काठमाडौं । मंगलबार देशभर असार १५ मनाइएको छ । असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा पनि मनाउने गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरेर २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै ‘छुपुछुपु’ हिलोमा धान रोपिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।
मंगलबार काठमाडौंको टोखाका किसानहरूले रमाइलो गरी रोपाइँ सम्पन्न गरेका छन् । महिलाहरूले आफ्नै नेवाः भाषामा असारे गीत गाएका थिए । एक अर्कामा हिलो फालेर खेल्नेसँगै रोपाइँ सकाएर दही चिउरा र भोज गरेका थिए ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी