले छोप्न लागेको थियो । त्यसैले क्याम्पसमा पढाइ भए पनि मंसिर लागेपछि मात्रै हुने भन्ने थियो ।
दसैँमा घर आउनुभएका महेन्द्र दाइबाट थाहा भयो, भर्नाका लागि क्याम्पसमा मेरो नाम निस्किएन । तर, भर्ना हुन खासै समस्या नहुने कुरा पनि दाइले बताउनुभयो । भन्नुभयो, “सुरेन्द्र सर हुनुहुन्छ !”
म सुरेन्द्र सरबारे अनभिज्ञ थिएँ ।
आखिर समय न हो, चक्रानुसार घुमेर आइहाल्छ । मंसिरको पहिलो साता म केही समयका लागि पुग्ने दालचामल, ओढ्नेओछ्याउनेजस्ता सामलतुमलको भारी बोकेर अनि केही सपनाहरू साथमा सँगालेर काठमाडौंको यात्रामा निस्किएँ ।
क्याम्पसमा पढाइ सुरु हुन लागेको थियो ।
एक दिन महेन्द्र दाइले मलाई पाटन संयुक्त क्याम्पस, पाटनढोकामा लग्नुभयो । र, सुरेन्द्रप्रसाद जोशी (रेग्मी) सरको अफिसमा पुर्याउनुभयो । सर कामविशेषले क्याम्पस प्रमुख मंगलराज जोशीको कोठातिर जानुभएको रहेछ ।
‘मैले सबै कुरा भनिसकेको छु । सुरेन्द्र सर आएपछि भेट्नू र भर्ना भएर आउनू’ भन्दै दाइ बाहिर निस्किनुभयो । झन्डै एक घण्टापछि सर आउनुभयो । आफ्नो कुर्सीमा बसेपछि मैले उहाँलाई नमस्कार गरेँ र आफ्नो परिचय दिएँ ।
सेतो सर्टमाथि निलो कोट, कालो पाइन्ट, शिरमा भादगाउँले टोपी र आँखामा पावरदार चस्मा । यही रङरूप थियो सरको ।
एकैछिन सरसँग भर्नाका कुरा भए । उप्रान्त आफ्ना केही निजी कुरा राख्नुभयो । उहाँ एक वर्षका लागि भनेर २०२० को दशकमा धुलाबारी माध्यमिक विद्यालयमा पढाउन गएको तर चार वर्षसम्म प्रधानाध्यापक भएर बसेको प्रसंग सुनाउनुभयो ।
त्यसपछि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेसामा आएको र एक वर्ष भोजपुरमा क्याम्पस प्रमुख भएर बसेको पनि उहाँले सविस्तार भन्नुभयो । त्यति मात्रै नभएर आफू धुलाबारीमा रहँदा इँटाभट्टा चोकमा एक कट्ठा घडेरी पनि किनेको र हिँड्ने बेला आफ्नो डेरामा काम गरिदिने स्थानीय राजवंशी महिलालाई मौखिकै दिएर हिँडेको पनि सुनाउनुुभयो ।
म किंकर्तव्यविमूढ भएर उहाँका कुरा सुनिरहेँ । बोल्नु नै के थियो र !
मेरो कागजपत्र आफ्नो हातमा बोकेर सुरेन्द्र सर क्याम्पस प्रमुखको कार्यालयतिर लाग्नुभयो । म उहाँको पछिपछि लागेँ । थुप्रै विद्यार्थीमाझ घेरिएर बसेका थिए, क्याम्पस प्रमुख मंगलराज जोशी ।
एकछिनपछि सुरेन्द्र सर प्रशासन फाँटतिर लाग्नुभयो र म पनि अघिझैँ सरकै पछिपछि लागेँ । प्रशासनका एकजना दौरासुरुवाल लगाएर बसेका सिकुटे कर्मचारीलाई मेरो कागजपत्र बुझाउँदै केही भनेर सर बाहिरिनुभयो ।
केही बेर म बाहिरै बसेँ । क्याम्पस भर्ना हुनेहरूको भीड थियो । केही समयपछि मेरो पालो आयो । उनले रसिद काटेर मसँग पैसा मागे । मैले पनि मागेको रकम बुझाएँ ।
उनले फेरि कागजपत्र हेरेर भने, “खै ट टोक ?”
यसैमा उनी एकछिन अलमलिए । तर, केही सोचेर कागजपत्र थान्को लगाएर मेरो रोल नम्बर ३४११ लेखिएको रसिद दिए । भीडका कारण सरले क्याम्पस प्रमुखको तोक नै लगाउन बिर्सनुभएको रहेछ क्यार !
यसरी मेरो पाटन संयुक्त क्याम्पसमा भर्ना भएको थियो ।
यहाँ सुरेन्द्र सरको धुलाबारीको इँटाभट्टाको घडेरी प्रसंग अलिकति जोड्दा रोचक नै होला ।
घडेरी किने पनि पछि गएर सर काठमाडौंतिर लाग्नुभयो । एक किसिमले त्यो जग्गा बेवारिसेजस्तै थियो । त्यो समयमा एक कट्ठा जग्गा र त्यसमा खेतीको के नै महत्त्व हुन्थ्यो र ?
पछि आवादी बढ्दै गएपछि घरहरू बन्न थाले । त्यो जग्गामा स्थानीय नेताका आँखा पर्न थाले । केही टाठाबाठाले हत्याउन पनि खोजे ।
एकपल्ट त चारपाते क्लबको झन्डासहित नाम समेत टाँगेर राखेको सम्झना मलाई छ ।
मेरो विषय राजनीतिशास्त्र भए पनि म सुरेन्द्र सरको विद्यार्थी भने हुन सकिनँ । कारण, म रात्रि कक्षाको विद्यार्थी थिएँ । हामीलाई नक्सालका रमेशकुमार श्रेष्ठले राजनीतिशास्त्र पढाउँथे ।
केही समयपछि सुरेन्द्र सर विश्वविद्यालयको जमल कार्यालयमा सरुवा भएर जानुभयो । कहिलेकाहीँ सरलाई साइकलमा वाग्मती पुलतिर भने देख्थेँ, तथापि कुराकानी गर्ने मौका मिल्दैन्थ्यो । त्यस बेला धेरै प्राध्यापकहरूको सवारीसाधन साइकल नै हुने गर्दथ्यो ।
म राष्ट्रिय वाणिज्य बैंकको मुख्य शाखा कार्यालय विशालबजारमा काम गर्थें । २०४९ या ५० सालतिर हुनुपर्छ । मलाई खोज्दै झापाको हाम्रो छिमेकी रतिया राजवंंशी मेरो अफिसमा आइपुगे । उनी सुरेन्द्र सरले जग्गा दिएकी महिलाका श्रीमान् थिए ।
बुवाले उनलाई मेरो ठेगाना दिएर पठाउनुभएको रहेछ । कारण, सुरेन्द्र सरले उनलाई त्यही इँटाभट्टाको जग्गाको हक हस्तान्तरण गर्न भनेर बोलाउनुभएको रहेछ, २५ वर्षपछि ।
म र भाइ टंक त्यस बेला रातोपुलमा कोइरालाका घरमा डेरा गरी बसेका थियौँ । भाइले भोलिपल्ट रतियालाई मालपोत कार्यालय लग्यो । सरले त्यहीँ बोलाउनुभएको थियो ।
दुई दिन हाम्रो डेरामा बसेर काम सकिएपछि उनी झापा फर्किए । केही समय उनी त्यही जग्गामा घर बनाएर बसेका थिए । पछि उनले त्यो घडेरी बिक्री गरेर धानखेत र अर्को घडेरी किनेर घर समेत बनाए ।
यसरी एउटा गरिब परिवारको आर्थिक अवस्थालाई मजबुत बनाउने काम सुरेन्द्र सरले गर्नुभएको घटना मेरो मनमा ताजा छ ।
आजको समय नेपाली कांग्रेसका महामन्त्री झापा क्षेत्र नम्बर तीनका प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माका मामा हुनुहुन्थ्यो, सुरेन्द्र सर । त्यस्तै, चर्चित समाजसेवी मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मला सरकी सहोदर बहिनी हुनुहुँदो रहेछ भन्ने पछि थाहा पाएँ ।
विश्वप्रकाशका बुवाआमा दुवैजना धुलाबारी स्कुलका शिक्षक भएको नाताले पो सुरेन्द्र सरको साइनो धुलाबारी स्कुलसँग गाँसिएको थियो कि !
उनै सुरेन्द्रप्रसाद जोशी (रेग्मी) सरले २०८२ वैशाख १२ मा यो भूलोक त्याग्नुभएको खबर थाहा पाएँ, गुरु माधवप्रसाद पोखरेलको सामाजिक सञ्जालबाट ।
स्तब्ध भएँ !
यिनै शब्दमार्फत सुरेन्द्र सरप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।