काठमाडौं । अभिनेता खगेन्द्र लामिछाने कोरोना संक्रमणको त्रासका कारण अघिल्लो पटक लकडाउन हुँदा चलचित्र ‘पानी फोटो’को पोष्ट प्रोडक्सनको काम गरिरहेका थिए । लकडाउनले उक्त काममा अवरोध खडा गरेपछि उनले उपन्यासको काम गरे । अहिलेको निषेधाज्ञामा चाहिँ के गर्दैछन् ?
चलचित्रकर्मी तथा लेखक हुन्, त्यसैले यसैसँग सम्बन्धित काम गरिरहेका छन् । यो पटकको निषेधाज्ञामा चलचित्रको स्क्रिप्ट लेखिरहेको उनले जानकारी दिए ।
“स्क्रिप्ट लेखिरहेको छु । स्क्रिप्टको पहिलो ड्राफ्ट सकियो । अब थप काम गर्दै जाने हो,” उनी भन्छन्, “पहिलो ड्राफ्ट सकिएपछि लेखनको मेलो बस्छ, अब त्यसलाई थप सुधार गर्दै जाने हो । सहज अवस्था आउँदा काम गर्न सजिलो होस् भनेर स्क्रिप्ट लेखिरहेको हुँ ।”
सोसल ड्रामामा कलम चलाइरहेको उनले जानकारी दिए ।
युद्धमा क्रममा हराएको छोराको पर्खाइमा बसेकी बुढी आमाको कथा बोल्ने उनको चलचित्र ‘पानी फोटो’ कोरोनाका कारण रिलिज हुन नसकेको हो । उनले यसै चलचित्रमार्फत फिचर फिल्म निर्देशनमा डेब्यू गर्न लागेका हुन् ।