पोखरा । विभिन्न जिल्लाबाट विद्यार्थी खोजेर ल्याउने र घरायसी काममा लगाउने एकजना प्रधानाध्यापकलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको मादी गाउँपालिका–६ का इन्द्रबहादुर थापा रहेका छन् । उनी स्थानीय भूमि आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् ।
विद्यार्थीको संख्या कम भएपछि उक्त विद्यालय ‘मर्ज’ हुने स्थितिमा पुगेको थियो । मादी–६ का अध्यक्ष पसबहादुर बास्तोलाका अनुसार विद्यालय मर्जको बारेमा छलफल पनि भयो । उक्त छलफलमा प्रधानाध्यापक थापाले आफूले विद्यार्थी खोजेर ल्याउने बताए ।
घरपायक जागिर जोगाउन उनले बाह्य जिल्लाका विद्यार्थीहरु खोज्न थाले । तनहुँ, लमजुङदेखि झापासम्मका विद्यार्थीहरु खोजेर ल्याए । उक्त विद्यालयमा हाल स्थानीय सात र बाह्य सात गरी १४ जना विद्यार्थी रहेको अध्यक्ष बास्तोलाले जानकारी दिए ।
थापाले विपन्न, आर्थिक अवस्था न्यून भएका विद्यार्थीहरुलाई पढाउने प्रलोभन देखाएर ल्याएका थिए । विद्यार्थीहरु ल्याएपछि उनले दिनहुँ हाजिर गराए । तर, पढाएनन् । घरायसी काममा लगाए ।
अध्यक्ष बास्तोलाका अनुसार थापाले ४ देखि ११ वर्षसम्मका ती बालबालिकालाई दिनहुँ श्रमशोषण गर्थे । मल बोकाउँथे, खाना पनि दिँदैनथे । बाख्राको खोरमा सुताउँथे । बस्तोला भन्छन्, “अत्यन्तै अमानवीय कार्य गर्ने गरेका थिए, बाख्राको खोरमा सुताउँथे, खाना पनि पेटभरि खान दिँदैनथे ।” थापाको विगत पनि विवादित रहेको छ ।
ढुंगाले हान्दा बालकको टाउकोमा चोट
उनीमाथि लगातार दुई वर्षसम्म श्रमशोषण गरेको आरोप छ । अहिले घटना बाहिरिएको हो । मादीमा प्रधानमन्त्री रोजगार कार्यक्रम चलिरहेको छ । सोही कार्यक्रमअन्तर्गत शुक्रबार मजदुरहरु मादी किनारामा काम गर्दै थिए । ती कामदारलाई प्रधानाध्यापक थापाले फोन गरे, “हाम्रा विद्यार्थी तल आएका छन्, उनीहरुलाई रोक्नू ।”
थापाको फोनपछि काम गरिरहेका मजदुरले एक बालकलाई त्यहीँ रोके र थापालाई कुरे । थापा पुगेर बालकमाथि कुटपिट गरे । त्यति मात्र होइन, ढुंगाले समेत प्रहार गरे । ढुंंगा लागेपछि बालकको टाउको फुट्यो । वडाध्यक्ष बास्तोला भन्छन्, “प्रअको उक्त ज्यादतीपछि नै प्रहरीलाई खबर गरिएको हो ।”
ती बालकलाई पछि गाउँपालिकाले एम्बुलेन्समा राखेर पोखरा उपचारका लागि पठायो । बालक अहिले पनि उपचाररत् छन् । दिपेश मात्रै होइन, अर्की एक बालिका पनि भाग्न खोज्दा कुकुरले टोकेर घाइते भएकी थिइन् ।
धर्मगुरुको च्यानल
श्रमशोषणमा पर्नेमा तीनजना तनहुँका चेपाङ बालबालिका छन । यी विद्यार्थीचाहिँ थापाले धर्मगुरुको च्यानलबाट ल्याएका थिए । ती विद्यार्थीका अभिभावकलाई थापाले भेटेका छैनन् ।
सिविन नेपालद्वारा सञ्चालित बाल हेल्पलाइन नेपाल कास्कीले अहिले ती बालबालिकाहरुको उद्धार गरेको छ । संस्थाका कार्यक्रम अधिकृत शंकर नेपालीका अनुसार अहिले बालबालिका र अभिभावकको भेट भएको छ । उक्त भेटमा अभिभावकहरुले थापालाई नभेटेको बताएका छन् । “उहाँहरुले आफ्ना बालबालिका धर्मगुरुलाई दिनुभएछ अनि धर्मगुरुले चाहिँ प्रअलाई । यो च्यानल कसरी मिल्यो, हामीलाई पनि थाहा छैन ।” बालबालिकाका अभिभावकको भनाइ उद्धृत गर्दै नेपालीले भने ।
उनीहरुका अनुसार कुनै राम्रो संस्थामा राखिदिने भनेर धर्मगुरुले बालबालिकाका अभिभावकसँग कुराकानी गरेका थिए । धर्मगुरुको विश्वासमा उनीहरुले बालबालिका जिम्मा लगाएका थिए । तनहुँबाहेक झापा र लमजुङका गरी ती कुल सात बालबालिका अहिले सिविन नेपालको संरक्षणमा छन् ।
अनुसन्धानका लागि पाँच दिन म्याद थप
प्रधानाध्यापक थापा अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । कास्की प्रहरीका सूचना अधिकारी सुवास हमालले उनीविरुद्ध बालबालिकासम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएको उनले बताए ।