![पोखरामा प्रतिदिन २०० सय सिलिन्डर उत्पादन गर्ने अक्सिजन प्लान्ट निर्माण गर्दै बतास फाउण्डेसन](https://12khari.top/uploads/posts/Bsatas Foundation 1620966426.jpg)
पोखरा । कोरोना संक्रमित बिरामीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै पोखरामा व्यवसायिक घराना बतास फाउन्डेसनले अक्सिजन प्लान्ट निर्माणको अग्रसरता लिएको छ ।
प्रदेशकै ठूलो अस्पताल भएपनि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अक्सिजन प्लान्टविहीन छ । सरकारी मात्रै नभएर गण्डकीका सबै निजी अस्पतालमा पनि अक्सिजनप्लान्ट छैन । पोखरा औद्योगिक क्षेत्रमा रहेका दुईओटा अक्सिजन उद्योगबाट नै अहिले गण्डकी प्रदेशभरका अस्पतालमा अक्सिजन सप्लाई हुँदै आएको छ ।
तर, यी उद्योगले पनि माग धान्न सकेका छैनन् ।
यस्तो विषम परिस्थितिमा अक्सिजन नपाएरै धेरैको ज्यान जान सक्ने जोखिमलाई मध्येनजर गर्दै बतास फाउन्डेसनले अक्सिजन प्लान्ट निर्माण गर्न लागेको हो ।
संघ मातहतको यो सरकारी अस्पतालले अक्सिजन प्लान्टको योजना भने नल्याएको होइन । यही आर्थिक वर्षभित्र उक्त योजना पनि परेको छ । तर, रेट्रो फिटिङ आयोजनाभित्र अक्सिजन प्लान्ट निर्माणको योजनालाई राखिएको छ । यसको सम्झौता आगामी असार २८ सम्म रहेको छ । र, समयभित्रै मापदण्ड अनुसारको अक्सिजन प्लान्ट निर्माण हुनेमा शंका छ ।
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
विश्वव्यापी महामारीका कारण समयमा नै स्वास्थ्य सामग्री पाउन पनि उत्तिकै कठिनाई छ । तर, बतास फाउन्डेसनले चाहिँ चीनबाट तीन महिनाभित्रै सामान ल्याएर अक्सिजन प्लान्ट निर्माण गरिसक्ने बताएको छ ।
बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले भने, “हामीले अक्सिजन प्लान्ट चाहिँ राख्छौँ, भारतबाट ल्याउँदा त सात महिना लाग्छ भनेको छ, चीनले चाहिँ तीन महिनाभित्र दिन सक्छु भनेको छ । सरकारले सहयोग गरे त एक महिनामै पनि गर्न सकिन्छ, सरकारले जहाज भाडा मात्रै तिरिदियो भने पनि धेरै छिटो राख्न सकिन्छ । यो अक्सिजन प्लान्ट राख्ने विषयमा चाहिँ पोखरेली एकदमै सकारात्मक छन् ।”
पश्चिमाञ्चल अस्पतालले अक्सिजन प्लान्ट बनाएपछि दैनिक पाँचसयदेखि एक हजारजना बिरामीलाई पुग्नेगरी अक्सिजन व्यवस्थापन होस् भनेर आफूहरूले पनि अक्सिजन प्लान्ट निर्माण गर्न लागेको उनले बताए । तर, सरकारी अक्सिजन प्लान्ट अगावै आफूहरूले अक्सिजन प्लान्ट बनाइसक्ने उनको योजना छ ।
“गण्डकी अस्पताल आफैँले पनि हाल्दैछ । उसको सम्झौता समय अझै बाँकी छ । त्यो ठेकेदारले समयमा नल्याउन पनि सक्छ । महामारी फेरि पनि आउन सक्छ । दैनिक पाँच सय, एक हजार बिरामी त्यहाँ अक्सिजन चाहियो भने पनि व्यवस्थापन होस भनेर हो,” उनले भने ।
सुरुमा चार करोड जति लगानी गर्ने र सो अनुरूप स्रोत संकलनमा जुटेको उनले जानकारी दिए ।
“लागत ३÷४ करोड रुपैयाँ लाग्ला, उत्पादन क्षमताका आधारमा लागत बढ्ने हो । अहिले ३÷४ करोड लाग्ला भन्ने अनुमान गरेका छौँ । महानगरपालिकासँग सिभिल कस्ट व्यहोर्न भनेका छौँ । मेयर कन्भिन्स पनि हुनुहुन्छ । अहिले हामीले रकम संकलन गरिरहेका छौँ, २ करोड जति उठिसकेको छ । बैंकहरूसँग कुराकानी पनि भइरहेको छ । यसलाई कसरी व्यवस्थापन र कति छिटो ल्याउने भन्ने छ,” बतासले भने ।
अक्सिजन प्लान्ट बनिसकेपछि त्यसको व्यवस्थापन तथा सञ्चालन चाहिँ गैह्रनाफामूलक तवरले एनजीओमार्फत गर्न सकिने उनले बताए ।
“सुझाव चाहिँ अस्पताललाई बनाएर दियो भने पछि बिग्रिन सक्छ, त्यसको सट्टा एउटा एनजीओ बनाएर सञ्चालन गर्नुपर्छ भन्ने आएको छ । यसो गर्दा केही बिग्रियो भने बाहिरबाट सामान ल्याउन पनि सहज हुन्छ । अब, कसरी व्यवस्थापन हुने, को संलग्न हुने, यी प्रश्न छन् । भोलि मर्मतको कुरा आउँला,” उनले भने, “तर, अक्सिजनको सवालमा चाहिँ भोलि बतास फाउन्डेसनले नै वा एनजीओ बनाएर महानगरपालिका र अस्पतालसँग न्यून लागत लिएर गैरनाफामूलक तरिकाले व्यवस्थापन गर्नुपर्छ कि भन्नेमा छु । यो मेरो विचारमात्रै हो । अस्पतालले नमान्न पनि सक्छ ।”
बतासकाअनुसार प्रतिदिन न्यूनतम २ सय सिलिन्डर अक्सिजन उत्पादन प्लान्टबाट हुनेछ । सिलिन्डर संख्या चाहिँ स्रोत बढी भएको खण्डमा थप हुने उनले बताए ।
“सुरुमा चाहिँ प्रतिदिन २ सय सिलिन्डर उत्पादन गर्ने भन्ने छ, तर यसले कतिसम्म पुग्छ, कस्तो प्रकृतिका बिरामीलाई पुग्छ, त्यो हेर्दैछौँ । सिलिन्डरको संख्यामा चाहिँ रकम धेरै संकलन भए सिलिन्डरको पनि संख्या बढाउनेछौँ,” उनले भने ।
अक्सिजन प्लान्ट निर्माण भइसकेपछि अक्सिजनको अभावलाई पूर्ति गर्न सकिने र एनजीओमार्फत चलाउँदा न्यून मूल्यमा अन्य अस्पताललाई पनि विक्री गर्न सकिने उनले बताए ।
उनले भने, “यसबाट अस्पतालले चाहेजति अक्सिजन पाउने भयो, एनजीओले चलायो भने न्यून मूल्यमा अरु अस्पताललाई पनि बेच्न सक्ने भयो, यसबाट आएको रकमले आइसीयू बनाइदिन पनि सकियो ।”
हालसम्म अक्सिजन प्लान्ट निर्माणका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट झन्डै २ करोड रुपैयाँ संकलन भइसकेको छ ः
१)ओम प्रकाश पानडे, होटेल ल्यान्ड मार्क,
पोखरा : १,११,१११:–
(२) भिम राज रेग्मी, बिन्दुबासिनी, पोखराः १ लाख
(३) सोभित मान बुद्धाचार्य,मोहरिया टोलः २ लाख
(४) केसी ग्रुुप,पोखरा (स्व : सूर्यबहादुर केसी ): २५ लाख
(५) श्री नारायण पौडेल,अटोवेज प्रालीः– २५ लाख
(६) श्री सुशील प्राधानाङ,
सेल्वेज डिपार्टमेन्टल स्टोर्स प्रालिः– २५ लाख
(७) श्री पुष्पज्योति ढुंगाना सुपर मादी हाइडो पावर ,
मादीः– २५ लाख ,
(८) श्री देब बहादुर ज्वारचन,
क्वालिटी एग्रिगेट माइनिङ :– २५लाख
(९) भक्त बतास , दमौली : १ लाख
(१०) टीका पौडेल, टीका ग्रुप : १ लाख
(११) बतास फाउन्डेसन :– २५ लाख
(१२) बि रिभर माइनिङ प्राली, राम घाटः– २५ लाख