site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झोलामा संस्था, ‘सेटिङ’मा सर्टिफिकेट ? 

काठमाडौं । वैदेशिक रोजागारी जानु अगाडि लिइने पूर्व प्रस्थान अभिमुखीकरण तालिमको नयाँ पाठ्यक्रम आए पनि प्रभावकारी हुन सकेको छैन । मेन पावर व्यावसायी र तालिम प्रदायक संस्था कै मिलेमतोमा तालिम नलिई श्रमिकको हातमा तालिम प्राप्त प्रमाणपत्र पुग्ने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागले गरेको  अनुगमनले तालिम प्रदायक संस्थाहरुमा व्यापक अनियमितता भएको पाइएको हो । 

‘अभिमुखीकरण तालिम संचालन कार्यविधी २०७६’  अनुसार तालिम प्रदायक संस्थामा विभागले अनुगमन गर्न पाउने व्यावस्था छ । सोही अनुसार केही तालिम प्रदायक सस्थाहरुले नै केही संस्थाहरुले प्रभावकारी रुपमा तालिम नदिएको, कानुनको पालना नगरेको गुनासो गरे पछि विभागले तालिमप्रदायक संस्थाहरुमा अनुगमन गरेको थियो ।

विभागले पछिल्लो एक हप्तामा १५ वटा संस्थामा अनुगमन गर्दा ७ वटा संस्था कार्वाहीमा परेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले बताएका छन् । विदेश जानुभन्दा पहिला लिइने पूर्व प्रस्थान अभिमुखीरण तालिम नै नदिइ नक्कली सर्टिफिकेट दिएको पाइएको दहालले बताए ।

“केही संस्थाहरुले त तालिम दिनका लागि तालिम दिने कक्षासमेत रहेनछ । झोलामा तालिम प्रदान गर्ने संस्था राखेर तालिमको सर्टिफिकेट बेच्ने गरेकोसम्म पाइयो” दहालले बाह्रखरीसँग भने “अझ अनलाइन व्यावस्थाकोे समेत दुरुपयोग गरेको अनुगमनको क्रमममा भेटेका छौं ।”

अभिमुखीकरण तालिम सबैले लिन पाउन भनेर ‘बायोमेट्रिक’समेत ‘रिसेट’ गरेको पाइएको दहालको भनाइ छ । अनलाइनबाट पारदर्शी हुन्छ भने पनि तालिम प्रदायक संस्थाले नै यस्तो काम गरेकाले झनै चुनौती थपिएको दाहाल बताउँछन् ।

यसरी कारवाहीमा पर्ने सस्थामा एक्सेक करिअर सोलुसन प्रा.लि., इन्द्रेणी ल्याङ्ग्वेज सेन्टर प्रा.लि., त्रिपल एस ओरेन्टेसन एण्ड ल्याङ्वेज ट्रेनिङ सेन्टर प्रा.लि., टास्क ओरेन्टेसन एसोसिएसन प्रा.लि., एम. एस ट्रेनिङ नेपाल प्रा.लि., साइनिङ मुन ट्रेनिङ सेन्टर प्रा.लि.,  एल.जी मल्टिपल ट्रेनिङ सेन्टर प्रा.लि. छन् ।

अनुगमन गर्न विभाग संस्थामा पुग्दा वैदेशिक रोजगारी संम्वन्धी अनलाइन प्रणाली  ‘फेमिस’मा तालिम हुँदै गरेको देखाए पनि कक्षामा एकजना पनि प्रशिक्षार्थी नभएको पाइएको विभागका साखा अधिकृत मातृका सापकोटाले बताएका छन् । “एक पटकमा ५० जना प्रशिक्षार्थीलाई कक्षामा राख्न पाउने व्यावस्था रहेको छ । तर, हामीले कुनै संस्थामा त एकजना पनि प्रशिक्षार्थी नभएको पायौं,” सापकोटाले भने ।

