काठमाडाैं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको यस वर्षको रथारोहण सम्पन्न भएको छ । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनानुसार बुधबार साँझ छ बजेर १७ मिनेटमा रथारोहण गराइएको हो ।
आवश्यक विधि अपनाएर जयजयकारसहित करुणामयलाई रथमा साँझ विराजमान गराइएको रथ निर्माणमा संलग्न ञँवाल सूर्यमान डंगोलले बताए । “हरेक वर्षझैँ पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठमा निर्माण भएको रथमा यस वर्ष पनि मच्छिन्द्रनाथलाई विराजमान गराइयो,” उनले भने ।
रातो मच्छिन्द्रनाथको रथ जात्रा नेपालको सबै भन्दा लामो जात्रा मानिन्छ। हिन्दू र बुद्ध दुवैले मान्ने रातो मछिन्द्रनाथलाई मनाएमा राम्रो वर्षा हुने र खेती सप्रिने विश्वास गरिन्छ ।
आउँदो शनिबार मच्छिन्द्रनाथलाई पुल्चोकबाट तानेर गाःबहाल लगिने नियमानुसार यस वर्ष भने विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरिएन्टको कोभिड महामारीलाई ध्यानमा राखी केही परसम्म मात्र तानेर लग्ने काम भइरहेको डंगोलले जानकारी दिए ।
तस्बिरहरू : अभिषेक महर्जन