देश
पोखरा
हत्या–१
रामजी पौडेल
कास्कीमा निकै चर्चित र प्रहरीको टाउको दुखाइ बनेको घटना हो, स्थानीय नेता रामजी पौडेलको हत्या । ०७२ असार २८ गते कास्कीको लेखनाथमा नेपाली कांग्रेसका स्थानीय नेता पौडेल मृत भेटिए । उनको शव हात, घाँटी र छातीमा चोट लागेको अवस्थामा पृथ्वी राजमार्ग नजिकै गगनगौँडाको भीरमा फेला परेको थियो । पार्टीभित्रको गुट–उपगुट विवादका कारण पौडेलको हत्या भएको प्रहरीले अनुसन्धानले देखायो ।
हत्यामा संलग्न रहेको आरोप लागेका कास्कीकै राजु रानाभाट, बले गुरुङ भनिने अशोक गुरुङ, विश्वास गौतम, प्रकाश गुरुङ र रविन केसी पक्राउ परे । ब्रजेश गुरुङ भने अझै फरार नै छन् ।
हत्या–२
नेहा पुन
कास्कीमा सनसनी बनेको अर्को घटना हो, नेहा पुन हत्या प्रकरण । ०७२ माघ १८ गते पोखरामा घटेको यो घटना निकै चर्चामा आयो । १९ वर्षीया नेहा पुनको शव पोखरा–१५ नयाँ गाउँस्थित आफ्नै घरनजिक भेटिएको थियो । मगर चलचित्रकी नायिकासमेत रहेकी नेहाको हत्या काण्डको छानबिन गर्न कास्की प्रहरीले ५ सदस्यीय अनुसन्धान टोली नै बनाएको थियो । हत्या आरोपमा सतिश खड्गी पक्राउ परे । उनी अहिले पुर्पक्षका लागि थुनामा छन् ।
हत्या–३
नरमाया श्रीष पुन र पूर्णिमा पुन
०७३ जेठ १४ गते पोखरामा घटेको अर्को एउटा घटनाले पूरै पोखरालाई नै स्तब्ध बनायो । २६ वर्षीया नरमाया श्रीष पुन र उनकी ६ वर्षीया छोरी पूर्णिमा पुनको रड प्रहार गरी हत्या भएको घटनाले पोखरेलीलाई शोकमा डुबायो । पोखरा रातोमाटेका विमल पुनले घरभित्रै ६ वर्षीया छोरीसँगै २६ वर्षीया श्रीमतीको रड प्रहार गरी हत्या गरेका थिए । श्रीमती र छोरीको हत्या गरी रगताम्य भएका अभियुक्त पुनले बाटोमा निस्केर आपूmले हत्या गरेको भन्दै हल्ला गर्दै हिँडेका थिए । उनलाई त्यही दिन प्रहरीले पक्राउ गरेको थियो ।
हत्या–४
अमेरिकी नागरिक डालिया यहिया
०७२ भदौ २० गते अमेरिकी नागरिक डालिया यहियाको पोखरामा हत्या भयो । भूकम्पपीडितलाई सहयोग गर्न भन्दै नेपाल आएकी उनको धिताल–३ का शिक्षक नारायण पौडेलले हत्या गरेको भन्दै प्रहरीले पक्राउ गर्यो । थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
हत्या–५
पूर्णादेवी विक
०७३ जेठ १८ गते पोखरा–६ स्थित आफ्नै घरमा एक्ली वृद्धाको शव घाँटी काटिएको अवस्थामा फेला प¥यो । अनुसन्धान गर्दै जाँदा पैसाको विवादमा ६५ वर्षकी पूर्णादेवी विकको घाँटी रेटी हत्या भएको खुल्यो । हत्या आरोपमा प्रहरीले धनुषा घर भई पोखरा मासबार बस्ने प्रेम भनिने गोपाल माझीलाई पक्राउ गर्यो ।
हत्या–६
खिममाया पुन
०७२ माघ २७ मा बेगनास तालमा खिममाया पुन मृत भेटिइन् । स्थानीय सहकारीमा कार्यरत पुनको हत्या भएको भन्दै आफन्तले किटानी जाहेरी पनि दिएका थिए । प्रहरीले किटानी जाहेरीकै आधारमा सहकारीका म्यानेजर अरुण सापकोटालाई नियन्त्रणमा लिएको थियो । तर, यथेष्ट प्रमाण जुट्न नसकेपछि उनलाई तारिखमा छाडियो ।
गत असार २९ गते तनहुँका १८ वर्षीय विश्वास थापाको शव कोत्रे खोलामा र साउन १० गते रोमानियाकी २६ वर्षीया मोनिका एडिना पपेस्योको शव कास्कीको मोदी खोलाछेउमा फेला परेको थियो ।
पोखरामा भएका हत्याका केही घटना हुन् यी । एक वर्षको अवधिमा कास्कीमा १५ जनाको हत्या भएको कास्की प्रहरीले जनाएको छ । हत्याका कारणमा सामान्य झगडादेखि राजनीतिक विवादसम्म छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता गजुसिद्धी बज्राचार्यका अनुसार आव ०७२/०७३ मा जिल्लामा १५ जनाको हत्या भएको छ । यसमा ८ पुरुष ७ महिला छन् । १५ घटनामा संलग्न ३८ जनालाई पक्राउ गरिएको थियो । यीमध्ये २३ जना पुर्पक्षका लागि थुनामा छन् भने ८ जनाविरुद्ध मुद्दा चलिरहेको छ ।
प्रकाशित मिति: आइतबार, साउन ३०, २०७३ १५:२०
प्रतिक्रिया दिनुहोस्