काठमाडाैं । चितवन र त्यसवरिपरिका जिल्लामा कसैको घरमा सर्प पस्यो भने चितवनकै भरतपुर ४ का यमलाल भण्डारीको फोनको घण्टि बजिहाल्छ । फोनको घण्टि बज्ने बित्तिकै सर्पको प्रकृति हेरेर विशालु भएमा दिन होस या रात, झरी होस वा घाम यमलाल आफ्नी छोरी खुस्बुलाई लिएर त्यसतर्फ कुदिहाल्छन् ।
अझ बर्खायाम सुरु भएसँगै उनीहरुको यो दिनचर्याको धपेडी अझै बढ्न थाल्छ । वर्ष २०७८ को बर्खायाम पनि सुरु हुन थालिसकेको छ, त्यही कारण होला टिकटकमा केहीदिनदेखि यी सर्प उद्धारकर्ता बुबाछोरीको जोडिलाई अलि धेरै देखिन थालिएको छ । पछिल्लो पुस्तामा लोकप्रिय बन्दै आइरहेको टिकटकमा, यमलालकी छोरी खुश्बु सर्पको टोकाइबाट बच्न र यदि टोकिहालेमा के गर्नुपर्छ भन्ने जनचेतनामुलक भिडियोहरु राखिरहेकी हुन्छिन् ।
यमलालकी छोरी खुश्बुले ६ महिना अघिदेखि मात्रै सर्पको उद्दार गर्न थालेकी हुन् । छोराहरुले बुबाको बिडो थाम्ने वा भनौं बुबाको पाइला पछ्याउने चलन कुनै नौलो होइन । तर, खुश्बुले भने छोरी भएर पनि छोरा सरह बुबाको पाइला पछ्याइरहेकी छिन् । करिब २ वर्षजति बाबासँग पछि लागेर राम्ररी बाबाको कामलाई नियालिरहेकी खुश्बु अहिले भने आफैं सर्प उद्धारकर्ता बनिसकेकी छिन् ।
यमलालले यसरी सर्प उद्दार गर्न थालेको करिब ६ वर्ष भैसकेको छ । सर्प भनेपछि प्रायः सबैजना डराउँछन् । किनभने यसको टोकाई ज्यान लिन्छ । यमलाललाई पनि सर्पसँग डर नभएको त कहाँ हो र ! तर करिब ६ वर्ष अगाडि एउटा त्यस्तो घटना घट्यो र उनी उक्साहटमै लागेर सर्प उद्धारकर्ता बने ।
“आजभन्दा करिब ६ वर्षको कुरा हो, चितवनको भरतपुर हालको ६ वडास्थित एक जनाको गोठमा ठूलै सर्प छिर्यो भन्ने कुरा आयो । सर्प समात्न भनेर वनकार्यलयको गाडि आएको थियो र छरछिमेकहरुसँग म पनि त्यहाँ गएँ । पराल राखेको भित्र पसेको छ भनेपछि सबैले त्यो पराल थुत्न थाले र म पनि त्यही पछ्याउन थालेँ” उनी पहिलो अनुभव सुनाउँछन्, “जहाँनिर मैले पराल थुतेँ त्यहीबाट ठूलो अजिङगर निस्कियो । परालबाट बडेमानको अजिङगर निस्किएपछि सबैजना भाग्न थाले । तर, म भने यति धेरै डराएँ कि कतै जान पनि सकिन र डरले आत्तिएर त्यही अजिङगर नै समाउन पुगेछु ।”
उनी यति डराएका थिए कि, उनको आँखा बन्द थियो भने हातमा बडेमानको अजिङगर । एक्कासी वरिपरिबाट “ल भण्डारीले अजिङगर समाते” भन्ने आवाजले उनी झसङ भएर आँखा खोल्दा हातमा बडेमानको अजिङगर मुख पूरै खोलेर ऊ तर्फ हेरिरहेको थियो ।
पछि वन कार्यालयको गाडिमा लग्न जोख्दा २८ किलो थियो । त्यसपछि गाँउभरि भण्डारी त कति साहसिलो त्यत्रो अजिङगर समात्न सक्ने भन्दै उनको गुनगान हुन थाल्यो । यति मात्रै कहाँ हो र ? उनको चितवन पोस्टमा फोटो नै आएपछि उनी आफैं पनि केही उर्जा थपिएको महसुस गर्न थाले ।