कारवाहीमा ७ वटा संस्थाको कारोबार बन्द भएको छ । ति संस्थाको बाँकी अनुसन्धान चल्दै छ । अहिलेलाई कारोबार रोक्का नै पनि एक प्रकारको कारवाही भएको विभागको भनाइ छ ।

विभागले ति संस्थाहरुमा अनुगमन गर्दा पूर्वाधार नपुगेको, पूर्वाधार भएका संस्थाले समेत ‘सेटिङ’का आधारमा तालिम दिएको प्रमाणपत्र दिएको बताएको छ । सामान्य त्रुटी भएका संस्थामा भने अनुगमनमा गएका कर्मचारीले यस्तो नगर्न सुझावसमेत दिएको सापकोटाले जनाएका छन् ।

काठमाडौंमा अनुगमन कार्य तिब्र बनाए पछि उपत्यका बाहिरबाट त्यस्तो खालको कृयाकलाप बढेको उनी बताउँछन् । “काठमाडौंमा हामीले अनुगमन सुरु गरे पछि भ्याली बाहिरबाट तालिम लिएको सर्टिफिकेट लिनेको संख्या वढेको छ,” सापकोटा भन्छन् “केही दिनदेखि नै हामी भ्याली बाहिरका संस्थाहरुमा पनि अनुगमनमा पुग्छौं ।”

उपत्यका बाहिर अनियमितता नहोस् भनेर जुम, ह्वाट्स एपलगायत प्रविधीमार्फत समयमा कक्षा संचालन भए, नभएको अनुगमन गरेको विभागले जनाएको छ ।

अभिमुखीकरण व्यावसायी महासंघ भन्छ – पूर्वाधार नै तयार छैन । 

नयाँ पाठ्यक्रम चैत १ गतेदेखि मात्र लागु भएकाले तालिम प्रदायक संस्थामा पूर्वाधारको काम हुँदै गरेको अभिमुखीकरण व्यावसायी महासंघका अध्यक्ष रामराजा गौतम बताउँछन् । यता नयाँ पाठ्यक्रमसँगै तालिमको समयावधी १२ घण्टामा पुगेको छ । तर, अहिले साढे १० घण्टा मात्र कक्षा संचालन भइरहेको गौतम बताउँछन् । वैदेशिक रोजगारी संम्बन्धी अनलाइन प्रणाली ‘फेमिस’ मा नै ढिला अनलाइन दर्ता गर्न पाउने व्यावस्था रहेको गौतमले जानकारी दिए ।

वैदेशिक रोजगारी बोर्डले बनाएको नयाँ पाठ्यक्रम अनुसार प्रशिक्षकहरुलाई ‘पुनः ताजगी’ तालिम दिए पनि उक्त तालिम पर्याप्त नभएको संघले जनाएको छ ।

हाल १४२ वटा अभिमुखीकरण तालिम प्रदायक संस्थाले वैदेशिक रोजगारीमा जान चाहने श्रमिकलाई पूर्व प्रस्थान तालिम दिन बोर्डबाट स्वीकृती लिएको संघले जनाएको छ । जसमध्ये ४ वटा संस्था भने निस्कृय रहेको अभिमुखीकरण व्यावसायी महासंघले जनाएको छ ।

अभिमुखीकरण व्यावसायी महासंघले नै केही तालिम प्रदायक संस्थाहरुले गैरकानुनी ढंगबाट काम गरेकोले अनुगमन गर्न विभागलाई अनुरोध गरेको हो । महासंघ आफैले व्यावसायीको अनुगमनको सम्भावना नभएकोले विभागलाई अनुरोध गरेको गौतम बताउँछन् ।

“कोरोनाको कारण केही संस्थाहरुले तालिम दिने ठाँउ घटाएका पनि छन्” उनी भन्छन् “केहिले कार्यालय बिना सर्टिफिकेट बाँडेको सुन्नमा आएको छ, उनीहरुलाई सचेत बनाउनु पर्छ । गैरकानुनी काम नहोस् भन्ने हाम्रो पनि चाहना हो ।” 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  ०६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro