site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘उपाधि जित्ने हाम्रो लक्ष्य’

काठमाडौं । एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा नेपाली पुरुष भलिबल टोलीको राम्रो इतिहास छैन । सेन्ट्रल जोन भलिबलको नयाँ संस्करणमा भने नेपाली भने नयाँ इतिहास कोर्ने दाउमा छ । 

दोस्रोपटक नेपाली भलिबल टिमको प्रशिक्षकको जिम्मेवारी पाएका हान अविङले मंसिर २ गतेदेखि प्रशिक्षण दिइरहेका छन् ।

घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका र केही नयाँ अनुहारलाई लिएर उनले २० जना खेलाडीको टिम तयार पारे । पहिलो चरणमा उनले २० खेलाडीबाट १६ मा झारे । प्रशिक्षक हान मंसिर १६ गते भलिबल टोलीको घोषणा गर्ने योजनामा छन् । 

उपाधि नै जित्ने योजना बनाएको नेपाली टोली राम्रो बनेको प्रशिक्षक हाको भनाइ छ । तर, उपाधि जित्ने लक्ष्य लिँदा वास्तविकतामा पनि ध्यान दिनुपर्ने उनी बताउँछन् । 

“प्रतियोगिताका लागि पूर्ण रूपमा तयार हुन अझै एक साता लाग्नेछ । खेलाडीहरू अहिले राम्रो अवस्थामा छन् । अझै तयारी राम्रो हुन सक्यो भने टिम उत्कृष्ट बन्नेछ । अहिलेको लक्ष्य सफलता हो । उपाधि जित्ने लक्ष्य पनि हो तर हामी वास्तविकतामा पनि ध्यान दिइरहेका छौँ,” प्रशिक्षक हानले भने । 

सेन्ट्रल जोन भलिबलमा नेपाली पुरुष टोलीको हालसम्मको सफलता भनेको तेस्रो संस्करणमा कास्य पदक हो । यो पटकको च्याम्पियनसिप ढाकामा आगामी डिसेम्बर २१ देखि २९ सम्म चल्ने तालिका रहेको छ ।

घरेलु कोर्टमा नै भएको प्रतियोगितामा सेमिफाइनलसम्म पुग्न नसकेको नेपाललाई यसपटक उपाधि जित्न सहज भने छैन । बलियो टोलीसँग प्रतिस्पर्धा गर्न नेपाली टोलीलाई न त धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ नत विदेशी टोलीसँगको खेल अनुभव । 

प्रशिक्षक हान पनि कम तयारीले उपाधि नै जित्न सहज नभएको स्वीकार गर्छन् । उनले ठुलो प्रतियोगिताका लागि अझै तयारी गर्नुपर्ने बताए । अन्तर्राष्ट्रिय स्तरको खेलहरूको अनुभव कम भएकाले खेलाडीलाई प्रतियोगितामा केही असहज हुने प्रशिक्षक हान बताउँछन् । 

“हाम्रो तयारी लामो समय भएन । खेलाडीहरूले सागपछि राष्ट्रिय टोलीका लागि प्रशिक्षण गरेका छैनन् । यो तयारीले उपाधि जित्न सकिन्छ भन्ने होइन । तर, हामी कमजोर बन्ने छैनौँ,” उनले भने ।

लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा अहिले दैनिक दुई टक पुरुष टोलीले प्रशिक्षण गरिरहेको छ । सन् २०१९ को डिसेम्बरमा नेपालमै भएको १३औँ दक्षिण एसियाली खेलकुद खेलेयता नेपाली टोलीले कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन । नेपाल सागमा भारत र बंगलादेशसँग पराजित हुँदै समूह चरणबाट बाहिरिएको थियो । 

“तीन वर्षसम्म एउटै टिम भएर तयारी गरेका थिएनन् । खेलाडीहरूको कम्बिनेसन मिलाउन लामो समय लागेन । तर, फिटनेसमा धेरै ध्यान दिएका छौँ । खेलाडीहरू फिटनेसमा फोकस गरिरहेका छन्,” हानले भने ।

यता लामो समयपछि प्रशिक्षणमा फर्केका स्पाइकर मानबहादुर श्रेष्ठ पनि आफूले उत्कृष्ट प्रदर्शन गरेर टिमलाई सफलता दिलाउने समय आएको बताउँछन् । उनले टिमका लागि आफू कति महत्वपूर्ण छु भन्ने देखाउने बताए । 

२०७६ को वैशाखमा लुम्बिनी प्रदेशमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता त्रिभुवन आर्मी क्लबमा नखेलेका मानबहादुर साग भलिबल र एभीसी सेन्ट्रल जोलको टोलीमा परेनन् । क्लबको स्वीकृतिविना भलिबल प्रतियोगिताका लागि जापान गएको भन्दै आर्मीले उनलाई टिममा सामेल गरेन । 

साग बिच भलिबलमा सहभागिता जनाएका मानबहादुर अब भलिबलमा उत्कृष्ट प्रदर्शन गर्दै टिममा स्थापित हुने योजनामा छन् । करिब तीन वर्षपछि टिममा परेका मानबहादुर अहिले प्रतियोगिताका लागि उत्साहित छन् । 

“लामो समयपछि टोलीमा फर्केको छु । देशका लागि खेल्ने चाहना हुँदाहुँदै पनि केही कमजोरीका कारण टिममा परिनँ । अब देशका लागि खेल्ने मौका पाएको छु । उत्कृष्ट प्रदर्शन गर्दै टिममा स्थापित हुने मेरो योजना छ,” मानबहादुरले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  २०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro