site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा सडक दुर्घटनामा एघार महिनामा १२० जनाको मृत्यु, ६४६ घाइते 

चितवन । चालु आर्थिक वर्षको साउनदेखि ज्येष्ठ मसान्तसम्म चितवनमा  सडक दुर्घटनामा परेर १२० जनाको मृत्यु भएको छ । ६४६ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ११ महिनाको अवधिमा सबैभन्दा बढी मृत्यु चैत महिनामा भएको छ भने सबैभन्दा कम मृत्यु जेठ र भदौमा भएको छ । सडक दुर्घटनामा परी चैतमा २६ जनाको मृत्यु भएको छ । जेठ र भदौमा तीन/तीनजनाको मृत्यु भएको छ ।

भदौमा सडक दुर्घटनामा ४६ जना घाइते भएका थिए । यस्तै, मंसिरमा सबैभन्दा बढी १०४ जना घाइते भएका थिए । जेठमा सबैभन्दा कम ३१ जना घाइते भएका कार्यालयले जानकारी दिएको छ ।

सवारी दुर्घटनामा परेर मंसिरमा १३ जनाको मृत्यु भएको थियो । यस्तै, पुसमा १५ जनाको मृत्यु, ६० घाइते, माघमा १४ जनाको मृत्यु, ६४ घाइते, कात्तिकमा ११ जनाको मृत्यु, ५६ घाइते भएका थिए ।

यसैगरी, साउन आठजनाको मृत्यु, ३९ घाइते, असोजमा आठजनाको मृत्यु, ६२ घाइते, वैशाखमा १२ जनाको मृत्यु, ४५ घाइते र फागुनमा सातजनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका प्रमुख भगवानराज थापाले भने, “विगत पाँच वर्षअगाडिको ट्रेन्ड हेर्ने हो भने मंसिर महिनामा मृत्युको संख्या बढी थियो । तर, गत चैत्रमा भएको एउटै मात्र सवारी दुर्घटनामा आठजनासम्मको मृत्यु भएको छ ।” प्रायः मंसिर महिनामा बिहे, ब्रतवन्ध र मानिसको चहलपहल बढी हुने गरेका कारण यो महिनामा घाइतेको संख्या पनि बढेको उनको भनाइ छ ।

“यो जेठ महिना त पूरै निषेधाज्ञा जारी भयो, सवारी चाप नभएपछि मानवीय क्षति पनि कम हुने भो,” थापाले भने, “मंसिर महिनामा मानिसको चहलपहल र सवारीचाप पनि बढ्यो । यो महिनामा भिजिविलिटी कम देखिने रहेछ ।”

सबैभन्दा बढी मृत्यु र घाइते भित्री सडकमा 
चालु आर्थिक वर्षको जेठसम्म सबैभन्दा बढी मृत्यु र घाइते भित्री सडकमा भएका छन् । कार्यालयका अनुसार ११ महिनाको अवधिमा भित्री सडकमा ५३ जनाको मृत्यु भएको छ भने २१८ जना घाइते भएका छन् ।

यस्तै सबैभन्दा कम मृत्यु र घाइते सहरीखण्डका सडकमा भएका छन् । सहरी सडकखण्डमा यो अवधिमा सातजनाको मृत्यु भएको छ भने ९२ जना घाइते भएका छन् ।

यस्तै, दोस्रो बढी सवारी दुर्घटनामा पर्ने सडकखण्ड पूर्व–पश्चिम लोकमार्ग रहेको छ । जहाँ एघार महिनाको अवधिमा ३९ जनाको मृत्यु भयो भने १७५ जना घाइते भए ।

कार्यालयले दिएको तथ्यांकानुसार यस अवधिमा नारायणगढ–मुग्लिन सडकखण्डमा सडक दुर्घटनामा १३ जनाको मृत्यु र १३६ जना घाइते तथा पृथ्वी राजमार्गमा आठजनाको मृत्यु र २५ जना घाइते भएका छन् ।

कार्यालयका प्रमुख थापाका अनुसार पछिल्लो समय भित्री सडकखण्डहरु विस्तार हुँदै जाने र यातायातको पहुँच बढ्दै गएकोले भित्री सडकमा बढी दुर्घटना भएर मानवीय क्षति हुने गरेको छ । “भित्री सडकमा लापरबाही पनि भयो । ट्राफिक प्रहरीको पहुँच पनि कम भयो । ब्लाइन्ट स्पट पनि भित्री सडकमै छ,” उनले भने ।

सहरी सडकखण्डमा ठूला सडक, ट्राफिक चेकिङ बढी, सीमित गति र चालक आफैँ संयमित हुने गरेकोले पनि मानवीय क्षति कम हुने गरेको उनको भनाइ छ ।

सबैभन्दा बढी सवारी दुर्घटना पनि भित्री सडकमै 
चालु आवको ११ महिनाको अवधिमा चितवनमा सबैभन्दा बढी दुर्घटना भित्री सडकमा भएको पाइएको छ । कार्यालयको तथ्यांकानुसार भित्री सडकमा सबैभन्दा बढी १३४ र सबैभन्दा कम २० वटा सवारी दुर्घटना पृथ्वी राजमार्गमा भएको छ ।

यस्तै, पूर्व–पश्चिम लोकमार्गमा १२३, नारायणगढ–मुग्लिन सडकखण्डमा ६१ र सहरी सडकखण्डमा ५९ वटा सवारी दुर्घटना भएको तथ्यांक छ ।

प्रमुख थापाले राजमार्ग र सहरी क्षेत्रका सडकभन्दा भित्री सडकहरु साँघुरो, कमजोर संरचना र लापरबाही बढी हुने गरेका कारण बढी दुर्घटना हुने गरेको बताए । “पछिल्लो समय मापसे गर्ने, चेकिङ छल्ने र लाइसेन्सविना सवारी–साधन चलाउनेले भित्री सडक बढी प्रयोग गरेको पाएका छौँ । उनले भने, “यस क्षेत्रमा हाम्रो जनशक्ति र ट्राफिक चिह्न पनि छैनन् ।”

सामान्य अवस्थामा चितवन भएर दैनिक झन्डै २५ हजार सवारी–साधन ओहोरदोहोर गर्छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  १२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro