काठमाडौं । सन् २०२० भित्र नेपालमा ५ तारे होटलको संख्या २० पुग्ने भएको छ । अहिले १० वटा ५ तारे होटल रहेकोमा थप १० वटा ५ तारे होटल थपिन लागेका हुन् ।
थपिन लागेका होटलमा सिटी होटल (कालीमाटी), होटल क्राउन इम्पेरियल (रविभवन), एभरेस्ट हस्पिटालिटी (नक्साल), जगदम्बा हस्पिटालिटी, सेराटन (नक्साल), अकला होटल (धुम्बाराही) र होटल ले शेर्पा छन्।
काठमाडौं बाहिर रारा परियोजना, होटल टाइगरवान (रूपन्देही), होटल पवन प्यालेस (लुम्बिनी), भेगास सीटी इन्टरटेन्मेन्ट र होटल मेची क्राउन (झापा) रहेका छन्।
८ अर्ब लगानीमा काठमाडौंमा खुल्ने सेराटन होटलमा २१८ वटा कोठा हुनेछन् । ५ अर्ब लगानीमा काठमाडौंमा निर्माण हुने अकलामा १७५ वटा कोठा हुनेछन् । त्यस्तै, ३ अर्ब ७ करोडमा बुटवलमा बन्ने टाइगर प्यालेसमा २०० वटा कोठा हुने बताइएको छ । १ अर्ब ३५ करोडमा रुपन्देहीमा बन्ने होटल पवन प्यालेसमा १४८ वटा कोठा हुनेछन् ।
यस्तै, अन्य ६ होटल परियोजनाको वातावरणीय अध्ययन भइरहेको होटल संघ नेपाल (हान)ले जनाएको छ ।
हानका अनुसार यी ३० वटा होटलमा करिब ३३ अर्ब लगानी हुुनेछ । योसँगै नेपालमा होटलमा लगानी ३ सय अर्ब (३ खर्ब) पुग्नेछ । होटलमा अहिले करिब साढे २ खर्ब भन्दामाथि लगानी रहेको हानका पूर्वअध्यक्ष योगेन्द्र शाक्य बताउँछन् ।
अहिले ५ तारे होटल १०, ४ तारे होटल ३, ३ तारे होटल ३४, २ तारे होटल ४४, एकतारे ३० वटा छन् । तारे होटलको संख्या २२१ रहेको छ । तारे होटलमा १० हजार ७१ रुम छन् भने पर्यटकीय स्तरीय होटलमा २८ हजार १७१ वटा रुम छन् । तारारहित १६५ वटा होटल सञ्चालनमा छन् भने पर्यटकीय स्तरका ९८५ वटा होटलले सेवा दिइरहेका छन् ।
हानका अनुसार गत वर्ष पर्यटकस्तरीय ४४ वटा नयाँ होटल सञ्चालनमा आएका थिए। जसमा ४ तारे १, ३ तारेको ५, २ तारे २, १ तारे ६ र पर्यटकस्तरीय तर तारारहित ३० होटल थिए। तर ती अधिकांश होटल काठमाडौं उपत्यकाभित्र खुलेका थिए ।
पछिल्लो समय नेपालमा होटलमा लगानी बढ्नुको कारण भारत र चीनको बीचमा नेपाल रहनु नै भएको हान बताउँछ । “टुरिजमको कल्चर विकास र विस्तार भइरहेको भारत र चीन नै नेपालमा होटलमा लगानी आकर्षण हुनुको मुख्य कारण हो,” हानका प्रवक्ता विनायक शाह भन्छन्, “चीनबाट बर्सेनि १७/१८ लाख र भारतबाट ७/८ लाख नागरिक नियमित रुपमा घुमफिरका लागि निस्किन्छन् । यी दुई राष्ट्रको बीचमा नेपाल रहेकै कारण होटलमा लगानी बढेको हो ।”
नेपालमा अहिले गैरआवासीय नेपालीको लगानी होटलमा केन्द्रित हुन थालेको छ । अहिले बन्न लागेका अधिकांश ठूला तारे होटलमा गैरआवासीय नेपाली व्यापारीको लगानी छ । लगानी विदेशमा रहेका नेपालीको भएपनि त्यसमा कन्ट्रयाक्टम्यानेजमेन्ट विश्वभर रहेका चेन होटलको हुने भएकाले त्यसको सकारात्मक प्रभाव पर्ने हानको विश्वास छ । प्रवक्ता शाह भन्छन्, “विश्वर छरिएर रहेका ठूला तारे होटलका कन्ट्रयाक्टम्यानेजमेन्टले लिएपछि नेपालको उनीहरुले नै प्रोमोट गरिरहेका हुन्छन् । त्यसैले गैरआवासीय नेपालीको लगानीले नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुर्याउँछ ।”