काठमाडौं । आगामी सन् २०२० सम्ममा नेपालमा ३० वटा ठूला होटल खुल्ने भएका छन् । नेपालका ठूला व्यापारिक घराना र अन्तर्राष्ट्रिय चेन कम्पनीहरुले होटलमा लगानी गर्न लागेका हुन् । खुल्न लागेका यी सबै होटल तारे हुन् । होटल संघका अनुसार अधिकांश होटल तीन तारेदेखि पाँच तारेसम्म हुनेछन् ।
हानका प्रवक्ता विनायक शाहका अनुसार ३० मध्ये काठमाडौंभित्र र बाहिर करिब बराबरीको संख्यामा होटल खुल्नेछन् । “अहिले लगानीको केन्द्रविन्दु नै होटलजस्तो बनेको छ,” प्रवक्ता शाहले भने, “आकर्षणको केन्द्र होटल व्यवसाय बनेकाले यसमा अन्तर्राष्ट्रिय कम्पनीहरुले पनि लगानी गर्दैछन् । धनगढी र नेपालगञ्जमा भएको लगानीले पनि यसलाई पुष्टि गर्छ ।”
हानका अनुसार यी ३० वटा होटलमा करिब ३३ अर्ब रुपैयाँ लगानी हुुनेछ । योसँगै नेपालमा होटलको लगानी करिब ३ सय अर्ब (३ खर्ब) पुग्नेछ । हानका पूर्वअध्यक्ष योगेन्द्र शाक्य अहिले नेपालमा करिब साढे २ खर्ब लगानी रहेको अनुमान गर्छन् ।
अहिले ५ तारे होटल १०, ४ तारे होटल २, ३ तारे होटल १२, २ तारे होटल २२ र एकतारे १८ वटा छन् । तारारहित १६५ वटा होटल सञ्चालनमा छन् भने पर्यटकीय स्तरका ६२५ वटा होटलले सेवा दिइरहेका छन् । २२६ वटा होमस्टेले आन्तरिक तथा वाह्य पर्यकटलाई सेवा उपलब्ध गराइरहेको तथ्यांक छ ।
स्वदेशी तथा विदेशी कम्पनीको लगानीमा आगामी दुई वर्षमा ५ तारे होटलको संख्या दोब्बर थपिएर २० पुग्नेछ ।
हानका अनुसार तारे बाहेकका साना होटल पनि ठूलो संख्यामा खुल्दैछन्, जसमा ५७ अर्ब लगानी हुने हानको अनुमान छ । काठमाडौंसँगै सिमरा, पोखरा, भैरहवा, विराटनगर, धरानलगायतका क्षेत्रमा होटल खुल्नेछन् । हिमाली क्षेत्रमा पनि होटल खुल्दैछन् । हिमाली क्षेत्रमा भने ठूला होटल नभएर साना होटलको संख्या धेरै हुनेछ । नयाँ होटलमा बैंकको ४५ अर्ब लगानी रहेको छ ।
होटल निर्माणसँगै सन् २०२० भित्र करिब ४ हजार बेड संख्या थपिनेछ । ४ हजार बेड थपिँदा नेपालमा ४६ हजार बेड संख्या पुग्नेछ । ४ हजार बेडमा २ हजार काठमाडौंमा थपिनेछन् ।
४६ हजार बेडमा २० लाख पर्यटक क्षमता हुनेछ । अहिले नेपालका होटलको बेड क्षमता १६ लाख रहेको हानले बताउँदै आएको छ ।
सन् २०२० सम्ममा नेपालमा वार्षिक २० लाख पर्यटकलाई सेवा दिन होटल सक्षम हुने बताइएको छ । यसमा सरकारले पनि प्रभावकारी भूमिका खेल्नुपर्ने व्यवसायीले आग्रह गर्दै आएका छन् । गत वर्ष साढे ७ लाखमात्रै विदेशी पर्यटक नेपाल भित्रिएकाले अबको तीन वर्षभित्र यसमा करिब तीन गुणाले बढाउनुपर्ने भएकाले यो लक्ष्य पूरा गर्न भने त्यति सजिलो देखिँदैन ।
सरकारले सन् २०१८ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेपनि त्यसलाई प्रभावकारी बनाउन अहिलेको सरकारले चासो नदिएको भन्दै हानले शुक्रबार आयोजना गरेको कार्यक्रममा पूर्वअध्यक्ष शाक्यले सरकारको ध्यानाकर्षण गराएका थिए ।
सन् २०२० सम्ममा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने योजनासहित सरकार र पर्यटन व्यवसायीले संयुक्त रुपमा भिजन २०२० घोषण गरेपनि लक्ष्य हासिल हुन कठिन भएको भन्दै प्रभावकारी योजना बनाएर अगाडि बढ्नुपर्ने हानको भनाइ छ ।
हानका अनुसार होटल क्षेत्रमा ५ लाखले प्रत्यक्ष रोजगारी पाउँदै आएका छन् भने एक जना पर्यटक बराबर १२ जनाले प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा रोजगारी पाउने गरेको अनौपचारिक तथ्यांक छ ।