त्यसपछि कुरा यतिकै सेलाउन थाल्यो र एकवर्ष पनि बित्यो । एकवर्षपछि फेरि भरतपुरमै अर्को एउटा घरमा पनि सर्प भेटिए छ । सबैले यमलाललाई नै सम्झिए । तर, यमलालले त्यो अजिङगर निडर भएर नभई डरले समातेको हो भन्ने उनी स्वयमलाई बाहेक कसैलाई थाहा थिएन ।
सबैले यत्रो तारिफ गर्दागर्दै डर लाग्छ भन्न उनलाई मन लागेन । त्यसैले डराएरै भए पनि दोस्रोपटक भने उनले आँट गरे र सफलतापूर्वक सर्पको उद्धार गरे ।
सबैले सर्पको उद्दार गर्न आफैंलाई बोलाउँछन् अब भने यसरी हुँदैन भनेर उनले युट्युब लगायत इन्टरनेटमा यसबारे अध्ययन गर्न थाले । र, चितवनकै पहिलो सर्प उद्धारकर्ताको रुपमा रहेका सुनिल सापकोटालगायत अन्य उद्धारकर्ताहरुलाई पनि फलो गर्न थाले । यसका डाक्टहरु देव पाण्डे, डा. छबिलाल लगायतसँग यसको प्रकृति, अपनाउनुपर्ने सावधानी लगायत सर्पको बारेमा थप जानकारी लिन थाले ।
यसो हुँदाहुँदै उनले आफ्नै लगानीमा करिब ६० हजार खर्चेर सर्प उद्धारकर्ताका लागि आवश्यक पर्ने सामानहरु किने ।
“त्यसपछि त मैले अरुलाई खोज्नेभन्दा पनि मलाई अरुले खोज्न थाले । जता सर्प भेटिए पनि मलाई फोन आउन थाल्यो । दिउँसो, बिहान अनि राति नभनिकन म फोन आउने बित्तिकै कुदिहाल्थें,” यमलाल सुनाउँछन् ।
सर्पको टोकाइबाट धेरैको ज्यान गएको भन्ने खबरहरु धेरै सुनेकै कारण पनि उनी आफ्नो डरलाई पन्छाएर समाजका बाँकी मानिसको डरको जरो सर्पको उद्धार गर्न लागेको उनी सुनाउँछन् ।
यमलाल समाचारमा सर्पको टोकाइबाट ज्यान गुमाएकाहरुबारे मात्रै थाहा पाउँदैनन् । हरेक दिनजसो कुनै न कुनै छोरी बलात्कारको शिकार हुने, त्यसपछि अमानवीय रुपमा त्यसको हत्या गर्ने जस्ता समाचारहरुबाट पनि चिन्तित थिए ।
तीन छोरीहरुका बुबा यमलाललाई यो चिन्ताले गाँज्नु स्वभाविक पनि हो । उनी आफ्नी छोरीहरु पनि यसको शिकार नहुन र निडर अनि आफ्नो सुरक्षा आफैं गर्न सकोस भन्ने सोचले ठूली छोरी खुश्बुलाई पनि आफ्नै लय पछ्याउन सिकाए ।
“हाम्रो समाजमा महिलालाई हेर्ने दृष्टिकोण, छोरा र छोरीमाथि गर्ने भेदभावले मलाई अत्यन्तै दुखित बनाउने गथ्र्यो । मेरो विचारमा छोरीहरुमा डरको कारणले गर्दा उनीहरु बलात्कार र हत्याहिंसा जस्तो जघन्य अपराधको सिकार हुनुपरेको हो जस्तो लाग्यो । किनभने हामी छोरीहरुलाई जहिले पनि कमजोर ठान्छौं र छोराहरुलाई दिने जस्तो सिकाई उनीहरुलाई दिँदैनौं,” यमलाल आफ्नो डर सुनाउँछन्, “छोरी मान्छेलाई यस्ता घटनाबाट बचाउन पहिलो भनेको उसमा सचेतना हुनुपर्यो अर्को भनेको उनीहरुमा निडरता आउनुपर्यो ।”
आफ्नी जेठी छोरी खुश्बुमा त्यही निडरता ल्याउन उनले सर्प उद्दार जस्तो डरलाग्दो बाटो देखाए ।
