
काठमाडौं । नेपाली कांग्रेसको संगठन विभागले प्रधानमन्त्री ओली असंवैधानिक कदम असफल भएपछि अत्तालिएको बताएको छ । कांग्रेस संगठन विभागका प्रमुख गोपालमान श्रेष्ठले आइतबार एक विज्ञप्ति जारी गरी असंवैधानिक कदमबाट पनि असुरक्षित भएपछि महान्यायाधीवक्तामार्फत सर्वोच्च अदालतलाई थर्काउन लागिपरेको बताएका छन् ।
“राजनीतिक नैतिकतालाई लत्याउँदै पटक–पटक मन्त्रिपरिषद् विस्तार गर्ने, सत्ता सौदाबाजीका लागि राष्ट्रिय महत्व र दूरगामी असर राख्ने संसदमा विचाराधीन नागरिकता विधेयकलाईसमेत अध्यादेशमार्फत ल्याएर राजनीतिक द्वन्द निम्त्याउने कार्य भएको छ,” श्रेष्ठले विज्ञप्तिमा भनेका छन्, “केपी शर्मा ओली सरकारको यस्ता असंवैधानिक, अपरिपक्व र जनविरोधी कार्यविरुद्ध अदालतले देखाएको न्यायिक सक्रियताको कारण सरकार एकपछि एक राजनीतिक, संवैधानिक र कानुनी मोर्चामा पराजित हुँदैछ । र यसबाट अत्तालिएको सरकार आफ्नो उद्देश्य पूरा नहुने देखेर महान्यायाधिवक्तामार्फत न्यायालयलाई धम्काउने अलोकतान्त्रिक प्रयासमासमेत लागेको देखिन्छ ।”
विभागले प्रधानमन्त्री ओलीका असंवैधानिक कदमप्रति भत्र्सनासमेत गरेको छ । श्रेष्ठले असंवैधानिक कदमविरुद्धको कानुनी र राजनीतिक लडाइँमा एक जुट हुन अपिलसमेत गरेका छन् ।