काठमाडौं । रंगकर्मी पवित्रा खड्का गएको बुधबार शिल्पी नाटकघरको एउटा कोठामा एक्लै बसेर प्रस्तुति दिइरहेकी थिइन् । सेतो कोठामा एउटा कुर्सी र भित्तामा झुन्ड्याइएको पिँजडाबाहेक केही र कोही पनि थिएन, त्यो कोठामा । तर पनि उनी अन्य कलाकारसँगै भएजसरी बोलिरहेकी थिइन् ।
अर्का कलाकार उषा रजक पनि आफ्नै घरको सेतो कोठामा एक्लै बसेर प्रस्तुति दिइरहेकी थिइन् । पफर्मेन्स आर्टिस्ट सलिल पनि उषा र पवित्राजस्तै एक्लो कोठामा कोहीसँग बोलिरहेको र सुनिरहेको जस्तो अभिनय गर्दै थिए ।
एक्लै कोठामा ऐनाअगाडि बसेर अनुहारको हाउभाउ दिनु, आफैँसँग वा अगाडि कोही व्यक्ति भएको महसुस गरेर संवाद बोल्नु कलाकारको लागि नौलो कुरा होइन । कलाकारहरु दर्शकसामु उत्कृष्ट प्रस्तुति दिनका लागि सबै सँगै बसेर रिहर्सल गरे पनि एक्लै पनि रिहर्सल गरिरहेका हुन्छन् ।
तर, बुधबार उनीहरु कुनै नाटकको रिहर्सलको तयारी गरिरहेका थिएनन् । उनीहरु एकार्कासँग टाढा बसेर एउटै नाटकभित्रको पात्र बनेर लाइभ नाटक मञ्चन गरिरहेका थिए ।
शिल्पी थिएटरको नयाँ प्रयोगका रुपमा रंगकर्मीहरु आ–आफ्नो घरमा बसेर लाइभ नाटक मञ्चन गर्दै थिए । कोरोना महामारीको समयमा रंगमञ्चलाई कसरी जीवित बनाइराख्ने भन्ने विकल्पको रुपमा विभिन्न देशहरुले भर्चुअल नाटक मञ्चनलाई आत्मसात् गरिरहेका छन् । नेपाली नाटकघरहरुले यसलाई प्रयोगमा ल्याइरहेका छन् । यसैबीच, शिल्पीले भने अहिलेसम्म नेपाली नाटकघर र सम्भवतः अन्तर्राष्ट्रियस्तरमा पनि अभ्यास नभएको नयाँ प्रयोग गरेको छ ।
यही नौलो प्रयासको अनुभव गर्न पाएकी कलाकार उषा रजक यसलाई एउटा आशाको किरणको रुपमा लिन्छिन् । “सजिलो परिस्थितिमा त जो कोहीले पनि गर्छन् । तर, हामीले यो निराश परिस्थितिमा पनि एउटा आशाको किरण पैदा गरेको छौँजस्तो लाग्यो मलाई,” उनले भन्छिन् ।
उषाका अनुसार एक कलाकारको लागि एक्लै बसेर अर्को कलाकार पनि सँगै छ है भन्ने सोचेर रिहर्सल गर्नु कुनै ठूलो कुरा होइन । उनकै शब्दमा भन्दा ‘कलाकारहरु काल्पनिक (इम्याजिनेटिभ) हुन्छन् नै । तर, लाइभ प्रस्तुति त्यो पनि अलग–अलग ठाउँमा बसेर इन्टरनेटको मद्दतले दिनु भने चुनौतीपूर्ण थियो ।