“हाम्रो समाजमा सर्पभन्दा पनि मान्छेहरु बिषालु भैसके,” उनी चितवनकै पछिल्लो घटनालाई जोड्दै थप्छन्, “यति विषालु भैसकेकी, हालै सविता भण्डारी वहिनीको घटना भयो, हेटौंडामा नै बुहारीलाई सिलौटामा पिसेको भन्ने घटनाहरु घटे । हो, त्यस्तो विषालु मान्छेहरुबाट पीडित नबनोस र छोरी निडर भएर निस्कियोस् भनेर मैले छोरीलाई यो गर्न सिकाएको हो ।”
यमनकी १८ वर्षिया छोरी खुश्बु पनि बुबाको सिको गर्न पाएकोमा निकै खुसी छिन् । १८ वर्षको उमेरमै सर्प उद्धार गरेको साहसिक भिडियो, फोटोहरु सामाजिक सञ्जालमा हाल्दा सुरुसुरुमा उनको खिसी उडाउने, यति जाबो त हामी पनि गर्न सक्छौं भन्दै मनोबल गिराउनेहरु धेरै भेटिए ।
तर, खुश्बु भने हजार सकारात्मक कमेन्टहरुमा एकाध नकारात्मक कमेन्ट र प्रतिक्रियादेखि कहिले हतास भइनन् ।
किनभने उनलाई सर्प उद्धार गरेर मानिसको मुहारमा देखिने खुसीले निकै आनन्द महसुस गर्छिन् । “मसँग सधै बाबा हुनुहुन्छ, त्यसैले मलाई सुरुसुरुमा डर लागे पनि बाबा सँगै हुँदा सेक्योर फिल हुन्छ । फेरि रेस्क्यु गरिसकेपछि भनेको छुट्टै आनन्द अनि खुसी लाग्छ,” उनी भन्छिन् ।
कुनै समय घरमा छेपारो आउँदा पनि उफ्रेर दुई कोस टाढा भाग्ने खुश्बु आज अरुको घरघर गएर सर्प उद्धार गर्छिन् । यस्तो साहसिक काम गर्ने सोच यो समाजले गर्ने व्यवहारबाटै आएको हो भन्छिन् । समाजले छोरा र छोरीका लागि भनेर छुट्याइदिएको काम र व्यवहारहरुलाई चिर्न उनी यो काममा लागेकी हुन् ।
“हाम्रो समाजमा जसरी महिला र पुरुषलाई हरेक पाटोमा भेदभाव भैरहेको हुन्छ । चाहे त्यो काममा होस्, पहिरनमा होस् वा बाहिर हिँड्दा होस् छोराले यो गर्ने अनि छोरीले यो गर्ने भनेर छुट्याएको हुन्छ । यही भेदाभाव अन्त्य गर्न आफ्नो तर्फबाट पनि केही योगदान पुर्याउन सकिन्छ कि भनेर मलाई यसमा बढी चासो लाग्यो,” खुश्बुले सुनाइन् ।
उनको चाहना अनुरुप सुरुसुरुमा छोरी मान्छेले पनि यस्तो काम गर्छन् र भन्नेहरु आज उनको कामप्रति गौरव महसुस गर्छन् भने कतिले प्रेरणा मिलेको पनि भन्ने गर्छन् ।
कक्षा १२ सकेर उनी फुट टेक्नोलोजीमा स्नातक गर्ने योजना बुनिरहेकी छिन् ।
तर, करिअर अरु नै रोजे पनि बुबा जस्तै करिअर सँगसँगै समाजसेवालाई पनि अघि लैजाने सोचमा छिन् ।
तर, सर्प उद्धारकर्ताहरुलाई सरकारी तवरबाट कुनै सहयोग नभएको देख्दा भने उनी दुःखी छिन् । यसरी नेपालभरि छरिएर रहेका सर्प उद्दारकर्ताहरुको बिमा गरिदिने, उनीहरुलाई सरकारले कार्ड उपलब्ध गराउने, यातायातको खर्च, आवश्यक पर्ने सामानहरुको व्यवस्था गरिदिनु पर्नेमा उनले जोड दिइन् । ताकि यसरी स्वेक्षाले यस्तो जोखिमपूर्ण काम गर्नेहरुलाई अझै प्रोत्साहन मिलोस र उनीहरु पलायन नहुन् भन्ने खुश्बुको भनाइ छ । यसका साथै उनले सर्पले धेरै टोक्ने ठाँउहरुमा नै त्यसको उपचार गर्ने अस्पतालहरु नभएको भन्ने कुरामा पनि उनले जोड दिइन् ।
