काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रमा प्राचीन स्मारक ऐन, २०१३ विपरीत सम्पदा पुनर्निर्माण भइरहेको सरोकारवालाको आरोप छ । पशुपति क्षेत्र विकास कोषले भने ऐनविपरीत काम नभएको दाबी गर्दै आएको छ ।
उक्त ऐनमा पुरातात्विक वस्तु नष्ट गर्न, भत्काउन, बिरूप पार्न, चोरी गर्न, हटाउन वा परिवर्तन गर्न नपाइने व्यवस्था छ । त्यस्तोे गरेमा पाँच हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । अहिले पशुपति क्षेत्रमा कतै ऐतिहासिक सम्पदाको तला घटाएर पुनर्निर्माण भइरहेको छ त कतै सत्तल भत्काएर मन्दिर बनाएको देखिन्छ ।
वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य मनलाग्दी ढंगले पुनर्निर्माण भइरहेको बताउँछन् । ‘‘पशुपति क्षेत्र विकास कोषलाई प्राचीन स्मारक ऐनबमोजिम कारबाही हुँदैन रहेछ । सम्पदा पुनर्निर्माणमा कोषले कंक्रिट प्रयोग नगरेको बताउँदै आएको छ । तर, भित्री संरचनामा भने कंक्रिटका संरचनाबाहेक भेट्टाइँदैन,” उनले भने, ‘‘पुरातत्व विभागले १० पटकभन्दा बढी काम रोक्न पत्र पठाइसक्यो । तर, निरन्तर कोषले काम सुचारु गर्दै आएको छ । प्राचीन स्मारक ऐन र युनेस्को ऐन कहिले बुझ्ने कोषले ?”
पुरातत्वले पठाएका पत्रको बेवास्ता गर्दै कोषले जथाभावी सम्पदा पुनर्निर्माण गरेको वैद्य बताउँछन् । ‘‘हामीले घर बनाउँदा पुरातत्वको मापदण्डभित्र रहेर बनाउनुपर्ने तर कोषले पुरातत्वविपरीत पुनर्निर्माण गर्ने ?,” उनले प्रश्न गरे ।
सत्तलको उचाइ र चौडाइ घटाइयो
गुहेश्वरी मन्दिर उत्तरको सत्तलको उचाइ र चौडाइ घटाएर पुनर्निर्माण भइरहेको सम्पदा संरक्षण अधिवक्ता सञ्जय अधिकारी बताउँछन् । ‘‘त्यसको जगमा गैरपरम्परागत सिमेन्टको प्रयोग गरिएको छ । यस्तै लापरबाहीले पहिले नौतले दरबार पुनर्निर्माण पुनः भत्किएको उदाहरण हामीसँगै छ । विश्व ब्रह्माण्डको अतुलनीय मूल्य बोकेको पशुपतिका सम्पदाको महत्व कोषले बुझ्न सकेन,” उनले भने ।
छलफल नै नगरी भत्काइयो बम्बई ढुकुटी
अधिवक्ता अधिकारीका अनुसार श्रीको बम्बई ढुकुटी सरोकारवाला निकायसँग छलफल नगरेरै भत्काइयो । अधिकारीले भने, ‘‘पशुपतिमा दुईवटा बहुमूल्य ढुकुटी छन् । मन्दिरको मुख्य ढुकुटीमा सुन, हीराजस्ता बहुमूल्य सामान राखिएका छन् । बम्बई ढुकुटीमा तामा, पित्तलजस्ता पुराना इतिहास बोकेका सामान राखिएका थिए । अहिले ढुकुटीमा रहेका धातु, जलहरी धार्मिक, ऐतिहासिक महत्वका सामान कवाडी झैँ थुपारिएका छन् । ऐतिहासिक महत्व बोकेका महत्वपूर्ण सामान फालिएका छन् । परम्परागत ढुकुटीमाथिको खेलबाड गर्नु सानो गल्ती भने होइन ।”
जथाभावी कंक्रिटको प्रयोग
सम्पदा संरक्षणकर्मीका अनुसार मूल मन्दिरभित्र भगवान्को खाना पाक्ने पाकशाला छ । ‘‘पहिले पाकशाला माटोले निर्माण भएको थियो । अहिले भगवान्को खाना पकाउने पाकशाला कंक्रिटको बन्दै छ । वनकालीलाई ऐनविपरीत सौन्दर्यीकरण गरिएको छ । विभिन्न सम्पदा अतिक्रमण गरी नयाँ सम्पदा ठडिँदै छन्,” अधिवक्ता अधिकारी भन्छन्, ‘‘कोषले कंक्रिटको प्रयोग नगरेको दाबी गर्दै आएको छ । तर, पुशपतिमा अधिकांश सम्पदा हेर्ने हो भने कंक्रिटकै पुनर्निर्माण हुँदै छन् । कंक्रिटको प्रयोगले विश्व सम्पदाको अस्तित्व समाप्त हुन्छ । त्यो विश्व सम्पदा सूचीबाट हट्नसक्ने खतरा हुन्छ ।”
गुरुयोजनाविपरीत पुनर्निर्माण
सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठ पशुपति क्षेत्र विकासको गैरकानुनी पुनर्निर्माणले पशुपतिनाथ विश्व सम्पदा सूचीबाट हट्ने खतरामा परेको दाबी गर्छन् । ‘‘कोषले आफैँले बनाएको गुरुयोजनाविपरीत सम्पदा पुनर्निर्माण गरिरहेको छ । स्वेच्छाचारी रुपमा शिलापत्र राखेको छ,” उनले भने । पशुपतिका भण्डारी कवलका अनुसार गोरखा भूकम्पअघि पशुपतिको महास्नान घरअगाडि गुरुजीको सत्तल थियो । भूकम्पमा त्यो सत्तल भत्कियो । ‘‘सत्तल भएको ठाउँमा विकास कोष, पुरातत्व विभाग र बेलायतस्थित दुर्हाम विश्वविद्यालयको टोलीले उत्खनन गर्यो । पुरातात्विक महत्वका शिवलिंग भेटिए । उत्खननपछि सत्तल निर्माण हुनुपर्ने थियो । तर, सत्तल निर्माण भएन । कोषले यस्ता किसिमका सम्पदा नास्दै आएको छ,” कवल भन्छन् ।
पशुपतिको वृद्धाश्रमको दक्षिणपट्टि रहेका दुईवटा मन्दिर भूकम्प पछि अमर कान्तेश्वर र सुरेन्द्र कान्तेश्वर मन्दिर बने पनि त्यस वरपर रहेका सत्तल भने नबनेकाे संस्कृतिविद्को भनाइ छ ।
सरोकारवाला रुष्ट
सम्पदा संरक्षणकर्मी गणपतिलाल सम्पदा जोगाउनुपर्नेमा जोड दिन्छन् । ‘‘सम्पदा मास्दै लैजाने, निर्माण गरे पनि सिमेन्ट, बालुवाको प्रयोग गरेर बनाउने चलन चल्न थालेको छ । युनेस्को र प्राचीन स्मारक ऐनसँग सम्पदालाई जोड्दा विवादमै सम्पदा उठिरहेका देखिन्छन्,” गणपतिलालले भने, ‘‘यदि, सम्पदा मासिँदै जाने, सम्पदामा कंक्रिटको प्रयोग गर्ने, सत्तल भत्काउने, व्यापारिक प्रयोजनका लागि मात्रै सम्पदा बनाउने हो भने यसको ऐतिहासिक, धार्मिक महत्व नासिँदै जान्छ ।” कोषले मनोमानी गरेको भन्दै सरोकारवाला रुष्ट छन् ।
सर्वोच्चसम्म जान्छौँ
संरक्षणकर्मीले पटक–पटक प्राचीन स्मारक ऐन, युनेस्को, पुरातत्व विभागको मापदण्डमा रहेर सम्पदा पुनर्निर्माण गर्न माग गर्दै आएका छन् । उनीहरुले गएको बिहीबार पनि मापदण्डभित्र रहेर पुनर्निर्माण गर्न माग गर्दै कोषलाई १५ बुँदे पत्र बुझाए । कोषले अब पनि मनपरी ढंगले पुनर्निर्माणको काम अघि बढाए आफूहरु सर्वोच्च अदालतसम्म जाने उनीहरुले चेतावनी दिएका छन् ।
कोषका पदाधिकारी भन्छन्– कंक्रिटका संरचना भत्काउनेबारे छलफल भइरहेको छ
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडा आफूले राज्यको नीति–नियमबमोजिम नै काम गर्दै आएको बताउँछन् । ‘‘कंक्रिटका संरचना भत्काउनेबारे छलफल भइरहेको छ । सत्तलको ठाउँमा मन्दिर बनाउने काम मेरो कार्यकालमा भएको होइन,” उनले भने, ‘‘जति पनि मन्दिर पुनर्निर्माण गरिरहेका छौँ, ती सबै मन्दिर सबै सरोकारवाला निकायसँग छलफल गरी पुनर्निर्माण थालेका छौँ । १५ बुँदे पत्र सदस्यसचिव डा. प्रदीप ढकाललाई बुझाउनेछु । त्यसपछि कसरी सम्पदा पुनर्निर्माण गर्ने भन्नेबारे सुनुवाइ हुनेछ ।”
तीन साता बित्दा पनि मूर्ति चोर पत्ता लागेन
तीन साताअघि पशुपतिमा रहेको लिच्छविकालीन बौद्ध धर्म चक्रको मूर्ति चोरी भएको थियो । अहिलेसम्म उक्त मूर्ति फेला परेको छैन । त्यसतर्फ पनि कोषले वास्ता नगरेको संरक्षणकर्मीको आरोप छ । ऐतिहासिक पुरातात्विक मूर्तिको सुरक्षा नहुँदा चोरी भएको उनीहरुको भनाइ छ । कार्यकारी निर्देशक खतिवडाले भने पशुपति क्षेत्रबाट मूर्ति चोरी भएको घटनाको छानबिन भइरहेको बताए ।
पशुपतिमा ऐनविपरीत पुनर्निर्माण : विश्व सम्पदाको अस्तित्व संकटमा हुनुपर्नेमा अन्यथा भएकोमा सच्च्याइएको छ ।