“मञ्चमै अन्य कलाकारहरुसँगै गर्दा एकार्काको हाउभाउ र हेराइलगायत कुराले कनेक्ट हुने भएर आफ्नो भागको संवाद सम्झिन सजिलो हुन्थ्यो । तर, यहाँ हामीले अर्को कलाकार पनि यस कोठाभित्र छ भन्ने कुरा ध्यानमा राखेर अभिनय गर्नुपर्ने थियो । अर्को चुनौती भनेको इन्टरनेटको थियो,” उषाले भनिन् । तर, यति हुँदाहुँदै पनि यो उनको अहिलेसम्मकै उत्कृष्ट अनुभव रहयो ।
एक कलाकारका लागि एक्लै बसेर अभिनय गर्नु र अर्को कलाकार सँगै भएको अनुभूति गर्नु कुनै नौलो कुरा नभएको पवित्रा पनि स्वीकार्छिन् । उनीहरुले रिहर्सलकै समयमा कोठाको कुन कुनामा को कलाकार छ भन्ने मानसिक रुपमा तयारी गरिसकेका थिए । त्यसकै आधारमा लाइभ प्रस्तुति दिए ।
“लाइभ नाटक गरिरहँदा बीचमा म के गरिरहेको छु वा भनौँ, म लाइभ प्रस्तुतिमा छु वा रिहर्सलमा भन्ने एक, दुईचोटि यसो महसुस भएको थियो,” रंगकर्मी पवित्रा अनुभव सुनाउँछिन्, “तर, त्यति असहज भने भएन । तर, क्यामेरा फ्रेम अनि साथीहरुको पोजिसन यावत कुरामा भने अलि कन्सियस भइराख्नुपर्ने थियो ।”
उषा र पवित्रालाई यो नाटक मञ्चन गर्दा एकदमै खड्किरहेको पक्ष भने दर्शक नै थिए । किनभने, दर्शकको प्रतिक्रिया र इमोसनले मञ्चमा भएका कलाकारलाई अझै शक्ति मिल्ने उनीहरुको अनुभव छ ।
नाटकघरमा प्रस्तुति दिइरहँदा दर्शकको हाउभाउले आफूमा अझै जोस भरिरहेको हुने र त्यसले प्रस्तुतिमा निखारता ल्याउने उनीहरुको अनुभव छ । तर, योपटक बन्द कोठामा नाटक गरिरहँदा त्यो कुरा उनीहरुले ‘मिस’ गरे ।
पफर्मेन्स आर्टिस्ट सलिल सुवेदी यो नाटकलाई पफर्मेन्स आर्ट र नाटकको फ्युजनको रुपमा लिन्छन् । “म एक पफर्मेन्स आर्टिस्ट भएकाले एक्लै कोठामा बसेर अर्को कलाकारहरु पनि त्यही उपस्थित छन् भन्ने कल्पना गरेर प्रस्तुति दिइरहँदा कहीँ कतै म पफर्मेन्स नै गरिरहेको छु किजस्तो पनि लाग्यो,” उनी थप्छन्, “फेरि, म कुनै पात्रमा बाँधिएर त्यही पात्रअनुरुप संवाद र हाउभाउ व्यक्ति गरिरहँदा नाटकजस्तो पनि लाग्यो । त्यसैले ओभरअल म यसलाई नाटक र पफर्मेन्स आर्टको फ्युजन भन्न रुचाउँछु ।”
उनले यो लाइभ प्रस्तुति दिइरहँदा म लाइभ छु, मलाई दर्शकले हेरिरहेका छन् भन्ने महसुस नै गरेनन् । किनभने, उनी आफ्नो पात्र र नयाँ अनुभवमा रमाइरहेका थिए ।
सुरुमा उनी निकै उत्साहित थिए । तर, जब कोठामा पसेर रिहर्सल सुरु गर्न थाले, उनलाई कस्तो–कस्तो लाग्यो । किनभने, कोठामा यता पनि उता पनि उनीबाहेक कोही थिएन । तर, विस्तारै करिब एक महिनाको रिहर्सलपछि अन्ततः बुधबार लाइभ प्रस्तुति दिँदा उनलाई साँच्चै सहकलाकारहरु पनि त्यहीँ छन् भन्ने महसुस गरे ।
