
काठमाडौं । एसियन च्याम्पियनसिपअन्तर्गत लाओसविरुद्धको खेलअगाडि नेपाली राष्ट्रिय फुटबल टोलीले भियन्तियनमा अभ्यास सुरु गरेको छ । शुक्रबार राति लाओसको राजधानी भियन्तियनमा पुगेको नेपाली टोलीले शनिबारदेखि अभ्यास थालेको हो ।
कप्तान किरण चेम्जोङले लाओसको वातावरण र मौसमलाई मध्यनजर गर्दै टोलीले अभ्यास सुरु गरेको बताए । च्याम्पिनसिपको खेल हुनु तीन दिनअघि लाओसमा अभ्यास गर्ने वातावरण बनेकाले फाइदा पुग्ने उनले उल्लेख गरे । हङकङसँग बराबरी खेलेर नेपाली टोली हौसिएको छ ।
यसअघि पनि लाओससँग खेलिसकेको हुँदा धेरै समस्या नहुने उनले बताए । खेलाडीको थकान मेटाउँदै अभ्यासबाट ऊर्जासहित घरेलु टोली लाओससँग प्रतिस्पर्धा गर्ने उनले सुनाए । बलियो टोली हङकङसँग खेल्दा नेपाललाई फाइदा पुगेको उनको भनाइ छ ।
मैदानमा करिब दुई घण्टा अभ्यास गरेका खेलाडीलाई प्रशिक्षक म्याट रसले मानसिक र शारीरिक रूपमा तयार रहन आग्रह गरे ।
खेलाडीले चर्को घाम र गर्मीसँगै अभ्यास गरेका थिए । नेपाली टोलीले आउँदो मंगलबार (जेठ २७) लाओससँग प्रतिस्पर्धा गर्दै छ । लाओससँगको पछिल्ला ६ खेलमा नेपाली टोली चारमा विजयी भएको थियो । दुई खेलमा बराबरीको नतिजा थियो ।
लाओसको मैदानमा यसअघि नेपाली टोलीले दुईमध्ये एक खेल जितको थियो । एक खेल बराबरीमा टुंगिएको थियो । न्युज एजेन्सी नेपाल