काठमाडौं । नेपालगञ्जमा गत वर्ष म्यारथन प्रतियोगिता भयो । एउटा इभेन्ट म्यानेजमेन्टले सञ्चालन गरेको प्रतियोगितालाई नेपाल एथ्लेटिक्स संघले ओलम्पिक छनोटको रुपमा लियो । उक्त, प्रतियोगितामा प्रथम भएको खेलाडीले ओलम्पिकमा छनोट हुने भन्दै आशा देखाइयो । प्रतियोगितामा प्रथम भएका थिए, गोपीचन्द्र पार्की । उनी नेपालका लागि १३ औं सागमा स्वर्ण पदक जित्ने खेलाडी हुन् ।
प्रथम भएसँगै ओलम्पिकमा नेपालका तर्फबाट वाइल्डकार्ड इन्ट्रीमार्फत उनले सहभागिता जनाउने तय थियो । उनी प्रथम भएको केही दिनपछि नेपाल एथ्लेटिक्स संघले ०७७ पुस २७ गते उनलाई ओलम्पिक छनोटका लागि सिफारिस गरेको बतायो । संघका अध्यक्ष राजीव विक्रम शाहले हस्ताक्षर गर्दै उनलाई सहभागिता जनाएको पत्र पठाए । उक्त पत्रसँगै पार्कीलाई सम्मान गर्ने गरेको फोटो पनि हालियो ।
ओलम्पिक नजिक हुँदा पार्कीलाई सहभागिता हुनबाट बञ्चित गरियो । उनलाई सहभागिता नगराउने भन्दै नेपाल ओलम्पिक संघ, राखेप र एथ्लेटिक्स संघले पार्कीलाई जनकारी गराए । म्याराथनको हकमा कोटा भन्दा धेरै आवेदन परेको भन्दै नेपालबाट म्याराथन नभएर एथलेटिक्सको महिला विधाको सय मिटरमा सरस्वती चौधरीको नाम सिफारिस गरिएको छ । अब गोपीको स्थानमा सरस्वतीले सहभागिता जनाउने छिन् ।
“मैले भन्न मिल्दैन, कमोरी हाम्रोबाट नै भएको छ । अन्तिम समयमा आएर मेरो नाम हटाउने निर्णय यही निकायबाट भएको हो । मलाई कमजोर बनाउने पनि यही निकायबाट भएको हो,” गोपीले बाह्रखरीसँगको कुराकानीमा भने ।
यही प्रतियोगिताका लागि भनेर गोपीले डेढ वर्षदेखि तयारी गरि रहेका छन् । उनले साथिहरुसँग ऋण मागेर तयारी गरे । नेपालगञ्ज म्याराथन, एथ्लेटिक्स संघका अध्यक्षको सिफारिस अनि ओलम्पिक संघको निर्णय यो सबै गोपीका लागि अहिले भ्रम भएको छ ।
मेहनत गरिरहेका पार्कीको अन्तिम समयमा आएर नाम सूचिबाट निकालिएको छ । उनी अहिले धेरै कुरा सोच्न सक्ने अवस्थामा छैनन् । किन भने हरेक खेलाडीको ओलम्पिक खेल्ने सपना हुन्छ । खेल जीवन सफल बनाउन ओलम्पिकमा सहभागिता जनाउने उनीहरुको चाहना हुन्छ ।
सहभागि मात्र होइन देशका लागि स्वर्ण जित्ने सपना नै हुन्छ । यो सपना अन्तिम समयमा टुट्दा ऊ कमजोर बन्छ । देशका लागि खेल्ने खेलाडीको सपना माथि प्रहार गरिएको छ ।
“खेलाडीको सपनामाथि प्रहार भयो । उती बेला नाटक गरेर बोल्ने संघका पदाधिकारी अहिले चुप छन् । उनीहरु मेरो पीडालाई सम्बोधन गर्ने अवस्थामा छैनन् । मेरा लागि बोल्ने संघ नै चुप बस्दा मैले कता गएर न्याए माग्ने भन्ने कुरा आउँछ । म झनै कमजोर भएको छु,” गोपीले भने ।
प्रतियोगिताका लागि गोपीले लमो समयदेखि तयारी गरेका थिए । बिहान ४ बजे देखि तयारीमा जुट्ने उनले सधैं देशका लागि सोचे । देशमा पदक ल्याउने आफ्नो मुख्य लक्ष्य तय गरे । तर, सबै कुरा सोचे जस्तो भएन । अन्तिम समयमा न उनको तयारीको कदर भयो नत त्यागको ।
अहिले उनलाई आफूलाई खेलाडी भनेर चिनाउन पनि नराम्रो लाग्छ । उनी आफू खेलाडी भएकोमा गौरव गर्दैनन् । गौरव गरुन् पनि कसरी ? जुन खेलबाट उनले देशका लागि पदक जिते आज उही खेलले उनको पदकको अपमान गरेको छ ।
“बिहान ५ बजे उठेर ट्राफिक प्रहरीले आफ्नो डिउटी गर्थे भने मैले ४ बजे उठेर देशका लागि डिउटी गर्थें । मलाई अहिले आफू खेलाडी हुँ भन्दै चिनाउन पनि लाज लाग्छ । देशका लागि सागमा पदक जिते अहिले उक्त पदक पनि खोसिएको छ । मेरो विषयमा केही कुरा मिडियाले बोले पनि संघका पदाधिकारी चुप छन् । कारण किन हो मलाई पनि थाहा छैन । प्रायः कमजोरी गर्नै व्यक्ति सधैँ पछि हट्छ भन्ने भनाइ छ,” पार्कीले भने ।
उनले बेला–बेला आफूलाई कमजोर सम्झन्छन् । कुनै बेला देशका लागि खेल्दिन भन्ने सोच पनि उनलाई आउँछ । अहिले उनले खेल नै छोडेर अन्य कुनै पेशा अंगाले भने नेपालले एक असल खेलाडी गुमाउने छ ।
उसोत संघ र खेल निकायले गर्ने यस्तै कमजोरीका कारण खेलाडी आफ्नो खेल जीवनलाई त्यागेर अन्य पेशा अंगाल्ने गर्दछन् । किन भने बेल–बेलमा संघबाट हुने यस्तै क्रियाकलापले उनीहरुलाई आफ्नो भविश्यप्रति सोच्नु पर्ने अवस्था आउँछ ।
घरेलु मैदानमा सम्पन्न भएको १३ औं सागको चारदिन अघि कीर्तिमानी खेलाडी तुलसा खत्री कतार पुगिन् । यसमा उनको कमजोरी भने थिएन । परिवारको कमजोर आर्थिक अवस्था देखेर उनी कतार गइन् । संघले वर्षमा एउटा पनि प्रतियोगिता नगर्दा उनले आफ्नो भविश्य नदेखी विदेशिनु ठूलो कुरा भने होइन ।
एथ्लेटिक्स संघ र खेल निकायले गर्दा फेरी नेपालले पार्की जस्ता खेलाडीलाई पनि विदेशिन बाध्य बनाइरहेका छन् । खेल र खेलाडीलाई राष्ट्रको ‘गहना’ भन्ने तर, कुन चाहीँ गहना हो भनेर क्रिकेट खेलाडी सन्दीप लामिछानेले सोधेको प्रश्न यहाँ पनि लागु हुन्छ ।
पार्की अहिले लाचार छन् । उनलाई फेसबुकमा साहानुभूति जनाउने धेरै छन् । उनलाई उक्त साहानुभूतीले केही फरक पर्दैन । किनेभने हरेक टुटेको चिज, बस्तु या व्यक्ति जोडिन्छ भन्ने छैन ।