उनीहरु आफ्नो स्पेस र क्यामेरा फ्रेमभन्दा बाहिर नआउन भनेर कोठामा सेतो रङले रेखा कोरेका थिए । उनी यसलाई मल्टिलेयर एक्सपेरियन्सको रुपमा पनि लिन्छन् । यसमा सातैवटा ज्ञानेन्द्रियहरु अझ बढी सक्रिय र चनाखो हुनुपरेको उनले महसुस गरे ।
भर्चुअल र लाइभ जानुको चुनौती
थियटरमा एउटा नाटक कम्तीमा पनि तीन–चार दिन मञ्चन हुने भएकाले पहिलो मञ्चनमा भएका गल्तीलाई दोस्रो, तेस्रोमा सुधार्ने मौका मिल्छ । तर, भर्चुअल त्यो पनि लाइभ प्रस्तुति दिँदा रंगकर्मीले दोस्रो मौका पाउँदैनन्, आफ्नो गल्ती सुधार्न । सुवेदीका अनुसार यो एउटा रमाइलो पक्ष नै हो ।
“दोस्रो मौका नपाउने भएकाले कलाकारले आफूलाई अरुभन्दा अझ धेरै निखार्छ भने हरेक कुरालाई स्वीकार्ने बानी पनि सिकाउँछजस्तो मलाई लाग्यो । फेरि फेरि सच्च्याएर गर्नुभन्दा पहिलो प्रस्तुति नै वास्तविक र इमानदारीपूर्ण हुन्छ, यसको सबैभन्दा रमाइलो पाटो नै यही हो,” उनी भन्छन् ।
भुर्चअलको अर्को एउटा चुनौती भनेको रंगकर्मीहरु लाइट, क्यामेरा फ्रेम, इन्टरनेटलगायत धेरै कुरामा सचेत भइरहनुपर्ने उनीहरु सुनाउँछन् । बीचमा इन्टरनेट कनेक्सन टुटे कलाकार र दर्शक दुवै त्यो फ्लोबाट बाहिरिन्छन् ।
यसअघि, नाटकघरमा नै मञ्चन गरेर रेकर्ड गरेको नाटकहरु युट्युबमा स्ट्रिमिङ गरेर अनलाइनमा आए । त्यसपछि हालै मात्र मण्डला नाटकघरले नाटकघरभित्रै तर क्यामेरा वा भनौँ युट्युबकै लागि भनेर तयार पारेर पछि युट्युबमा स्ट्रिम गर्यो ।
अहिले शिल्पीका कलाकारहरुले अलग–अलग ठाउँमा बसेर पनि लाइभ देखाए । यसले नाटकघरको मर्म र आकर्षणलाई केही हदसम्म भए पनि कायम राख्न सफल भएको सुवेदी विश्वास गर्छन् । किनभने, यसमा काँटछाँट केही थिएन ।
फ्रान्सेली नाटककार झाँ–पल सात्रुको ‘नो एक्जिट’को नेपाली अनुवाद ‘अनुपस्थित तीन’लाई नेपालीमा अवतार पाठकले अनुवाद गरेका हुन् भने निर्देशन तथा परिकल्पना घिमिरे युवराजको रहेको छ ।
सुरुमा नाटकघरमै मञ्चन गर्ने सोचले कलाकारहरुले नाटकको रिडिङ सकाएका थिए । तर, बीचमा कोरोनाको दोस्रो लहरले निषेधाज्ञा भयो । त्यसपछि के गर्ने त सजिलो परिस्थिति कुर्ने वा के गर्ने भन्ने अन्योलबीच आ–आफ्नो घरमा बसेर लाइभ मञ्चन गर्ने निर्णयमा टिम पुगेको हो ।
यस नाटकमा चार कलाकारहरु उषा रजक, पवित्रा खड्का, सलिल सुवेदी र मानाङ लावतीले अभिनय गरेका छन् ।