यस्तै यमलाल पनि सरकारी पक्षबाट कुनै सहयोग नमिलेको गुनासो पोख्छन् । कति पटक अजिङगर, किंगकोबर जस्ता ठूलाठूला अनि विषालु सर्पहरु उद्दार गरेपछि वनकार्यालयलाई बारम्बार फोन गरेर लिन बोलाउँला पनि नआउने गरेको यमलालको गुनासो छ ।
स्थानीयहरुबाट प्रोत्साहन मिले पनि सरकारले भने केही चासो नदेखाए पनि उनी आफ्नै खर्चमा यो काममा निरन्तर लागिरहेका छन् ।
यो बाहेक उनको आफ्नै पाटी प्यालेसको व्यवसाय छ भने लोक तथा दोहोरी गीत प्रतिष्ठानका आजिवन सदस्य उनी गाउँघरतिर हुने भजन किर्तन, समारोहहरुमा गीत गाएर पाएको धेरथोर आम्दानी गरि आर्थिक जोह गर्छन् । कहिले काँही सर्प उद्धार गर्न जाँदा सम्बन्धित परिवारले खुसीले दिने केही थोरै रकम पनि उनी लाज नमानी लिन्छन् । किनभने त्यो पैसाले उनको पेट्रोल खर्च भए पनि टर्छ । तर, उनी आफैंले भने उद्धार गरेवापत केही पैसा पनि माग्दैनन् किनभने उनी समाजसेवा गर्न खटिएका हुन् । उनलाई उद्धारपछि पाएको पैसाभन्दा पनि पीडितको अनुहारमा आएको खुसीले आत्मसन्तुष्टि मिल्छ । अझ कति ठाँउमा त उनी सर्प उद्दार गर्न जाँदा नाजुक आर्थिक अवस्था देखे भने उल्टै ५००/१००० रकम दिएर पनि आउँछन् ।
यमलालका अनुसार नेपालमा अहिलेसम्म ७० देखि ९० प्रजातिका सर्पहरु छन् । यी मध्ये २२ प्रजातिका विषालु, ४ निम्न विषालु र १८ प्रजातिका सर्पहरु अति विषालु हुन्, जसको समयमा नै उपचार पाइएन भने मृत्युको मुखसम्म पुगिन्छ ।
यमलालका अनुसार नेपालमा सर्पले टोकेरभन्दा पनि टोकाइपछि मान्छेहरु आत्तिएर र झारफुकमा विश्वास गरेर मर्नेहरु धेरै छन् । त्यसैले उनी सर्पले टोकिहाले पहिला सुरु नआत्तिने, पानी खान नदिने र झारफुकमा विश्वास नगरी तुरुन्तै अस्पताल लग्न सुझाउँछन् ।
यमलाल र खुश्बु अनि चितवनकै अन्य सर्प उद्दारकर्ताहरु सुनिल सापकोटा लगायतसँग मिलेर गैर–नाफामुलक संस्था ‘रेज ह्यान्ड्स नेपाल’ सँग आबद्ध भएर यसमा ईच्छा राख्ने नयाँ युवा पुस्तालाई यसबारे प्रशिक्षण दिने र यससम्बन्धि जनचेतनामुलक कार्यक्रमहरु पनि दिने गर्छन् ।
यमला आफ्नी छोरी खुश्बु एउटा प्रेरणा र निडर छोरीको रुपमा समाजमा उभिन सकुन् र खुश्बु जस्तै छोरी हरेक समाजमा जन्मिउन भन्ने चाहना राख्छन् । जसको सुरुआत उनले आफैंबाट गरेका छन् । “समाजबाट होइन, सुरुआत आफैंबाट गर्नुपर्छ त्यसैले मैले मेरो घरबाट यसको सुरुआत गरेँ । अवसर, आँट र सर्पोट दियो भने छोरीले गर्न नसक्ने केही पनि छैन । छोरा र छोरी बराबर हुन भन्ने सन्देश म दिन चाहन्छु ।”
उनी आफैंलाई पनि ५/६ पटक सर्पले टोकिसकेको छ । हातभरि रगतैरगत बगाएर पनि उनी उद्धारमा लागिरहेका घटनाहरु पनि छन् ।