विराटनगर । प्रदेश नम्बर–१ मा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना संक्रमितको उपचारको उचित प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ । प्रदेश सरकार कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा असफल भएको कांग्रेसको आरोप छ ।
कांग्रेस १ नम्बर प्रदेश संसदीय दलले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रदेशभरका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र निजी अस्पतालमा कोरोना संक्रमित उपचार गर्ने प्रबन्ध मिलाउन माग गरेको हो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले पत्रकार सम्मेलनमा भने, “अस्पताल व्यवस्थापनको विषयमा सरकारले प्रस्तुत गरेको तथ्यांक पनि शंकास्पद देखिएको छ । कतिपय अस्पतालमा सरकारले देखाएको बेड संख्या नै देखिँदैन ।” उनले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १०० बेड भनेर देखाइए पनि ३० बेडमा मात्र बिरामीले उपचार पाइरहेको बताए ।
कोरोनाको अघिल्लो लहरका बेला विराटनगरमा सञ्चालन गरिएको कोसी कोभिड–१९ उपचार केन्द्रलाई मर्मतका नाममा बन्द गरिएको भन्दै कार्कीले कोरोना कम भएको बेला मर्मत गर्नुको साटो अहिले बिरामीले अस्पताल नपाएर मरिरहेको बेला मर्मतको नाममा सेवा बन्द गरिएको बताए ।
उनले भने, “भेन्टलेटरसहितको ८० बेडको कोभिड अस्पताललाई मर्मतको नाममा बन्द गरिएको छ । के एक वर्षअघि बनाएको अस्पताल पुरानो भइसक्यो र ?” उनले सरकारले सेवा विस्तार गर्नुपर्नेमा सेवा खुम्च्याएको कार्कीले टिप्पणी गरे ।
प्रमुख सचेतक कार्कीले मुख्यमन्त्री शेरधन राईले उदयपुरमा सबैभन्दा ठूलो कोभिड अस्पतालको निर्माण गर्ने भन्दै घोषणा गरेको तर त्यो व्यवहारमा कार्यान्वयन हुन नसकेको टिप्पणी गरे ।
अरु जिल्लामा अवस्थित अस्पालहरुमा समेत कोभिड उपचारको लागि प्रदेश सरकारले आवश्यक पूर्वाधारसहित सहयोग गर्नुपर्ने उनले बताए । पाँचथर र संखुवासभामा पनि कोभिड अस्पताल सञ्चालन गर्नुपर्ने माग कार्कीले गरे ।